• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सामान्यतः सडकमा ड्युटीमा बसेका ट्राफिक प्रहरीले सवारी साधन रोक्छन् । सवारी साधनको लाम लगाएर सडक जाम गर्दै उनीहरुले बढी जसो चालकको लाईसेन्स, ब्लुबुकलगायतका कागजात रहे नरहेको हेरेर सवारीलाई पठाउँछन् । उनीहरुलाई यदि जरिवाना तिराउन मन लाग्यो भने विशेषतः ठूला सवारी साधन तथा ढुवानीका साधनको ब्याक लाईट वा अन्य केही खोट देखाएर जरिवाना तिराउने गर्दछन् ।

सार्वजनिक सवारीको रुट पर्मिट छ वा छैन भन्ने विषयमा पनि यही क्रममा हेर्ने गर्छन् र नभएका खण्डमा जरिवानाको रसिद काटेर सवारी साधनलाई पठाई दिन्छन् । ट्राफिक प्रहरीको बढी जसो ध्यान यस्तै विषयमा केन्द्रीत रहने गरेको देखिन्छ । तर, मोटर साईकल जस्तो नाजुक सवारीमा तीन–तीन जना चढेर हिँड्दा पनि प्रहरीले आँखा चिम्लेको जस्तो गरेका उदाहरण निकै देख्न पाईन्छ । त्यसमाथि पनि मादक पदार्थ सेवन(मापसे) गरेर सवारी चलाएको अवस्था पत्ता लगाउनकालागि केही समय अगाडिसम्म ब्रेथलाईजर लगाएर चेक जाँच गर्ने गरिन्थ्यो । तर, अचेल कोरोना संक्रमण बढेपछि यसरी जाँच गर्ने गरेको पनि कमै देख्न थालिएको छ ।

हिजो मात्र सप्तरीमा तीन जना युवा चढेको मोटर साईकल दुर्घटना भयो जसमा दुई जनाको ज्यान गयो भने एक जना अहिले छिन्नमस्ता हस्पिटल राजविराजमा उपचाररत् रहेका छन् । साथीको विहेमा तीन जना मोटरसाईकल चढेर जाँदै गरेका उनीहरुको मोटरसाईकल कसरी दुर्घटनामा प¥यो भन्ने विषयमा कुनै ठोस कारण सार्वजनिक नभए पनि एउटा कमजोरी त साबित भएको छ कि उक्त मोटरसाईकलमा तीन जना सबार थिए ।

उक्त दुर्घटना पछिको एउटा कारण तीन जना सबार रहनु हुन सक्ने भनियो भने शायद त्यो अन्यथा नहोला । सवारी साधनमा क्षमताभन्दा बढी मानिस चढाउन नपाईने ट्राफिक नियम त छ । तर, त्यसको पालनामा चाहिँ हेलचेक््रयाइँ गरिन्छ भने उक्त नियमको खिल्ली नै उडाएको मान्नु पर्दछ । बिहीबार भएको दुर्घटनामा यदि तीन जना सबार मोटरसाईकललाई रोक्न सकिएको भए शायद यस्तो दुःखद् अवस्था आउने थिएन कि ?

ट्राफिक प्रहरीको मूल उद्देश्य भनेको सवारी दुर्घटनामा कमी ल्याएर जनताको जीवनरक्षा गर्नु नै हो । त्यसैले यस प्रकारका दुःखद् घटना नदोहोरिऊन् भन्नाकालागि ट्राफिक प्रहरीले सबारी नियमको पूर्ण पालना गराउनेतिर लाग्न जरुरी छ ।