• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

हिजो अन्तर्राष्ट्रिय अपांग दिवस मनाईयो । नेपालमा पनि यस उपलक्ष्यमा बिभिन्न कार्यक्रमहरु आयोजना गरिए । अपांगका समस्या तथा तिनका समस्याका बारेमा पनि बृहत रुपमा चर्चापरिचर्चा गरियो ।

अपांगका सबालमा राज्यले पूरा गर्नुपर्ने जिम्मेवारीका विषयमा पनि ठाउँ–ठाउँमा निकै चर्चा भए । अपांगलाई हेर्ने दृष्टिकोणका सबालमा पनि समय–समयमा यस प्रकारका कुरा उठ्ने गर्दछन् । मुलुकमा आएको परिवर्तनले पनि सबै नेपाली जनतालाई समान अधिकार प्रदान गरेको छ । शारीरिक रुपमा अपांग भएकाहरुका लागि पनि विशेष व्यवस्था गरिनुपर्छ भन्ने कुरा उठ्ने गरेको अवस्थालाई ध्यानमा राखी उनीहरुका लागि पनि बिभिन्न क्षेत्रमा आरक्षणको व्यवस्था त मिलाईएको छ । तर, यति भएर पनि सबै अपांगका समस्या समाधान भएको भनेर ढुक्क हुने अवस्था चाहिँ अहिले पनि छैन भन्न सकिन्छ ।

मुलुकमा जति अपांगहरु छन् ती सबैका आ–आफ्ना समस्या नरहेका होईनन् । तर, अहिलेसम्म राज्यले उनीहरुका लागि गरेको व्यवस्था निकै कम छ । पहिलो सबाल त उनीहरुको व्यवस्थापनकै हुन जान्छ । अपांग हुँदा शारीरिक रुपमा सोचे जति कसैले गर्न नसक्ला । तर, अपांग हुने बित्तिकै मानिमा सिर्जनशिलता हुँदै हुँदैन भन्ने चाहिँ होईन । उनीहरुमा रहेको सीप तथा क्षमताको उपयोग गर्न सकियो भने यसले पनि मुलुकको उत्थानमा पक्कै पनि योगदान पुग्दछ ।

विश्वमा अपांगहरुले पनि धेरै उदाहरणीय कार्य गरेका छन् । त्यसबाट पनि प्रेरणा लिन नसकिने होईन । अपांगलाई क्षमता अनुसारका काम, आवश्यक तालिम, शिक्षादीक्षाको आवश्यकता रहेको छ । यसकालागि राज्यले उनीहरुका निमित्त विशेष कार्यक्रमै ल्याएर लागु गर्न सकियो भने उनीहरुमा भएको क्षमताबाट राष्ट्र नै लाभान्वित बन्न सक्दछ । हाम्रै समाजका एक अंगका रुपमा रहेका उनीहरुलाई सम्मानित जीवन यापनका लागि समाजले पनि सहयोगका साथै उचित वातावरण निर्माण गरी दिन सके उनीहरुले पनि आत्मसम्मानको अनुभूति पाउने छन् ।

वर्ष दिनमा एक पटक मनाईने अपांग दिवसबाट मात्रै जिम्मेवारी पूरा भएको भनि मान्न सकिँदैन । यस्ता अवसरमा उठेका सबाललाई हल गर्नका लागि यस बीचमा के–के काम भए ? तिनको समीक्षाका साथै भविष्यमा गर्नुपर्ने कामका बारेमा पनि छलफल चलाउनाका साथसाथै तिनको कार्यान्वयनका विषयमा पनि तदारुकता देखाउन सकियो भने अपांगहरुका समस्यालाई न्यूनीकरण गर्न सफलता मिल्नेछ ।