राजविराज, ११ माघ ।
सप्तरीको सुरुङ्गा नगरपालिका–२ हर्दियास्थित नेपाल टेलिकमको बिटीएस साइट (टावर)मा लाखौं मूल्य बराबरको बिभिन्न सामग्रीहरु चोरी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
चोरीको आरोपमा पक्राउ गरि सार्वजनिक गरिएकाहरुमा सिरहाको लहान नगरपालिका–१३ सरस्वती टोलका २२ वर्षीय राकेश यादव, सोही नगरपालिका–३ ढगराहाका ३५ वर्षीय सुर्यनारायण महतो, सोही वडाका ३५ वर्षकै पवन जैसवाल र गोलबजार नगरपालिका–४ का ४१ वर्षीय दिपक अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका मध्ये राकेश यादव उक्त घटनाका मुख्य आरोपी हुन् । यादवले आफु टेलिकमको कर्मचारी हुँ भन्दै गत पुस २३ गते जिएसएम टावरमा प्रयोग भएको करिब १० लाख मुल्य पर्ने २४ थान ब्याट्री तथा ३५ एमएमको २० र २५ मिटर अर्थिङ केवल चोरेर ल्याएका थिए । पक्राउ परेका अन्य तीन आरोपि भने मुख्य आरोपीलाई सघाएको कारण पक्राउ परेको हो ।
घटनापश्चात नेपाल टेलिकमले जिल्ला प्रहरीमा दिएको उजुरीको आधारमा सिसिटिभी फुटेजलगायतको अनुसन्धानबाट आरोपिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी गराए । प्रहरीका अनुसार पक्राउ परेकाहरुको साथबाट समान ल्याउन प्रयोग गरिएको ना.४ख ७२४६ नम्वरको मिनी ट्रक र ७ वटा ब्याट्री बरामद् गरिएको छ । अन्य १७ वटा ब्याट्री भारततर्फ पठाइसकेको प्रहरीको अनुसन्धाले देखाउँछन् ।
पक्राउ परेकाहरु माझी डाँकासम्बन्धि मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाईएको तथा अदालतको आदेशअनुसार सोहि मुद्दामा आरोपीहरुलाई १० दिनको म्याद थप गरि अनुसन्धान भईरहेको डिएसपी साहले जानकारी गराए ।