• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मंगलबार राजविराजस्थिति राजरंगशाला निकै खचाखच देखिन्थ्यो । उपप्रधानमन्त्रीदेखि बिभिन्न मन्त्री तथा नेताहरुको सहभागिता रहेको जनजागरणसभामा जिल्लाका बिभिन्न ठाउँबाट सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेका कारणले यो खेल मैदानमा मानिसको घुइँचो रहेको हो ।

करीब एक साता अघि पनि त्यहाँ सर्वसाधारणदेखि जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुको ठूलो सहभागितामा आमसभा गरिएको थियो । पञ्चायत कालमा पनि उक्त खेलमैदानमा ठूला–ठूला आमसभा आयोजना गरिन्थ्यो जसमा जनता खचाखच भरिन्थे । राजारानीको सबारी देखि पञ्च नेताका भाषणका समयमा राजरंगशालामा नै मानिसको ओईरो लाग्ने गरेको थियो । राजा र पञ्च नेता मात्र होईन बिभिन्न चरणमा यस रंगशालामा प्रायः सबै ठूला नेताहरुको आमसभा भएको छ जसको साक्षी स्वयम् यो रंगशाला रहेको छ ।

यति ऐतिहासिक स्थल रहेको यस रंगशालामा भाषण गरेको धेरै नेता सत्तामा पनि पुगे । तर, यसको अहिलेको बेहाल अवस्थाका बारेमा कसैले पनि चासो नदेखाएको वास्तविकता यसको अहिलेको अवस्थाले नै प्रमाणित गरिरहेको छ । रंगशालाको प्रबेशद्वार अति जीर्ण भएको वर्षौं बितिसकेको छ । गेटको पिलरमा जडान गरिएका इँटा मक्कीएका कारण तल्लो भाग अति नै कमजोर रहेको छ । यसलाई यसरी नै जीर्ण छोडि दिने हो भने कुनै पनि बेला गम्भीर दुर्घटना नहोला भन्न सकिन्न । मानिसको प्रायः आवागमन रहने यस मैदानको मूल गेट जीर्ण रहेको समाचार पटक–पटक नआएको पनि होईन । तर, सम्बन्धित निकायले यस प्रति चासो नदेखाउँदा अहिले यो ठूलै दुर्घटनाको प्रतीक्षामा रहेको जस्तो लाग्दछ ।

बेलाबखत ठूला–ठूला खेलकूद प्रतियोगिताको आयोजना समेत हुने गरेको यस खेल मैदानको प्याराफिटको अवस्था पनि जीर्ण नै रहेको छ । ठाउँ–ठाउँमा प्वाल परेका कारण प्याराफिट कुनै पनि बेला थप भत्किने जोखिम छ । प्याराफिट मुनि मानिसको बसोबास रहेका कारण यो अतिक्रमणको शिकार पनि बन्दै आएको वर्षौं बितिसकेको छ । घेरबेरको अभावका कारण खुला सौचस्थल बन्ने गरेको यस रंगशालाको मर्मत सम्भारमा चासो नदिने हो भने यहाँ भविष्यमा खेलकूद प्रतियोगिताको आयोजना पनि सम्भव हुन गाह्रो छ ।

पुरानो तथा ऐतिहासिक नगरी राजविराजको सुन्दरताकालागि स्तरीय खेलमैदानको व्यवस्थालाई नकार्न सकिन्न । भएको यति ठूलो खेलमैदानको स्तरोन्नतिकालागि सरोकारवाला सबैको ध्यान जानु जरुरी छ ।