• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको रुपनीस्थित शनिदेव मन्दिरमा सामूदायिक वन अतिक्रमण गरी बनाएको भन्दै घर भत्काएका कारण त्यहाँका बाबाजीहरुको विचल्ली भएको छ । वन कार्यालय तथा शनिदेव वन उपभोक्ता समिति तेरहौताले घर भत्काएपछि उनीहरु विचल्लीमा परेका हुन् ।

मन्दिरको रेखदेख तथा सरसफाईमा खट्ने गरेका बाबाहरु बस्ने स्थान भत्काएपनि उनीहरुको बसोबासको बैकल्पिक व्यवस्था नगरिएका कारण ठण्डीका बेला खुला आकाशमुनि बस्नु परेको बाबाहरुको भनाई छ । शनिदेव मन्दिरले अहिले धार्मिक पर्यटकीय स्थलका रुपमा प्रसिद्धि पाउँदै आएको छ । मन्दिरमा दर्शनार्थीहरु उल्लेख्य संख्यामा आउने क्रम बढेका कारण त्यसको व्यवस्थापनकालागि स्थानीय सरकार तथा अन्य सम्बन्धित निकायले पनि जुट्नु पर्ने बेला आएको छ ।

शनिदेव मन्दिरलाई व्यवस्थित गर्न सकियो भने यसले त्यस भेगको प्रसिद्धि पनि बढेर जानेमा शंका मान्नु पर्दैन । बाबाजी भनेका मन्दिरका शोभा मात्र होईनन्, बरु उनीहरुले मन्दिरमा पूजाआजादेखि सरसफाई तथा उचित व्यवस्थापनमा पनि सहयोग गर्ने गर्दछन् । बन समिति वा वन कार्यालयले अतिक्रमण गरेको भनि उनीहरु बस्ने स्थान भत्काएको छ भने त्यसको विकल्पका बारेमा मन्दिर व्यवस्थापन समिति वा सम्बन्धितले व्यवस्था गरिदिनुपर्ने हुन्छ ।

माघ लागेपछि सप्तरीलगायत तराई मधेशमा यति बेला शितलहरका कारण ठण्डीको प्रकोप बढेको छ । यस्तो बेलामा मन्दिरका बाबाहरु भने खुला आकाशमुनि रात कटाउन बाध्य हुने अवस्था आउँछ भने यो पनि चिन्ताकै विषय हो । मानवीय दृष्टिकोणबाट पनि विचल्लीमा परेका उनीहरुकालागि केही न केही बैकल्पिक व्यवस्था गरिनु जरुरी छ । शनिदेव मन्दिरमा अहिले पनि अन्य कतिपय समस्या कायमै छन् ।

मन्दिरमा दर्शनकालागि गएका श्रद्धालूजनको मोटरसाईकल चोरी भएको समाचार समेत केही दिन पहिले आएकै हो । यस्तै अन्य समस्याका विषयमा पनि स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सरकार वा अन्य निकायले पनि ध्यान दिन सकेमा यो धार्मिक स्थलको प्रसिद्धि अझै बढेर जानेछ । मन्दिरमा धर्मशाला, पिउने पानी, सुरक्षा व्यवस्था, बाटोघाटोको स्तरोन्नति जस्ता अनेक गर्नु पर्ने काम अहिले पनि बाँकी नै छन् ।

यसकालागि विशेष योजनाका साथ अघि बढ्न सकियो भने मात्र यो पवित्र स्थलले काँचुली फेर्न सक्नेछ । कुनै पनि धार्मिक स्थलमा बाहिरबाट आउने श्रद्धालूका कारण त्यस क्षेत्रको विकासमा पनि सहयोग पुग्ने भएका कारण यसप्रति चासो देखाउन जरुरी छ ।