• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

पुस लाग्न आँटे सँगसँगै चिसो पनि बढ्दै छ । तराई मधेशमा शितलहर पनि यसै बेलामा हुने गरेका कारण ठण्डाबाट सुरक्षित कसरी रहने भन्ने कुरा अहिले चुनौति बन्दो छ ।

हुनेखानेका लागि ठण्डी त्यति कष्टदायक नहोला । गतिलो कपडा, ओढ्ने ओच्छ्याउने तथा पोसिलो खाना पाउनेका लागि ठण्डी कहर नबन पनि सक्ला । तर, जसको विहान बेलुका चुल्हो बाल्न पनि समस्या छ, मिहिनेत मजदूरी नगरी खानाको जोहो हुन सक्दैन त्यस्ताका लागि ठण्डी कहर बन्ने हो ।

चिसो हावाको प्रवेश रोक्न नसक्ने झुप्रोमा दिन कटाउन विवशका लागि गतिला लुगा, न्यानो ओछ्यानको व्यवस्था गर्नु पक्कैै पनि सहज नहुने भएका कारण जाडो याम उनीहरुका लागि कहर बन्ने गरेको छ । तराई मधेशमा चल्ने शितलहरबाट वर्षेनी कतिको ज्यानै लिने गरेको छ । रुघाखोकी, दम, कोल्ड डायरिया, ज्वरो लगायतका विरामी पनि यही समयमा बढ्ने गरेको पाईन्छ । शितलहरबाट बढी प्रभावित जिल्लामा सप्तरी पनि अग्रस्थानमै पर्दै आएको छ ।

ठण्डीबाट जोगाउनका लागि यहाँ पनि स्थानीय सरकार, स्थानीय प्रशासन, सामाजिक संघसंस्था तथा सरोकारवाला सबैले आवश्यक तयारीमा जुट्ने समय आईसकेको छ । विशेष गरी वालवालिका, बृद्धबृद्धा तथा विरामीहरुका लागि ठण्डीबाट जोगाउन समस्या हुने भएका कारण व्यवस्था पनि तिनैलाई प्राथमिकतामा राखेर गरिनु पर्दछ । स्थानीय प्रशासनले यसका लागि समन्वयकारी भूमिका निर्वाह गर्न सक्दछ ।

विगतका वर्षहरुमा पनि शितलहरका कारण सप्तरीमा धेरैले ज्यानै गुमाईसकेका छन् । पुस लाग्ने समय भईसकेका कारण करीब एक महिनासम्म चिसोको प्रभाव बढी रहने भएकाले आवश्यक तयारी गर्न जरुरी देखिएको हो । यस वर्षको ठण्डी याम विगतको भन्दा अझै चुनौतिपूर्ण पनि रहेको छ । कोरोनाको संक्रमण फैलँदो अवस्थामा रहेको र ठण्डीमा यसको प्रभाव अझै विस्तारित हुने स्वास्थ्य क्षेत्रका विज्ञहरुको पनि भनाई रहेका कारणले यस्तो बेलामा विशेष साबधानी आवश्यक छ ।

कोरोनाका कहरका बीच ठण्डीको प्रकोप अवश्य पनि थप चुनौति नै हो । यस्तो समयमा सकेसम्म जोगिने उपाय गरियो भने मात्र समस्याबाट बँच्न पनि सहज हुनेछ । विपन्नहरुका लागि बढी समस्या बनेको चिसो याममा उनीहरुको लगत तयार गरी आवश्यक सहयोग गर्न सकियो भने ठण्डीको प्रकोपबाट उनीहरुलाई जोगाउन नसकिने होईन ।

कोरोना संक्रमणबाट सुरक्षित रहने बारेमा स्वास्थ्य सचेतनाको पालनाका साथै चिसो समयमा कसरी जोगिएर बस्ने भन्ने बारेमा चेतनामूलक कार्यक्रमको त आवश्यकता त छँदैछ । यसका साथसाथै विरामी परेकाहरुका लागि तत्कालै उपचारको व्यवस्थाका बारेमा पनि सोच्न जरुरी देखिन्छ ।