• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

शनिदेवमा घर भत्काई दिएपछि बाबाहरुको बिचल्ली

शनिदेवमा घर भत्काई दिएपछि बाबाहरुको बिचल्ली

बृजमान तामाङ
बिरेन्द्र बजार, ११ माघ ।
सप्तरीको चर्चित धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित शनि देवको बाबाहरु घरवारविहीन भएपछि बिचल्लीमा परेका छ्न । शनिदेव सामुदायिक बन उपभोक्त समिती तेरहौता र बन कार्यालय सप्तरीले बन अतिक्रमण गरेर घर बनाएको भन्दै भत्काएपछि शनिदेवका बाबाहरुको दैनिकी कष्टकर बनेको हो ।

घर भत्काई दिएपछि माघको चिसोमा खुल्ला आकाशमुनि बसेर उनीहरु रात कटाई रहेका छ्न । मन्दिरको रेखदेख र सरसफाईसम्म आफैले गर्दै आएको छु, मन्दिरमा भेटिएका शंकर बाबाले भने, रात कटाउन बनाएको सानो कुटीसमेत भत्काईदिएपछि समस्यामा परेको छु । शंकर बाबाले खोलाको छेउमा चिसोले सताउने गरेको दुखेसो सुनाए ।

घर भत्काउँछ भन्ने थाहा थिएन, उनले भने, एक्कसी प्रहरी, बन कर्मचारी र समितिका १५–२० जना आएर घर तोडफोड गरे । बिनासूचना घर भत्काउँदा घरमा राखिएका चिसो छल्ने लत्ताकपडा समेत निकाल्न नपाएको उनले दुःख पोखे । बाबाले समितिका केही उछृंखल ब्यक्तिले घरतोफोड गर्न लगाएको आरोप लगाउँदै शनि देवमा शान्तिसँग बस्ने बाताबरण मिलाई दिन आग्रह गरे । बाबाका अनुसार सामुदायिक बन समितिले प्रत्येक शनिबार दान पेटिका राख्ने तथा उक्त पेटिकासँगै लगेर जाने गरेको जानकारी दिए ।

शनिदेवमा आउने श्रदालु भक्तजनबाट गरिएको दान मन्दिरको ब्यबस्थापनमा लगानी गर्नुपर्छ भनेपछि बाबाहरुलाई अनावश्यक दुःख दिन घर भत्काई दिएको मन्दिरका पुजारी भुपेन्द्र यादवले बताए । यादवले मन्दिरमा बस्ने बाबाहरुलाई समितिका मान्छेहरुले धम्काउने गरेको समेत आरोप लगाए । यादवले ठूलो त्याग र दुःख गरेर शनिदेवको बिकासमा क्रियासिल हुँदा समेत स्थानीय प्रशासनले सहयोग नगरेको गुनासो गरे ।

पुजारी यादवले शनिदेवको बिकासमा अबरोध गर्न खोज्नेलाई कानुनी कारबाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराए । शनिदेव बन उपभोक्ता समितिका सचिब बेचन प्रसाद साहले बन अतिक्रमण गरि बनाएको घर मात्र भत्काएको बताए । साधु सन्त बाबाहरुलाई बस्ने कठिनाई नभएको भन्दै समितिले बनाएको घरमा बस्ने ब्यबस्था मिलाएको बताए । साहले शनिबार बन समितिले दानपेटिका राखी साँझ लैजाने गरेको स्वीकार गरे । दानबाट उठेको रकम समितिको खातामा जम्मा गरेको दाबी गर्दै सचिब साहले समितिमाथि लगाएको आरोप निरधार रहेको बताए ।

गत शुक्रबार शनिदेवमा बन अतिक्रमण गरि घर बनाएको भन्दै डिभिजन बन कार्यालय शम्भुनाथ रुपनीका बन कर्मचारी, ईलाका प्रहरी कार्यालय रुपनीका प्रहरी र बन समितिका पदाधिकारीले बाबाहरु बस्ने घर भत्काई दिएका थिए । शनिदेवका बाबाहरु बस्ने घर भत्काएपछि उनीहरु खुल्ला आकासमुनी बस्दै आएका छन् । शनिदेवको बाबा बस्ने घर भत्काएको घटनाप्रति सर्बत्र बिरोध भएका छन् ।

घटनाको नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीलगायतका नागारिक अगुवाहरुले सामाजिक संजालमार्फत घोर भत्र्सना गर्दै खेद प्रकट गरेका छन् । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा बिकास हुँदै आएको शनिदेव बिकासका लागि प्रदेश २ सरकार, स्थानीय सरकरले लाखौं लगानी गरेर पक्की संरचनाहरु बनाएका छन् यदपि उक्त बन अतिक्रमण गरि बनाएका संरचना भने हटाउने आँट कसैले गर्न सकेको छैन ।