देशको आर्थिक विकासकालागि कृषिलाई मेरुदण्ड त मानिएको छ । विद्यार्थीको पाठ्यक्रममा पनि यस विषयलाई समावेश गरी पठनपाठन गराईन्छ । तर, यस्तो महत्वपूर्ण क्षेत्रको उत्थानकालागि सरकारले गरेको कामलाई हेर्दा भने फगत किसानका पक्षमा ओठेभक्ति मात्र देखाउन खोजिएको हो कि भन्ने आशंका उत्पन्न हुने गरेको छ । आर्थिक विकासको मेरुदण्ड कृषिलाई मानिएको हो भने पहिला त्यसमा व्याप्त समस्याको समाधानकालागि सरकारले तदारुकताका साथ काम गर्न जरुरी थियो ।
बाली लगाउने बेलामा सिँचाई, बीउबिजन, कीटनाशक औषधि तथा रसायनिक मलको अभाव झेल्दै आएका किसानले अहिलेसम्म समस्यामै जेलिएर कृषिकर्म गर्नु पर्ने बाध्यताले छोडेको छैन । हो, कृषि उत्पादनमा कमी आए खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दूधलगायतमा परनिर्भरता बढ्ने निश्चित छ । यस्ता सामग्रीको आयात बाहिरबाट गर्ने अवस्था आएपछि मुलुकलाई आत्मनिर्भरताको बाटोमा डोर्याउन पनि सकस हुनु स्वाभाविकै हो । आयात प्रतिस्थापन गर्न सकियो भने मात्र विदेशी मुद्राको सञ्चिति बढ्ने भएका कारणले पनि यो सफलता हात पार्न कृषिको उत्थानमा विशेष जोड दिनुपर्ने आवश्यकता बोध भएको हो ।
नारामा कृषिक्रान्तिका कुरा निकै गर्ने गरिएपनि व्यवहारमा किसानले अनेकानेक समस्याको सामना गर्नु परिरहेको छ । पछिल्लो चरणमा यति बेला भुक्तानी नपाएका कारण सर्लाहीका उखुकिसान पुसको ठण्डीमा पनि घरबार त्याग्दै राजधानीको चिसोमा आन्दोलन गरिरहेका छन् । चिनी मिलले वर्षौंदेखि उखुको भुक्तानी नदिएपछि उनीहरु बाध्य भएर राजधानीमा सरकारको ध्यानाकर्षण गराउँदै छन् । दुई सातादेखि राजधानीमा प्रदर्शन गर्दै आएका ती किसानका माग सम्बोधनकालागि सरकारले गरेको ढिलासुस्तीका कारण उनीहरुको राजधानी कुराई लम्बिँदै गएको छ ।
चिनी मिलबाट भुक्तानी दिलाउने भनेर गत वर्षको आन्दोलनका समयमा नै सरकारले गरेको सहमति अहिलेसम्म कार्यान्वयन नभएका कारणले यसपटक पनि उनीहरु राजधानी धाउन बाध्य भए । उखु लिएका मिलले किसानको भुक्तानी किन गरेनन् ? भन्ने विषयमा समयमै सरकारी संयन्त्रबाट चासो देखाएको भए पीडित उखु किसानले यत्रो बिधि कष्ट उठाउनु पर्दैनथ्यो होला ।
सरकारले यसकालागि पहल गर्न सहमतिका बेलामै जरुरी थियो । काम नभएपछि ऋण काढेर किसान यति बेला राजधानीमा आएका छन् भने उनका परिवारजन चाहिँ यस पटक रकम लिएर घर फर्किने आशामा प्रतिक्षामा छन् । तर पनि सरकारले उनीहरुका समस्याका बारेमा ठोस काम गर्न सक्दैन भने पीडित किसानले सरकारमाथि कसरी भरोशा गर्ने ?