• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मन्त्रीहरुलाई कालो झण्डा

न्यूज टुडे
राजविराज, १३ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सप्तरीले आयोजना गरेको कार्यक्रममा सहभागि हुन मंगलबार सप्तरी आईपुगेका उप–प्रधानमन्त्री ईश्वर पोखरेललगायतका नेताहरुलाई प्रचण्ड–माधव समुहका नेता कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन् ।

राजविराजस्थित राजरंगशालामा आयोजित सभामा सहभागी हुन आएका उप–प्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु लिलानाथ श्रेष्ठ, प्रभु साह, जुली महतो र नेता सत्यनारायण मण्डललगायतकाहरुलाई राजविराज रुपनी सडक खण्डअन्तर्गत नहर चौकमा प्रचण्ड–माधव समुहका नेता कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउँदै उनीहरुले प्रधानमन्त्री तथा वर्तमान सरकारविरुद्ध चर्को नारावाजी समेत गरेका थिए । व्यापक प्रहरी सुरक्षाका वावजुद प्रचण्ड–माधव पक्षका नेता कार्यकर्ताहरुले रुपनी बजार तथा राजविराज रुपनी सडक खण्डलगायतका क्षेत्रहरुमा कालो झण्डा देखाएका थिए ।

नेकपा भित्रको अन्तर कलहलाई मध्यनजर गर्दै आयोजित सभामा कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले जिल्लाभरी झण्डै एक हजार बढी सशस्त्र तथा नेपाल प्रहरी परिचालित गरिएको छ । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी भुवनेश्वर प्रसाद साहका अनुसार कार्यक्रम स्थल राजरंगशालासहित नेता तथा मन्त्री आउने सडक रुटमा जिल्लाभरी नै व्यापक सुरक्षा व्यवस्था मिलाईएको छ ।