राजविराज, ३० असोज। सप्तरीको विभिन्न स्थानमा विगत २४ घण्टाभित्र भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । ४ जना घाईते भएका छन् ।
खडक नगरपालिका – ५ रंजितपुरमा विहिवार राती मोटरसाईकलको ठक्करवाट पैदल यात्रीको मृत्यु भएको छ । पश्चिम जाँदै गरेको को ३१ प ८८४२ नम्वरको मोटरसाईकलले नाम ठेगाना नखुलेका करिव ४५ वर्षिय पुरुषलाई ठक्कर दिएको थियो । पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नाम ठेगाना नखुलेका करिव ३८ वर्षिय मोटरसाईकल चालकलाई पनि टाउको तथा शरिरका विभिन्न भागमा चोट लागेको छ। गम्भिर अवस्थामा खरचुहियामा उनको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, विहिवार साँझ साढे ७ वजे खडक नगरपालिका–११ वनौली स्थित भित्री सडकखण्डमा दुई वटा मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाईते भएका छन् ।
पुर्व जाँदै गरेको स८प ८४४१ को मोटरसाईकल र पश्चिम जाँदै गरेको प्र.२–०१००१ प.३७०१ नम्वरको मोटरसाईकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा स८प ८४४१ नम्वरको मोटरसाईकलमा पछाडि वसेका डाकनेश्वरी नगरपालिका १० वनौलीका ३० वर्षिय हकिम राईनको मृत्यु भएको छ भने चालक वनौलीकै २२ वर्षिय गुडु अन्सारी गम्भिर घाईते भएका छन्। उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
यसैगरी, प्र.२–०१००१ प.३७०१ नम्वरको मोटरसाईकलका चालक डाकनेश्वरी ९ विसहरीया वस्ने २८ वर्षिय नरेश साहको मृत्यु भएको छ भने उनकी पत्नि २६ वर्षिया सुनिताको अवस्था गम्भिर छ ।दुर्घटनामा घाईते भएका दुवै जनालाई उपचारका लागि विराटनगर पठाईएको प्रहरीले जनाएको छ ।
यस्तै, विहिवार दिउँसो करिव ३ वजे कञ्चनपुर–फत्तेपुर सडकखण्डको कञ्चनरुप नगरपालिका ६ मलेठमा मोटरसाईकलले साईकललाई ठक्कर दिदा साईकल यात्री वालकको मृत्यु भएको छ ।फत्तेपुरतर्फ जाँदै गरेको स९प ६६३१ को मोटरसाईकलले वाटो काट्ने क्रममा रहेको साईकललाई ठक्कर दिएको थियो। मोटरसाईकलको ठक्करवाट स्थानीय वद्री ठाकुरका छोरा १५ वर्षिय आषिस ठाकुर गम्भिर घाईते भएका थिए ।
उपचारका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल भनाई गरिएका वालकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक सप्तकोशी नगरपालिका–५ का २४ वर्षिय राजकुमार मण्डललाई उपचारका लागि विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।