Top_Header_Right_Add

लागुऔषधका कारोबारी बढ्दै

लागुऔषधका कारोबारी बढ्दै

सप्तरी प्रहरीले गत आइतबार हनुमाननगर कंकालनी नगरपालिकामा लागु औषधसहित दुई युवालाई पक्राउ गरेको छ । सप्तकोशी नगरपालिका निवासी उनीहरुका साथबाट बिभिन्न प्रकारका लागु औषध एक सय ५० एम्पुल तथा नगद ७० हजार समेत बरामद् भएको छ ।
प्रहरीले लागु औषधको ओसार पसारमा संलग्नहरु पक्रेको यो पहिलो घटना चाहिँ होईन । यस भन्दा पहिले पनि लागु औषध ल्याउँदै गरेका कैयौंलाई प्रहरीले पक्रेर कारवाही चलाईसकेको छ । लागुऔषधको सेवन तथा कारोबारलाई गैरकानूनी मानिएको छ र यसको नियन्त्रणकालागि प्रहरीले सक्रियता पनि देखाउँदै आएको छ । तर देशव्यापी रुपमा नै यसको कारोबार तथा सेवनकर्ताहरु बढ्ने गरेको कारणले गर्दा यो गम्भीर चिन्ताको विषय बन्न पुगेको छ । यसको सेबनका कारण बिभिन्न आपराधिक घटना हुने तथा सेवनकर्ताको जीवन नै बर्बाद पार्ने भएका कारणले यसमाथि कडा प्रतिबन्ध लगाईएको छ ।
लागुऔषधको कुलतमा फँसेकै कारण धेरै होनहार युवा वर्गको जीवन कष्टकर बनेका कारणले यसलाई पूर्ण प्रतिबन्ध लगाईन जरुरी छ । कानूनी रुपमा त यसमाथि प्रतिबन्ध लगाईएको छ । तर, कारोबारको बृद्धिका कारण कानून बनाउनका साथसाथै त्यसको कार्यान्वयनका पक्षमा पनि उत्तिकै तदारुकताको आवश्यकता बोध हुन थालेको छ । लागुऔषधका धेरै कारोबारी पक्राउ परेका छन् । तिनमाथि कानूनी कारवाही पनि भएको छ । यस्ता धेरै कारोबारी अहिले कारागारमा थुनामा रहेका छन् पनि । तथापि यसको कारोबारमा कमी आउन सकिरहेको छैन ।
कारोबारमा कमी ल्याउनकालागि जेजति कडाई गर्न जरुरी थियो त्यसमा कमी भएको भान हुन थालेको छ । प्रहरीले यस्ता कारोबारी बढी संख्यामा पक्राउ गरेको तथ्यांक सार्वजनिक गरी आफ्नो सक्रियतालाई प्रमाणित त गर्लान् । तर, यस्तो सक्रियताको परिणाममा चाहिँ सेवन तथा कारोबार गर्नेहरुको संख्या जबसम्म घट्दैन तबसम्म यसमा अझै कडाई गरिनु जरुरी रहेछ भन्ने नै मान्नु पर्दछ ।
सप्तरीमा पनि लागुऔषधको कारोबार बढ्दो क्रममा देखिन्छ । पक्राउ परेकाहरुको संख्या तथा सेवनकर्ताहरुको सक्रियताबाट यो तथ्य आफैं प्रमाणित हुने विषय हो । भारतीय नाकासित जोडिएका कारणले सीमावर्ती क्षेत्रबाट यो भित्र्याईने गरेको स्वतः सिद्ध नै छ । बारम्बार लागुऔषधसहित मानिस पक्राउ पर्न थालेपछि यसमा अझै नियन्त्रणकालागि थप सक्रियता अपरिहार्य छ । मानिस बढी पक्राउ परेका कारण कारोबारमा पनि बढोत्तरी भईरहेको छ भन्ने धारणा बनाएर यसमा अझै नियन्त्रणको खाँचो देखिन्छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer