उसै पनि स्थानीय तहहरुले कर बढाए भनि व्यापक जनगुनासो उठ्दै आएको छ । गरीब जनतालाई राहत दिनुपर्नेमा उल्टै बिभिन्न शीर्षकमा कर लगाएर जनतामाथि आर्थिक भार थप्ने काम हुन्छ भने जनगुनासो बढ्नु स्वाभाविकै पनि हो । त्यसमाथि जनताले सकिनसकी तिरेको तिरोबाट खडा भएको बजेटमा ब्रह्मलुट हुन थाल्छ भने कसरी जनताले चित्त बुझाउलान् ? कतिपय स्थानीय तहले विकासीय काममा लगाउनु पर्ने बजेटलाई अन्य काममा लगाउने गरेको, जनताकालागि भन्दा पनि आफ्नालागि सुबिधा बढाएको जस्ता गुनासा पनि आई नै रहेका छन् ।
यही प्रसंगमा सप्तरीको छिन्नमस्ता गाउँपालिकाले सरकारले रोक लगाएको भए पनि बिभिन्न तालिम गोष्ठीका नाममा लाखौंको बजेट लगाएको कुरा यति बेला विशेष चर्चामा आएको छ । तालिम गोष्ठीको बजेटलाई कोरोना उपचार कोषमा जम्मा गर्न निर्देशन दिईएको भए पनि उक्त गाउँपालिकाले लकडाउन अवधिमा पनि तालिम गोष्ठी गरेर लाखौं रकम सकेका समाचार धमाधम आउन थालेका छन् । एकै जना कर्मचारीका नाममा लाखौं रकम निकाल्ने काम भएको तथा सबारी साधनमा पनि लाखौं रकम सकेको समाचारमा उल्लेख छ । जिल्लाका कम विकास भएका स्थानीय तहमध्ये छिन्नमस्ता अग्रपंक्तिमै पर्ला ।
यहाँ दलितहरुको पनि उल्लेख्य बसोबास छ जो चरम गरिबीका कारणले तड्पिरहेका छन् । अति विपन्न त्यस्ताको जीवनस्तर कसरी उकास्न सकिन्छ भन्ने कुरालाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गर्न सकेको भए पनि जनताले स्थानीय सरकार रहेको महशुस गर्न पाउँथे होलान् । तर, त्यसो भएन । बरु सबारीसाधनमा लाखौं खर्च गरियो, तालिम गोष्ठीका नाममा लाखौं रकम सकियो तर त्यस्ता विपन्नको अवस्थामा अहिले पनि कुनै सुधार आउन सकेन ।
छिन्नमस्ता गाउँपालिका कार्यालयकै केही मिटर पश्चिम पट्टी अति विपन्न डोम जातिको बसोबास छ । उनीहरुको दयनीय अवस्था हेर्दा गाउँपालिकाले विकासका नाममा के कति सफलता हासिल गरेछ भन्ने त्यहाँ पुगेका जो कोहीले पनि सहजै अनुमान लगाउन सक्दछन् । त्यस्ता विपन्न जनता छिन्नमस्ता गाउँपालिका भित्र ठूलै संख्यामा छन् । गाउँपालिकाले विकासको कार्यक्रम त्यस्तालाई नै प्राथमिकतामा राखेर बनाउन आवश्यक थियो । तर, बिडम्बना नै भन्नु पर्दछ कि स्थानीय सरकारका जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यहरुले तिनको चेहेरा कार्यक्रमका दौरानमा स्मरण पनि गर्न सकेनन् । यदि सकेको भए तिनलाई लक्षित गरी किन कार्यक्रम ल्याईएन अनि अन्य काममा लाखोंको बजेट सक्ने काम भयो ?
छिन्नमस्ता गाउँपालिकामा अनियमितता भयो भनेर केही महिना पहिले पनि स्थानीय युवाहरुले आन्दोलन गरेकै हुन् । उनीहरुले आयव्ययको विवरण सार्वजनिक गर्न समेत माग गरेका थिए । असारमा हुनु पर्ने परिषद् अहिलेसम्म नहुनु, हाकिम कार्यालयमा नबस्नुलगायतका अनेक प्रकारका विकृति उक्त गाउँपालिकाले भोग्दै आएको छ । जनतालाई विकासको प्रत्याभूति दिने प्रतिबद्धताका साथ जिम्मेवारीमा पुगेका जनप्रतिनिधिहरुले पनि यसमा चासो देखाउँदैनन् भने छिन्नमस्ताले विकासमा कसरी गति लेला ?