• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

शनिदेवमा वन अतिक्रमण गरि बनाएको घरटहरा हटाईयो

मन्दिरको अस्तित्व संकटमा
शनिदेवमा वन अतिक्रमण गरि बनाएको घरटहरा हटाईयो

बृजमान तामाङ
बिरेन्द्र बजार, ९ माघ ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ मा अबस्थित शनिदेवमा वन अतिक्रमण गरि बनाएका घर टहरा हटाइएको छ । शनिदेव सामुदायिक वन उपभोक्ता समिति र बन कार्यालयले शुक्रबार बन अतिक्रमण गरि बनाईएको घरटहरा हटाइएको हो ।

सवडिभिजन वन कार्यालय शम्भुनाथ रुपनीका बनकर्मचारी र उपभोक्ता समितिका पदाधिकारीले मन्दिर संरक्षणका लागि बाबा र पुजारी बस्ने घर भत्किएको भक्तजनहरुले जनाएका छन् । शनिदेव धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास हुँदै गएको छ, पुजारी भुपेन्द्र यादवले भने, शनिदेवप्रति पूर्वग्राह राख्ने केही ब्यक्तिको उक्साहटमा बाबा र पुजारी बस्ने घर भत्काउनु दुःखद् कुरा हो । शनिदेव स्थल त पुरै वन क्षेत्रमा छन्, पुजारी यादवले भने, वन अतिक्रमण भएको हो भने अरु घरटहरा किन हटाईएन ? शनि देवलाई बदनाम गर्ने केही उछृङ्खल ब्यक्तिको पछाडी लागेर घरटहरा हटाउन समिति र वन कार्यालयको मिलोमतो रहेको यादवको भनाई छ ।

यादवले वन समितिका पदाधिकारीले शनि मन्दिरबाट आएको आम्दानी हालसम्म बाँडिचुँडी खादै आएको र आफुले मन्दिर बिकासमा लगाउनु पर्छ भनेपछि बाबा बस्नलाई बनाएको घर भत्काईदिएको आरोप लगाए । यादवले २०६३ सालमा शिव शनिधाम मन्दिर बिकासका लागि स्थानीय निकायको सिफारिसमा स्थानीय प्रशासनबाट अनुमति प्राप्त गरेको जानकारी गराउँदै अतिक्रमको नाममा शनिदेव भक्तहरुलाई दुःख दिन नमिल्ने बताए ।

स्थानीय प्रशासनको सहयोगमा बन कार्यालय र समितिले अतिक्रम हटाउन शुरु गरेपछि शनिदेव विवादमा तानिएको छ । बिरेन्द्र बजारदेखि ३ किलो मिटर उत्तर वन क्षेत्रमा रहेको शनि देवमा अबैध तरिकाबाट थुप्रै घर टहरा बनेका छन् । वन अतिक्रम हटाउन शुरु भएपछि चर्चित धार्मिक पर्यटकीय क्षेत्रका रुपमा बिकास हुँदै गरेको शनिदेवको भविष्य समाप्त हुने खतरा पुगेको स्थानीयहरु बताउँछन् ।

सामुदायिक वन उपभोक्ता समितिका सचिब बेचन प्रसाद साहले डिभिजन वन कार्यालय सप्तरीले दिएको आदेश बमोजिम अतिक्रमित टहरा हटाएको बताए । डिभिजन वन कार्यालय शम्भुनाथ रुपनीका प्रमुख साहायक वन अधिकृत रामअशिस यादवले डिभिजन बन कार्यालयको पत्राचारअनुसार सामुदायिक बनका आग्रहमा वन अतिक्रमण हटाउन कर्मचारी खटाएको स्वीकार गरे । बनअतिक्रमण गरि धेरै घरटहरा बनाएपनि एउटा मात्र टहरा भत्काएर बन कर्मचारीसहितको वन समिति फिर्ता भएका थिए ।

यस सम्बन्धमा डिभिजन वन कार्यालय सप्तरीका प्रमुख डिएफओ संतोष झासँग टेलिफोन सम्पर्क गर्नु खोज्दा सम्पर्क हुन सकेन । २०५५ सालमा स्थानीय पण्डित सत्य नारायण साहले शनिदेवको स्थापना गरि पूजा गर्न शुरु गरेपछि हाल देशबिदेशबाट दैनिक हजारौं भक्तजनहरुको भीड लाग्ने गरेको छ । प्रत्येक शनिबार ठुलो आवतजावतसँगै मेलासमेत लाग्दै आएका छन् ।

रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले एउटा मात्र घर हटाउन पूर्वग्राह भएको बताउँदै आफू बैठकमा रहेकोले पछि सबै कुरा बुझेर बताउने बन्दै पन्छिन खोजे ।