• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

पुस महिनाको अन्त्यसँगै आजदेखि माघ सुरु भएको छ । आजका दिन सूर्य धनुबाट मकर राशीमा प्रबेश गर्दछन् । प्राचीन मान्यताका अनुसार संक्रान्तिलाई एक महत्वपूर्ण पर्व मानिन्छ । यस संक्रान्तिलाई देवीको रुपमा पनि मानिन्छ ।

तिलका लड्डु, घीउ, चाकु, तरुल, खिचडी खाएर मनाईने यस पर्वको आफ्नै सांस्कृतिक महत्व रहेको छ । पवित्र नदीमा गएर स्नान गर्नाले पूण्यको भागी बनिन्छ भन्ने जनविश्वास छ । यही कारणले यस पर्वका दिन पवित्र गंगा स्नान गर्नेहरुको भिड लाग्दछ । सूर्य ग्रह कमजोर रहेका व्यक्तिकालागि काममा अबरोध आउने कारण मकर संक्रान्तिको अवसर पारेर गरिने बिधिले कार्यक्षेत्रमा सफलता पनि मिल्दै जाने जनविश्वास रही आएको छ ।

सूर्य उपासनाकै क्रममा पवित्र जलाशयमा गई मकर स्नानको प्रचलन बढेको हो । पवित्र अन्नका रुपमा मानिने तिलको परिकार यस पर्वमा खाने प्रचलन छ । तिलका लड्डुलाई यस पर्वको विशेष परिकार मानिएको छ । सक्खरको प्रयोगबाट तिल, मुरही, चिउराका लड्डु खाने तथा खिचडीलाई विशेष भोजनका रुपमा ग्रहण गर्ने पौराणिक परम्परा रहेको छ । यस्ता परिकारले शरीरमा तागत दिने तथा स्वास्थ्यबध्र्दक खानेकुराका रुपमा लिईएको छ ।

वैदिक सनातन हाम्रा शास्त्रादिमा हाम्रा ऋषि, सन्त महन्तले यस प्रकारका खाद्यान्न स्वास्थ्यकालागि फाईदाजनक रहेको भनि अन्वेषण गरेर गएका छन् । तिनलाई निरन्तरता दिन सकिँदा नै हामीले आफ्नो सनातन धर्मको महत्वलाई पनि निरन्तर जीवन्त राख्न सक्ने छौं । मकर संक्रान्ति, तिला संक्रान्तिका नामले पनि चिनिएको यस पर्वमा विशेष गरी थारु जातिले माघी पर्वका नामले मनाउने गरेका छन् ।

नयाँ योजनाको तयारीका अवसरका रुपमा समेत माघीलाई लिने गरेका उनीहरुको बसोबास रहेको ठाउँमा माघी महोत्सवकै आयोजना गर्ने गरिएको छ । सांस्कृतिक बाहूल्यता रहेको हाम्रो मुलुक विभिन्न संस्कृतिको संगम स्थल पनि हो । यहाँका भाषा, भेषभूषा, खानाका विविध परिकार तथा सांस्कृतिक बाहूल्यताले हामीलाई समृद्ध तुल्याएका छन् । हाम्रा हरेक चाडपर्वको आफ्नै प्रकारको महत्व छ । तिनले दिने सन्देशलाई हामीले व्यवहारमा उतार्न जरुरी देखिन्छ ।

पौराणिक तथा सांस्कृतिक महत्वका हाम्रा चाडपर्वहरु हाम्रालागि गौरवका विषय पनि भएका कारण यिनले दिने सन्देशलाई पालना गर्न सकिए हामीले आफ्नो परिचयलाई पनि कायम राख्नमा यसले मद्दत मिल्नेछ ।