• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कर्मचारी अभावबारे जानकारी जुटाउँदै आयोग

स्थानीय तहसँग प्रादेश लोकसेवाको संवाद
कर्मचारी अभावबारे जानकारी जुटाउँदै आयोग

न्यूज टुडे
राजविराज, १२ माघ ।
प्रदेश लोकसेवा आयोग, प्रदेश–२ ले प्रदेशका बिभिन्न जिल्लाहरुमा स्थानीय तहहरुसँग संवाद थालेका छन् । स्थानीय तहहरुमा कर्मचारीको अभाव, रिक्त दरबन्दी, स्थानीय तहहरुले गर्ने गरेको करारलगायतका बिभिन्न पदमा कर्मचारीहरुको नियुक्ति प्रक्रिया लगायतका विषयमा आयोगले स्थानीय तहहरुसँग संवाद थालेको हो ।

प्रदेश लोक सेवा आयोगका अध्यक्षसहित सदस्यहरुले पहिलो चरणमा सप्तरीसहित सिरहा र धनुषा गरी तीन जिल्ला लक्षित संवाद शुरु गरेको हो । प्रदेश–२का स्थानीय तहहरुमा कर्मचारीको अवस्था र आवश्यक्तावारे तथ्यपूर्ण जानकारी जुटाउने उद्देश्यले आयोगद्वारा यसरी स्थगलगत रुपमा स्थानीय तहहरुसँग प्रत्यक्ष संवाद थालिएको आयोगले जनाएको छ ।

यसैक्रममा आयोगकी सदस्य डा. सुजाता देवले सप्तरीको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका तथा छिन्नमस्ता र विष्णुपुर गाउँपालिकाका प्रमुखलगायत जनप्रतिनिधिहरुसँग छलफल र संवाद गरेकी छिन् । जिल्लाका अन्य स्थानीयतहरुसँग यसरी नै संवाद गरिने योजना रहेको छ ।

‘मुलुककै सबै भन्दा बढी गाउँ भएको सप्तरीको केहि पालिकामा गएर लोक सेवा आयोगबारे प्रत्यक्ष छलफल शुरु गरेका छौं’, प्रदेश लोकसेवा आयोगका सदस्य डा. सुजाता देवले भनिन्, ‘यस्तो छलफल तथा संवादले स्थानीय तहहरुमा कार्मचारी अभाव, रिक्त दरवन्दी सुचारु प्रकृयाबारे जानकारी लिन निकै सहज भएको छ ।’

प्रदेशको आधिकारीक तथ्यांकहरुलाई नै आधार मान्ने हो भन्ने हाल प्रदेश–२मा कर्मचारीको निकै अभाव रहेको छ । प्रदेश सरकार मातहतका मन्त्रालय, कार्यालय, प्रतिष्ठानदेखि लिएर प्रदेश अन्तर्गतका स्थानीय तहहरुमा समेत कर्मचारीको प्रचुर अभावका कारण प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रमहरु लागु गर्न समेत समस्या भईरहेको प्रदेशका मन्त्रीहरुनै सार्वजनिक रुपमा आरोप लगाउँदै आएका छन् । अत्यधिक जनसंख्या, कामको चापलगायतको आधारमा आवश्यक संख्यामा कर्मचारी नहुँदा सहज र गुणस्तरीय सेवा प्रवाहमा समस्या देखिएको छ । संघीय संरचनाअन्तर्गत प्रदेशले पालिकामा कर्मचारीको आपूर्ति समेत गर्नुपर्ने हुन्छ ।

‘कर्मचारी अभावबारे व्यापक जनगुनासो बढ्न थालेपछि आयोगले प्रत्यक्ष रुपमा सम्बन्धित निकायहरुमा उपस्थि भएर वास्तविकता पहिल्याउने प्रयास थालेको हो’, आयुक्त देवले भनिन्, ‘छिन्नमस्ता र विष्णुपुर गाउपालिका, कन्चनरुप एवं हनुमाननगर कंकालिनी नगरपालिकालगायतका ठाउँमा हामीले प्रत्यक्ष दोहरो सम्वाद गरेर ‘ग्राउन्ड जिरो’, को वास्तविक समस्या जान्ने प्रयासमा छौं ।’

हनुमाननगर कंकालिनी नगरपालिका मेयर शैलेशकुमार साह, कंचनरुप नगरपालिकाका मेयर बसन्तकुमार मिश्र, विष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादव तथा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सुर्यनारायण मण्डलसँगको संवाद निकै जानकारीमुलक रहेको आयुक्त देवले बताईन् । यता स्थानीय सरकारका प्रमुखहरु लोकसेवा आयोगको तत्परताले निकट भविष्यमै आफुहरुमाझ रहेको कर्मचारी अभावको समस्या समाधान हुनेप्रति आशावादी रहेको प्रतिक्रिया जनाएका छन् ।

सप्तरीमा ९ गाउँपालिका र ९ नगरपालिकासहित १८ वटा स्थानीय तहहरु छन् । सबैजसो स्थानीय तहहरुमा कर्मचारीको प्रचुर अभाव रहेको छ । एकातिर जनसंख्या र कामको चाप अनुसारको कर्मचारी दरबन्दी छैन भने अर्को तिर दरबन्दी अनुसारको दक्ष जनशक्ति समेत रहेको छैन । सबैजसो स्थानीय तहहरु करारकै कर्मचारीको भरमा जसोतसो सेवाप्रवाह गर्दै आएका छन् । करारका कर्मचारीहरु सम्बन्धित गाउँपालिका÷नगरपालिकाको स्थानीय बासिन्दा नै रहने गरेको तथा निजामति कर्मचारी सरह दायित्व बोध नहुँदा गुणस्तरीय सेवा प्रवाह बाधित हुनुका साथै स्थानीय तहहरुमा अनियमितता, भ्रष्टाचार, बेरुजुलगायतको समस्या निकै हदसम्म देखिएको जानकारहरुको बुझाई छ ।

२०७६ साल भदौ २२ गते प्रदेश लोक सेवा आयोगको गठन भएको हो । आयोगले निजामति सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश अन्य सरकारी सेवा र स्थानीय सरकारी सेवा तथा संगठित संस्थाको सेवाको पदमा खुला विज्ञापनमार्फत उपयुक्त उम्मेदवार छनौट गर्दछ । आयोगले हाल प्राविधिक सेवा इन्जिनियरिङ्ग समुहअन्तर्गत अधिकृत पदको लागि पहिलो पटक २४ सिटको लागि विज्ञापन गरेको छ ।