बृजमान तामाङ्ग
बिरेन्द्र बजार, १४ मंसिर ।
सप्तरीको शम्भुनाथ नगरपालिका–२ कनकपट्टीका ५० अतिबिपन्न दलित परिवारका लागि निःशुल्क आवास निर्माण थालिएको छ ।
महुली सामुदायिक बिकास केन्द्र बकधुवा, ह्यबिट्याट फोर ह्यूमानिटी नेपाल र वडा कार्यालयको त्रिपक्षीय साझेदारीमा आवास निर्माण थालिएको हो । छाना कार्यक्रम सामुदायिक आवास योजना अन्तर्गत ५० घर अतिबिपन्न परिवारका लागि आवास निर्माणको काम शुरु गरिएको महुली सामुदायिक बिकास केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले बताए ।
दलित तथा अतिबिपन्न समुदायको लागि निर्माण हुने ५० वटा घर निर्माणका लागि १ करोड ७५ लाख खर्च हुने चौधरीले जानकारी दिए । सामुदायिक आवास निर्माणमा ह्याबिट्याट फोर ह्यूमानिटी नेपाल र महुली सामुदायिक बिकास केन्द्र बक्धुवाको १ करोड तथा वडा कार्यालयको तर्फबाट ७५ लाख लगानी गरेको शम्भुनाथ नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष दुर्गानन्द भगतले बताए ।
आवास निर्माणको काम ६० प्रतिशत भन्दाबढी सप्पन्न भई सकेकोले आगामी फागुन महिना सम्ममा समुदाय लाई हस्तान्तरण गरिसक्ने उनले जानकारी दिए । पक्की फाउन्डेशन, अन्य भागमा बाँस तथा भित्तामा सिमेन्टको ढलाई र टिनको छाना लगाएको ३ वटा कोठा र बराण्डा समेत भएको प्रतिघरमा ३ लाख, २५ हजार लगानीबट घर बन्ने महुली सामुदायिक बिकास केन्द्रले जनाएको छ ।
सोही लगानी बाट शौचालय निर्माणको कार्य समेत गरिने महुली सामुदायिकका कार्यकारी निर्देशक चौधरीले बताए । महुली सामुदायिक बिकास केन्द्रले गत बर्ष सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा ५० घर एकीकृत बस्तीका लागि आवास निर्माण गरि अतिबिपन्न परिवारलाई हस्तान्तरण गरिसकेका छन् ।
सोही कार्यक्रम अन्तर्गत गाउँपालिकाको ६ वटै वडामा १०र१० वटा आवास निर्माण गरि घरबिहिन अतिबिपन्न परिवारलाई हस्तान्तरण गरिसकेको छ । सोही कार्यक्रमले स्थानीय तहहरुमा राम्रो काम गर्ने मध्ये अग्निसाईर कृष्णासवरन गाउँपालिका छनौट भई पुरस्कृत समेत भएको थियो ।