• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

गंगिया हत्याका आरोपी कारागार चलान

बोदेबर्साईन पोखरी विवाद ः हत्या प्रकरण

राजविराज, २८ पुस ।
एक महिना अगाडी सप्तरीको बोदेबर्साईन नगरपालिकास्थित एक पोखरीमा माछा मार्ने विवादका क्रममा हत्या गरिएकी महिलाको हत्याका आरोपी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

सप्तरी जिल्ला अदालतको फैसला अनुसार अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गत मंसिर २८ गते राति सप्तरीको बोदेबर्साईन नगरपालिका–३ कुसमहारस्थित एक पोखरीमा माछा मार्ने विषयमा विवाद हुँदा दुई पक्ष बीच झडप भएको थियो । सोही क्रममा स्थानीय ४० बर्षीय गंगीयादेवी मण्डलको बंचरो प्रहार गरि हत्या गरिएको थियो ।

पीडित पक्षले प्रहरीमा दिएको उजुरी अनुसार स्थानीय रबित कुमार मण्डललगायतका आरोपिहरुले घरेलु हतियारसहित गरेको आक्रमणका क्रममा गंगीयाको घटना स्थलमै मृत्यु भएको थियो भने अन्य चार जना घाईते भएका थिए ।

सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले ज्यान सम्बन्धि कसुर तथा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरि कारवाही प्रक्रिया थालेका थिए । उक्त मुद्दामा प्रहरीले सोही दिन स्थानीय रबितकुमार मण्डल, शिवचरण मण्डल, सुरेन्द्र मण्डल र बिजय मण्डललाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी गराएका छन् ।

सोही मुद्दामा पुस २७ गते सप्तरी जिल्ला अदालतले अभियुक्तहरु मध्यै रबितकुमार मण्डललाई ज्यानसम्बन्धि कसुरमा पुर्पक्षका लागि थुनामा राख्न कारागार चलान गरेको तथा अन्य अभियुक्तहरु शिवचरण, सुरेन्द्र र विजयलाई जनही ५० हजार धरौटीमा रिहा गरेको आदेश सुनाएका हुन् ।

गंगियाको टाउकोमा बंचरो लागि घटना स्थलमै ज्यान गएको उक्त घटनामा सोही पक्षका १८ वर्षीय धिरज मण्डल, ४५ वर्षीय जयनारायण मण्डल, ४० वर्षीय सुरेन्द्र मण्डल र ४५ बर्षीय जोगिन्द्र मण्डल घाइते भएका थिए । अभियुक्तहरुलाई घटना लगत्तै प्रहरीले पक्राउ गरेको थियो ।