• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

दलितमाथि भएका हत्या, हिंसा र बलात्कारका दोषीलाई कारवाही गर्न माग गर्दै राजविराजमा प्रदर्शन

दलितमाथि भएका हत्या, हिंसा र बलात्कारका दोषीलाई कारवाही गर्न माग गर्दै राजविराजमा प्रदर्शन

राजविराज, २९ असोज। दलित समुदायका व्यक्तिमाथी हत्या, हिंसा र बलात्कारका घटना वढेको तथा हिरासतमा राखेर पनि यातना दिने गरिएको भन्दै विहिवार सप्तरी सदरमुकाममा दलितका विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा प्रदर्शन गरेका छन् ।

मुलुक भर भएका हत्या, हिंसा, बलात्कार र कुटपिटका घटनामा संलग्न दोषिहरुलाई विभिन्न बहानामा उन्मुक्ति दिएको विषयमा उनीहरुको आपत्ति छ ।

संयुक्त दलित संघर्ष समिति सप्तरीको अगुवाईमा भएको प्रदर्शनमा ‘दलितमाथीको हत्या, हिंसा बन्द गर, जातिय विभेद अन्त्य गर, दलितमाथी भएको हत्या, हिंसाका घटनाहरुको सत्यतथ्य सार्वजनिक गर’ लगायतका नारा लगाईएको छ । विभिन्न नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरेका उनीहरुले राजरंगशालामा पुगेर बिरोध सभा गरे ।

विरोध सभाका वक्ताहरुले दलित समुदायलाई राजनीतिक दलले भोट वैंकको रुपमा मात्रै प्रयोग गरेको भन्दै आपत्ति जनाए । चुनावको बेला हात जोडदै आउने नेताहरुल्े मुलुकका विभिन्न ठाउँमा दलित समुदायमाथी भएको हत्या, हिंसा, कुटपिट र बलात्कारका घटनाप्रति कुनै चासो नदेखाएको भन्दै उनीहरुले आक्रोस ब्यक्त गरेका छन् । अवका दिनमा त्यस्ता नेताहरुलाई ठिक पार्ने चेतावनी समेत उनीहरुले दिए ।

संयुक्त दलित संघर्ष समितिका अध्यक्ष प्रथमलाल रामको अध्यक्षता तथा पूर्वसभासद् असर्फी सदाको प्रमुख आतिथ्यमा आयोजित बिरोध सभालाई बहुजन समाज परिषद्का अध्यक्ष हरिनन्दन रन्जन, राजाराम पासवान, राजेश बिद्रोही, युक्तिलाल मरिक, तुलसी सदा, मनोज राउत लगायतले सम्वोधन गरेका थिए।