• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

धानबालीका समयमा रसायनिक मलको अभाव झेलेका किसानहरुले गहुँ लगाउने समयमा पनि मलको अभाव भोग्नु परिरहेको छ । धानमा नोक्सानी भए पनि गहुँको उत्पादन राम्रो होला र गर्जो टारौंला भन्ने आशामा रहेका किसानका लागि मलको अभावले निराश बनाएको छ ।

सरकारले बाहिरबाट ल्याएर भए पनि मलको व्यवस्था मिलाउने भनिरहँदा अहिलेसम्म मल नआएका कारण स्टकमा भएको मलका भरमा मात्र देशभरिका किसानलाई पु¥याउन समस्या रहेको छ । धानबाली लगाउने समयमै बंगलादेशबाट पैंचो मल ल्याएर किसानमा वितरण गरिने भनियो । तर, अहिलेसम्म मल आउने कुनै लक्षण नदेखिँदा गहुँबालीको अवस्था पनि कतै धानकै जस्तो हुने त होईन भन्ने आशंका थपिएको छ ।

कृषिप्रधान मुलुक भए पनि नेपालमा आफ्नै मल कारखाना अहिलेसम्म स्थापना गर्न सकिएको छैन । विदेशबाट आयात गरिने मलकै भरमा खेति चलाउनु पर्ने बाध्यता रहिआएको छ । सरकारले किसानका समस्याप्रति चासोका साथ समाधान गर्ने बताईरहँदा अहिले पनि नेपाली किसानले बिभिन्न प्रकारका समस्याको सामना गर्नु परिरहेको छ । सिँचाई, उन्नत जातको बीऊ, कीटनाशक औषधिको अभाव जस्तै रसायनिक मलको अभाव पनि यस्तै समस्या अन्तर्गत पर्ने गरेको छ ।

कृषिमा आउने सुधारले नै मुलुकलाई आत्मनिर्भर बनाउन सघाउ पुग्ने भए पनि यसकालागि जे जति काम हुनु पर्ने हो,त्यो नभएका कारणले नै अहिले खाद्यान्नमा पनि परनिर्भरता बढेर गएको अवस्था छ । यो परनिर्भरता नघटाउने हो भने मुलुकलाई समृद्धिको दिशामा पनि अघि बढाउन समस्या आउने निश्चित छ । यति बेला रसायनिक मलको अभाव भोगिरहेका किसानका समस्यालाई समयमै समाधान नगर्ने हो भने उनीहरुमा उल्टै निराशा नथपिएला भन्न सकिन्न । कोरोना संक्रमणका कारण सीमावर्ती भारतीय नाका पनि अबरुद्ध भएको कारणले भारतीय बजारबाट थोरै–थोरै भए पनि मल ल्याउने विगतको जस्तो अवस्था पनि अहिले नरहेका कारणले समस्या झनै जटिल बनेको छ ।

कृषि उत्पादकत्व बढाउनकालागि यस्ता कुरामा सरकारले समयमै ध्यान दिन जरुरी थियो । तर, यस मामिलामा गम्भीरता नदेखाएका कारणले नै अहिले यो समस्या किसानहरुकालागि जटिल बनेको अवस्था छ । कृषि क्षेत्रमा सुधार ल्याउने भनि सरकारले बारम्बार आश्वासन दिने गरेको छ । तर, अति आवश्यक वस्तुको व्यवस्था पनि समयमा मिलाउन नसकेपछि सरकार किसानका समस्या प्रति सम्बेदनशील छ भनेर कसरी विश्वास गर्न सकिएला ?