
राजविराज, १७ मंसिर ।
सामाजिक संजाल फेसबुकमार्फत ठगी गर्ने आरोपमा प्रहरीले सप्तरीका रामदेव साह र सुनसरीकी मनिषा गिरीलाई पक्राउ गरेको छ ।
फेसबुक एकाउण्ट ह्याक गरी रकम ठगी गरेको आरोपमा सप्तरीको सितापुर घर भएका ३१ वर्षीय साह र सुनसरी इटहरी–४ का २३ वर्षीया गिरी रहेका २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ की एक महिलाले जिल्ला प्रहरी कार्यालयमा दिएको सूचनाअनुसार उनीहरुलाई पक्राउ गरिएको हो । दुबै जनाले फेसबुक एकाउण्ट ह्याक गरेर नेटमार्फत सामाजिक सञ्चालमा अश्लिल तस्बिरहरु राखिदिन्छु भन्दै ब्ल्याकमेल गरी ३० हजार रुपैयाँ लिएको महिलाको आरोप छ ।
सोही क्रममा गत मंगलबार इटहरी बजारस्थित माग गरिएको रकम आइएमईमा झिकिरहेको अवस्थामा दुबैलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुबै जनामाथि आपराधिक लाभ मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिनको म्याद गराई अनुसन्धान भइरहेको जनाएको छ ।