Top_Header_Right_Add

‘राजविराजमा चाँडै स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास हुन्छ’

उप–प्रधानमन्त्री पोखरेलको आश्वासन
‘राजविराजमा चाँडै स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास हुन्छ’

न्यूज टुडे
राजविराज, १३ माघ ।
उप–प्रधानमन्त्री इश्वर पोखरेले सप्तरी सदरमुकाम राजविराजमा निकट भविष्यमै रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास हुने बताएका छन् । मंगलबार राजविराजमा आयोजित प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उप–प्रधानमन्त्री पोखरेलले राजविराजमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास गर्न चाँडै प्रधानमन्त्री ओली आफै आउने जानकारी गराए ।

गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहप्रति सच्चा श्रद्धाञ्जली एवम् सप्तरीको चौतर्फी विकास दुबैका दृष्टिले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान आवश्यक रहेकोले वर्तमान सरकार प्रतिष्ठानप्रति निकै चिन्तनशिल रहेको उनले बताए । यसका अतिरिक्त सप्तरीको रुपनी गाउँपालिकाअन्तर्गत पर्ने गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रलाई आधुनिक सुविधा सम्पन्न रुपमा वृहत योजनासहित संचालन गर्न समेत वर्तमान सरकार काम गरिरहेको उप–प्रधानमन्त्री पोखरेलले जानकारी गराए ।

प्रचण्ड र माधव नेपालले अनैतिक एवम् अलोकतान्त्रिक कार्य गरिरहेको आरोप समेत उनले लगाएका छन् । ‘चुनावका वेला केपी ओलीलाई नेता मानेर उहाँको नामै लिएर मत लिने अनि दुई वर्ष नबित्दै ओलीलाई हटाउन घेराबन्दी थाल्ने ?’, उनले भने, ‘के यो कार्य अलोकतान्त्रीक र अनैतिक भएन ?’

निर्वाचन आयोगको पछिल्लो फैसलाले पनि नेकपालाई आपसि सहमति र सहकार्यमार्फत चुनावमा सहभागी हुन बाहेक अर्को विकल्प नरहेको उनको भनाई थियो । उनले प्रधानमन्त्री ओलीमाथिको आरोप–पत्र फिर्ता लिएर निर्वाचनमा जाने स्वीकारोक्तिसहित नेता प्रचण्ड र माधव नेपाल लगायतकाहरुलाई पार्टीमा फर्किन आग्रह समेत गरे ।

पार्टी एकिकरणका वेला महाधिवेशनसम्म सहमतिमै हिड्ने सहमतिलाई स्मरण गर्दै नेता पोखरेलले सहमति विपरीत प्रचण्ड र नेपालले पार्टी फुटाउन खोजेको आरोप समेत लगाए । प्रचण्ड–माधवलाई चेतावनीसहितको आग्रह गर्दै उनले भने, ‘कान खोलेर सुन्नुस् प्रचण्डजी, केपी ओलीको हस्ताक्षरबाट मात्र टिकट वितरण हुने भएकाले निर्वाचनमा जाने स्वीकारोक्ति र ओलीमाथि अगाउनुभएको आरोप फिर्ता लिई निर्वाचन लडन आउनुस् ।’ सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको पार्टीसँग मात्र रहने दावी समेत उनले गरे ।

कुनै वेला प्रचण्डको अति विश्वास पात्र मानिने सहरी विकास मन्त्री प्रभु साहले प्रचण्डमाथि जनमुक्ति सेनाको रकम लुट्ने आरोप लगाए । उनले प्रचण्डलाई ‘लुटेरा’ भनेर सम्बोधन समेत गरेका थिए । उनले भने, ‘जनमुक्ति सेनाको बलमा प्रचण्डले उचाइ प्राप्त गरे तर त्यही सेनाको पैसा लुटे, माओवादीको विरासतलाई प्रचण्डले बेचे ।’

कार्यक्रममा मन्त्री जुली महतो, प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डललगायतका नेताहरुले समेत बोलेका थिए । कार्यक्रममा सुखराम यादवले स्वागत मन्तव्य राखेका थिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer