• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

क्रिकेट छनौट बन्द शिविर संचालित

झण्डै ८ महिनापछि वल्ल प्रारम्भ भयो खेलकुद गतिविधि
क्रिकेट छनौट बन्द शिविर संचालित

राजविराज, १९ मंसिर ।
सप्तरी सदरमुकाम राजविराजमा शुक्रवार तेश्रो दिन पनि विभिन्न प्रतियोगिताका लागि क्रिकेटर छनौट हेतु बन्द शिविर संचालन गरिएको छ । गत बुधबार देखि नै स्थानीय राज रंगशालामा तथा सुरुगां नगरपालिकास्थित खेल मैदानमा थालिएको छनौट शिविरमा जिल्ला भरीका झण्डै एक सय बढी पुरुष तथा महिला खेलाडीहरुले सहभागिता जनाएको सप्तरी क्रिकेट संघले जनाएको छ ।

आगामी पुस ११ गतेदेखी काठमाडौंमा हुने भनिएको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता तथा दाङको लमहीमा हुने राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने सप्तरीका क्रिकेट खेलाडीहरुको छनौटका लागि विगत तीन दिनदेखी बन्द प्रशिक्षण सुरु भएको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले जानकारी गराए ।

कोरोनाको जोखीमलाई ध्यानमा राख्दै आवश्यक स्वास्थ्य सतर्कता अपनाई राजविराजस्थित राजरंगशालामा पुरुषतर्फको खेलाडी छनौट शिविर संचालन गरिएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार सुरुङा नगरपालिकाको कुशहास्थित श्रीमसिलाल माविको खेलमैदानमा महिलातर्फको छनौट र बन्द प्रशिक्षण एकै दिन सुरु भएको हो ।

राजरंगशालामा सुरु भएको पुरुषतर्फको बन्द प्रशिक्षणमा राष्ट्रिय खेलाडी महबुब आलम, रोहन बिक, रोहित सिंह, प्रशान्त सिंह, अनिल यादवसहित ७५ जना खेलाडीहरु सहभागी भएका छन् भने कुशहास्थित खेलमैदानमा सुरु भएको महिलातर्फको बन्द प्रशिक्षणमा ३८ जना खेलाडी सहभागी भएका छन् ।

मंसिर भित्र छनौट गरिसक्ने लक्ष्यका साथ सुरु गरिएको बन्द प्रशिक्षणमा प्रशिक्षकमा राजकुमार दास र धर्मेन्द्र चौधरीले आवश्यक स्वास्थ्य सावधानी अपनाई प्रशिक्षण दिइरहेको क्रिकेट संघ सप्तरीका सचिव चन्दन यादवको भनाई छ । यसरी बन्द प्रशिक्षणबाट अन्तिम छनौटबाट परेकाहरु प्रदेश स्तरमा हुने प्रतिस्पर्धामा सहभागी हुने र त्यहाबाट छनौट भएकाहरु राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागीता जनाउने सचिव यादवले वताए ।

कोरोना महामारीका कारण पछिल्लो चैत्र महिनादेखि नै ठप्प रहेको खेलकुद गतिविधि राजविराजमा वल्ला प्रारम्भ भएको छ । कोरोना भाइरस संक्रमणको कारण रोकिएको खेलकुद गतिबिधि जनजिवन केही सामान्य बन्दै गएपछि आवश्यक स्वास्थ्य सावधानी अपनाउँदै संचालनमा आएको हो ।

आठ महिना ढिलो भएपनि खेल मैदानमा उत्रिन पाउँदा खेलाडी निकै खुशी र उत्साहित देखिएका छन् । राष्ट्रिय खेलाडी रोहन बिकले कोरोना महामारी जोखिमका बीच नयाँ तरिकाले प्रशिक्षणमा सहभागी भएको बताउँदै राष्ट्रिय स्तरको प्रतियागितामा उत्कृष्ठ प्रदर्शन गर्ने लक्ष्यका साथ कडा महिनेत गरिरहेको सुनाए । बन्द प्रशिक्षणमा सहभागि राष्ट्रिय खेलाडी रोहित सिंहले भने, ‘ढिलै भएपनि खेल मैदानमा उत्रिन पाउँदा निकै खुशी लागेको छ ।’