नेपालीपछि मुलुकमा धेरै बोलिने भाषा मैथिली हो । प्राचीन तथा समृद्ध भाषा हुँदाहुँदै पनि यो भाषा शासक वर्गको बक्रदृष्टिका कारणले विगतमा उपेक्षित रहने गरेको थियो । एक भाषा एकै भेषको नीतिका कारणले मैथिली लगायतका अन्य धेरै भाषाहरुको विकासमा अबरोध आयो । मिथिला क्षेत्रमा यस कुराको पटक–पटक बिरोध भई बढि बोलिने यस भाषाको उत्थानमा सरकारको ध्यान जानु पर्ने विषयमा बेलाबखत कुरा उठ्ने गरेका भए पनि अहिलेसम्म पनि यस समृद्ध भाषाको उत्थान सोचे जस्तो रुपमा हुन सकेको छैन ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुकका रुपमा चिनिन्छ । यहाँ बिभिन्न जातजातिका आ–आफ्नै भाषा रहेका कारण यहाँ भाषिक बाहूल्यता पाईने गरिएको छ । यो हाम्रो विशेषताका साथसाथै गौरवको विषय पनि हो । मल्ल कालमै समृद्ध रहेको मैथिली भाषालाई संरक्षण तथा सम्बद्र्धन गर्न त्यसपछिका सरकारले चासो नदेखाएका कारणले यो प्राचीन भाषा अहिलेसम्म सोचे जस्तो विस्तार तथा विकसित नभएको अवस्था विद्यमानै छ ।
मुलुकमा आएको ऐतिहासिक परिवर्तनले जसरी सबै नेपालीलाई समान अधिकार दिलाएकोे छ यसका साथसाथै सबै जातजाति, भाषाभाषीले आफूहरुको भाषा साहित्यले पनि सम्मान तथा अवसर पाउनुपर्ने आकांक्षा गरेका छन् जसलाई अस्वाभाविक भन्न मिल्दैन पनि । परिवर्तनले सबैको सम्मान तथा सबैलाई अवसरको ग्यारेण्टी गरेको छ भने सबै भाषाले प्रष्फूटित, विकसित हुनै मौका त पाउनै पर्ने हुन्छ । यसका साथसाथै तिनको संरक्षण गर्ने दायित्व पनि राज्यको हुन जान्छ ।
दोस्रो प्रमुख भाषाका रुपमा रहेर पनि मैथिलीको जे जति विकास हुनुपर्ने हो त्यसमा पक्कै पनि कमी नरहेको होईन । अहिले मैथिलीका महाकवि विद्यापतिको स्मृति दिवस मनाइँदै छ । सप्तरीमा पनि कवि कोकिल विद्यापतिको स्मृतिमा मैथिली साहित्य परिषद्ले पहिलो दिन मंसीर ११ गते साहित्यिक गोष्ठी, १२ गते खुला निबन्ध प्रतियोगिता तथा १३ गते श्रद्धाञ्जली सभाको आयोजना गरी विद्यापति स्मृति दिवस मनाउने कार्यक्रम तय भएको छ ।
महाकवि विद्यापतिको सम्मानमा यस प्रकारको कार्यक्रमको आयोजना गरिनु भनेको मैथिली प्रतिकै अनुराग तथा सम्मानको परिचायक हो । तर, वर्ष दिनमा यस प्रकारका कार्यक्रम गरेर मात्र पुग्ला भन्न सकिन्न । मैथिलीलाई विगतमा जसरी उपेक्षा गरियो अहिले परिवर्तित अवस्थामा यसले फड्को कसरी मार्न सक्दछ भन्ने विषयमा सरोकारवाला सबैले सक्रियताका साथ जुट्न जरुरी छ ।
मैथिली पढाई उत्प्रेरक कार्यदलले विगतमा मातृभाषा मैथिलीमा शिक्षा दिने व्यवस्थाकालागि जसरी मिहिनेत गरेको थियो अहिले त्यस प्रकारका गतिबिधि बिरलै देख्ने गरिएको छ । मातृभाषामा प्राथमिक शिक्षाको नीति भएर पनि यो अहिले किन सुस्त छ ? यसका बारेमा पनि चिन्तन र पहलको आवश्यकता छ । अन्त्यमा कवि कोकिल विद्यापतिमा हार्दिक श्रद्धाञ्जली ।