• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

लामो समयदेखि बन्द रहेका विद्यालयहरु अहिले क्रमशः खुल्न थालेका छन् । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना सहित विद्यालय सञ्चालनका लागि अनुमति दिएपछि अहिले विद्यालय खुल्न थालेका हुन् ।

विद्यालय खोल्नाका साथसाथै कोरोना संक्रमणबाट जोगिनका लागि स्वास्थ्यसम्बन्धि मापदण्डको पालनामा पनि एकै साथ ध्यान दिनु अहिलेको आवश्यकता हो । विद्यालयमा एकै बेञ्चमा विद्यार्थीलाई कोचाकोच गरी राखेर पढाउन थाल्ने हो भने यसले कोरोना संक्रमणको जोखिमलाई बढाउँछ ।

यसैगरी विद्यालयमा नियमित रुपमा हात धुने व्यवस्था मिलाउन जरुरी छ । सामाजिक दूरी कायम गर्ने, मास्क तथा सेनिटाईजरको प्रयोगमा ध्यान दिने जस्ता कुरामा विद्यालय प्रशासनले ध्यान दिन जरुरी छ । यस्तो व्यवस्था मिलाउनमा केही रकमको पनि खर्च पर्ने निश्चित छ । तर, खर्च हुन्छ भन्दैमा यस्ता विषयमा हेलचेक्र्याइँ गर्न चाहिँ कदापी मिल्दैन । कोरोनाको जोखिम अहिले पनि यथावतै छ । दिनदिनै संक्रमितहरु थपिने क्रम जारी नै छ । यस्तो समयमा कोरोना संक्रमणबाट जोगिनका लागि आफ्नै साबधानी सबैभन्दा प्रभावकारी हुने भएका कारण यस्ता विषयमा हेलचेक्र्याइँ गर्न मिल्दै मिल्दैन ।

विद्यालयमा विद्यार्थी, शिक्षक तथा अन्य स्टाफ समेतको उपस्थिति रहने भएका कारण त्यहाँ मानिसको जमघट हुन्छ नै । यस्ता स्थानमा संक्रमणबाट जोगिनका लागि बढि साबधानी आवश्यक रहनु स्वाभाविकै हो । विद्यलाय सञ्चालनमा स्वास्थ्यसम्बन्धि मापदण्ड अपनाउन दिईएको निर्देशनको पालना भएको छ वा छैन भन्ने विषयमा पहिला विद्यालय प्रशासनले नै चासो देखाउन जरुरी छ । यसका साथै विद्यार्थी, अभिभावक, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला सबैले यसमा बेलाबखत चासो देखाएर जानकारी लिन जरुरी छ ।

निर्देशन जारी गरेर मात्र पुग्छ भनेर ढुक्क भएर बसियो भने उल्लंघन भएको विषयमा जानकारी पाउन सकिँदैन । बालबालिकाको भविष्य निर्माणको स्थलका रुपमा रहेको विद्यालयमा जोखिममुक्त रहि पढ्न पाउने वातावरण पहिला मिलाउन जरुरी भएका कारण यस विषयमा विशेष चासो देखाउन जरुरी छ । सरकारले स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा लिन अनुमति दिएपछि कक्षा १२ का विद्यार्थीहरुले भौतिक रुपमै विद्यालयमा उपस्थित भएर परीक्षा दिएका छन् । अन्य कक्षाका बालबालिकाको पढाई सञ्चालनका क्रममा पनि यसैगरी स्वास्थ्य मापदण्ड अपनाउने विषयलाई प्राथमिकताका साथ हेरिनु जरुरी छ ।

बालबालिका तथा शिक्षक सबै स्वस्थ्य रहन सके मात्र नियमित पठनपाठन सम्भव हुने भएका कारणले पनि स्वास्थ्यसम्बन्धि जोखिमलाई सकेसम्म न्यूनीकरणतिर लाग्नु नै उत्तम हुनेछ ।