सरकारले सोमबार एकैसाथ ३ सय ९६ पालिकामा एकैसाथ अस्पताल शिलान्यासको कार्यक्रम निर्धारण गरेको भए पनि गण्डकी प्रदेशका तीन नगरपालिका र ९ वटा गाउँपालिकामा यो कार्यक्रम हुन सकेन । यसरी हुन नसक्नु पछाडिको एक कारण थियो जनप्रतिनिधिका बीचको मतभिन्नता ।
अस्पतालको शिलान्यास कसबाट गराउने भन्ने विषयमा फरक–फरक धारणा जनप्रतिनिधिहरुबाट आउन थालेपछि शिलान्यास रोकिन पुगेको हो । एउटा पार्टीबाट निर्वाचित सांसद तथा अर्कोबाट निर्वाचित मेयर रहेका कारण कसैले सांसद त कसैले मेयरबाट उद्घाटन गर्नुपर्छ भन्ने अडानका कारणले कार्यक्रम नै रोकिन पुग्यो जुन दुःखद् पक्ष हो । शिलान्यास वा उद्घाटन जसले गरेपनि आखिरमा काम त जनताकालागि नै हुनेमा त दुई मत रहन्न थियो होला ।
जुन राजनीतिक दलबाट जितेका भए पनि जनप्रतिनिधिहरु सबैले जनताकालागि काम गर्ने कुरालाई नै आ–आफ्ना प्रतिबद्धतामा राखेका हुन्छन् । तर, आफूले वा आफूले भनेको व्यक्तिले नै शिलान्यास वा उद्घाटन गर्न नपाएको निहुँमा जनताकालागि गरिने विकासीय काममा नै भाँजो हाल्नु चाहिँ कुनै पनि जनप्रतिनिधिलाई सुहाउने कुरा होईन । अनि आफूले गर्न नपाएमा विकासीय काम नै रोक्ने सम्मको अनपेक्षित कार्य सरासर नाजायज नै हो ।
अहिले सरकारले जनतालाई सुलभ स्वास्थ्य सेवा पु¥याउनका लागि एकै साथ यतिका अस्पताल स्थानीय तहहरुमा शिलान्यासको कार्यक्रम ल्याएको हो । स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहहरुमा जनताले उपचार सेवा पाउनु भनेको त सबै राजनीतिक दलका लागि पनि खुशीकै विषय हुनुपर्ने हो । यो विवाद त एक उदाहरण मात्रै हुन सक्ला, यस्तै विवादका कारण अन्यत्र पनि कार्यक्रम नै बिथोलिने गरेका घटनाहरु पनि बराबर सुनिन थालेका छन् ।
कतै अध्यक्षता कसले गर्ने भन्ने विवाद त कतैको प्रमुख अतिथि बन्ने भन्ने विषयमा कुरा नमिल्दा पनि कार्यक्रममा बिरोध र होहल्ला समेत हुने गरेका छन् । कतै आसनग्रहणको विषयमा समेत घम्साघम्सी हुने गरेको छ । यस्ता गौण विषयलाई नै विवादको मुद्दा बनाएर कार्यक्रमलाई नै हुन नदिनु भनेको आफ्नो प्रभुत्व जमाउने बाहेक अरु के नै पो होला र ?
समन्वय तथा समझदारीका साथ काम गर्नेतिर थोरै भए पनि ध्यान दिने हो भने यस्ता गौण कुरामा अलमलिएर बस्ने अवस्था नै आउँदैन थियो होला । तर,सानोतिनो कुरामा पनि अत्तो थापिरहने हो भने हामीले विकास निर्माणका कामलाई कसरी अघि बढाउन सकौंला ?