• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भारतीय सीमावर्ती नाकामा आवागमन रोक लगाईएको निकै दिन भईसकेको छ । कोरोना संक्रमण नियन्त्रणकालागि भनेर नाका सिल गरिएको भएपनि अब त्यसको औचित्य नरहेको सप्तरीमा सरोकारवालाहरुले बताउन थालेका छन् ।

जिल्ला समन्वय समितिले तीन दिन अघि आयोजना गरेको सर्वपक्षीय अन्तरक्रिया गोष्ठीमा उनीहरुले नाकामा सिल गरिएको भए पनि यसले कोरोना संक्रमण नियन्त्रणभन्दा पनि तस्करी बढाएको, सर्वसाधारणले अनावश्यक झण्झट उठाउनु परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । भारतीय सीमावर्ती क्षेत्रसित जोडिएका स्थानीय तहका प्रमुखहरुले पनि सीमामा मानिसको आवागमन जारी रहेको तर सवारी साधन चाहिँ जान आउनमा रोक लगाईएका कारणले कोरोना संक्रमण रोक्न भन्दा पनि यसले जनताले दुःख पाएको भनि बिरोध जनाएका छन् ।

अहिले विहावारीको समय रहेको तथा सीमावर्ती क्षेत्रमा भारत नेपालका बीच विहावारी उल्लेख्य संख्यामा हुने गरेका कारणले नाकाम सील गरेका कारण यस्ता कार्य गर्नमा समेत समस्या उत्पन्न भएका छन् । मानिसको आवागमनले कोरोना सर्ने सम्भावना बढि रहने भएपनि अहिले सील गरेको भनिएका नाकामा मानिसको आवतजावत चालु रहनाले सवारी साधनमा मात्र आवागमन रोकेर संक्रमण नियन्त्रण हुन्छ भन्नु हास्यास्पद् नै हुनेछ ।

सप्तरीमा मानिस विरामी परेका समयमा उपचारकालागि पनि भारत जाने परम्परा रहिआएको छ । यसका साथै पठनपाठन तथा व्यापारीक प्रयोजनले पनि भारत जाने गरिएको छ । चाडबाडका बेलामा आफन्तसित भेटघाट गर्न, निमन्त्रणामा सहभागी हुन वा अन्य आवश्यक कामबाट पनि भारत तथा नेपालका बीच आवागमन हुने गर्दछ । अहिले नाकामा सील गरिएको भनिए पनि भन्सार छलेर मालसामान ओसारपसार गर्ने कार्य जारी नै छ ।

नाका सहज भए भन्सार काटेर पनि मालसामान आयात निर्यात गर्न सजिलो हुनेमा सील गरेका कारण तस्करहरु नै बढि मोटाउन थालेको सरोकारवालाहरुको तर्क रहेको छ । सरकारले नाकामा कडाई गर्न लगाएपनि चोर बाटो भएर समेत तस्करी बढ्न थालेको छ । सील गरिएको भनिएपनि भन्सार छलेर मालसामान आई नै रहेको तथा मानिसको आवागमन पनि चालु रहेका कारण सवारी साधनमाथि मात्र कडाई गर्नुको के नै पो तुक रहला र ?

बरु यसले त राजस्व संकलनमा समेत प्रतिकूल प्रभाव परिरहेको अवस्था समेतलाई ध्यानमा राखेर अहिले सीमा नाकामा गरिएको व्यवस्थाका बारेमा पुनर्बिचारको आवश्यकता देखिन्छ ।