• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सर्वोच्चको फैसला मान्य हुन्छ ः राजेन्द्र महतो

सर्वोच्चको फैसला मान्य हुन्छ ः राजेन्द्र महतो

राजविराज, ९ माघ ।
प्रतिनिधि सभा विघटन विरुद्ध चरणवद्ध आन्दोलनमा रहेका जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले संसद विघटनको निर्णाय खारेज गर्दै पुर्नस्थापनाको मागसहित सर्वोच्च अदालतमा रहेको विचाराधिन मुद्दामा सर्वोच्चले गर्ने फैसला आफुहरुलाई मान्य हुने बताएका छन् ।

शुक्रबार प्रेस मञ्च सप्तरीले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले संविधानको अन्तिम व्याख्या गर्ने संवैधानिक निकाय समेत सर्वोच्च अदालत नै रहेकोले अदालतवाट संविधानको सही व्याख्या गरिने अपेक्षासहित अदालतको अन्तिम फैसला आफुहरुलाई मान्य हुने बताए । अहिले जसपा प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्ने मागसहित आन्दोलनमा छन्, निर्वाचन प्रक्रियामा पनि सामेल हुन मानिरहेको अवस्था छैन् र संसद विघटनसम्बन्धि मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ, यस्तो अवस्थामा सर्वोच्चको फैसलापछि जसपाको आगामी कदम कस्तो हुने छ ? भनि राखिएको जिज्ञासामा बोल्दै नेता महतोले भने, ‘हामी सर्वोच्च अदालतलाई सधै सम्मान र आस्थाका साथ हेर्ने गरेका छौं, सर्वोच्चले संविधानको सही व्याख्या गर्दै मुलुकलाई सही निकास दिने छन् भने अपेक्षा हाम्रो छ, यद्यपि सर्वोच्चको अन्तिम फैसला हामीलाई मान्य हुने छन् ।’

प्रधानमन्त्री ओलीदेखि नेकपा अध्यक्ष प्रचण्डसम्मका नेकपाका सबै नेताहरु तानाशाह, धुर्त र धोकेबाज रहेको आरोपसमेत नेता महतोले लगाएका छन् । ‘प्रधानमन्त्री ओली आफ्नो स्वार्थ, आफ्नो कुर्सीका लागि संविधानकै हत्या गर्न उद्धत भएका छन्, प्रचण्डजीहरु पनि शत्ताकै लागि संघर्ष गरिराख्नु भएको छ’, उनले भने, ‘प्रचण्डलगायत नेकपाका अर्को गुटले हाल थालेको आन्दोलन प्रतिगमन विरुद्ध वा संसद पुनस्र्थापनाका लागि होईन, दुबै पक्ष सत्ता स्वार्थ पूर्तिकै लागि हानाथाप गरिरहेको अवस्था छ ।’ सत्ता स्वार्थका कुराहरुमा मेल खाए पुनः ओली र प्रचण्ड गुट एक आपसमा मिल्ने सम्भावना पनि उत्तिकै रहेको महतोको भनाई छ । उनले भने, ‘पार्टी अहिले पनि विभाजित भएको अवस्था छैन, भोली आ–आफ्ना स्वार्थका मुद्दाहरुमा सहमति भएपछि दुबै गुट मिलेर अगाडि नबढ्लान भन्ने आधार के त ?’

वर्तमान सरकार मधेश विरोध रहेको बताउँदै नेता महतोले कोरोनाको बहानामा बन्द गरिएको सीमा नाकाहरु अहिले सम्म ठप्प राखेर ओली नेतृत्वको सरकारले मधेशी जनतालाई पीडा मात्रै दिन खोजेको उनको आरोप छ । ‘मधेशको संस्कृति, मधेशको रोजगार तथा तथा शैक्षिक गतिविधिहरु भारतसँग प्रत्यक्ष जोडिएको छ’, उनले भने, ‘वर्तमान सरकारको कदमले मधेशीहरु आफ्नो संस्कृति अनुरुप विहेवारी नगरुन्, पढन तथा कमाउन भारत तिर न जाउन् भन्ने मनसायले अभिप्रेरित रहेको देखिन्छ ।’ ओली सरकारको अत्याचारको पराकाष्ठा बढ्दै गएपछि मुलुकमा चाँडै नै ठुलो जनविद्रोह प्रारम्भ हुने सम्भावना उत्तिकै रहेको महतोले बताए ।

पत्रकार सम्मेलनमा जसपा केन्द्रीय कार्यकारीणि सदस्य रेणुकुमारी यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, प्रदेश सांसद मनिषकुमार सुमनलगायतकाहरुको समेत उपस्थिति रहेको थियो ।