• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

विद्यालय ब्यवस्थापन समितिका अध्यक्षद्वारा प्रअमाथि कुटपिट

विद्यालय ब्यवस्थापन समितिका अध्यक्षद्वारा प्रअमाथि कुटपिट

राजविराज, २९ असोज। सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका प्रधानाध्यापक भुपेन्द्रकुमार साहमाथि विहिवार कुटपिट भएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चित्तरन्जन यादव र सदस्य संजीव कुमार यादवले साहलाई कुटपिट गरेका हुन् ।

विपन्न लक्षित छात्रवृति वितरणको विषयलाई लिएर प्रअ साह माथि कुटपिट भएको हो । प्रअ तथा दुई जना महिला शिक्षक माथि हातपात गरेको आरोपमा प्रहरीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्य दुवैलाई पक्राउ गरेको छ ।

कुटपिट गर्ने अध्यक्ष र सदस्यले छात्रवृति वितरणमा प्रअले मनपरी गरेको आरोप लगाएका छन् । तर प्रअ साहले भने छात्रवृत्ति वितरणको विषय वहाना मात्रै भएको वताउँदै नियम विपरित उनीहरुले गर्न खोजेका गलत काममा सहयोग नगरेका कारण आफु माथि कुटपिट भएको वताए ।

‘विपन्न लक्षित छात्रवृत्तिमा विद्यालयको कुनै हात हुँदैन, अनलाई फारम भरेका विद्यार्थी मध्येवाट शिक्षा मन्त्रालयले नै छनौट गर्ने हो’ उनले भने–‘त्यो विषय वहाना मात्रै हो, कुटपिट गर्नु पर्ने अरु नै धेरै कारण छन् ।’

विद्यालयका प्रअ सुर्यनारायण यादवको गत भदौ ७ गते हृदयघातका कारण निधन भएपछि नियम अनुसार दरवन्दिमा भएको वरिष्ठ शिक्षकको हिसावले आफु निमित्त प्रअ भएको वताएका उनले यहि समयमा अन्यत्रवाट प्रअ सरुवा गरेर ल्याउने उनीहरुको षडयन्त्रमा सहयोग नगर्दा आफुमाथि कुटपिट भएको दावी गरे ।

खुरहुरीयामै घर भएका कटैया फत्तेपुर मावीका प्रअ विरेन्द्रकुमार यादवलाई सुरुवा गरेर ल्याउन उनीहरुले पहल गरिरहेको र आफुहरुले असहमति जनाएपछि समस्या उत्पन्न भएको उनले जानकारी दिए । विरेन्द्र यादवले सरुवाको सहमतिका लागि विद्यालयमा निवेदन समेत दिएको र ब्यवस्थापन समितिले सहमति समेत दिएको उनले वताए । तर, नियम विपरित दिएको सहमतिमा शिक्षकहरुले असहमति जनाएपछि उनीहरु आक्रोसमा आएर विभिन्न वहानामा भौतिक आक्रमणमै उत्रिएको उनको भनाई छ ।

विहिवार अचानक आफु माथि कुटपिट भएको र वचाउन आएका महिला शिक्षकहरु भुवनेश्वरी साह र सिखा देवलाई पनि हातपात गरेको उनको आरोप छ ।

विद्यालयमा कुटपिट र होहल्ला भएपछि प्रहरीले आफुहरु सहित ५ जनालाई नियन्त्रण गरी जिल्ला प्रहरी कार्यालय पुर्याएको उनले जानकारी दिए । प्रअ साह र दुई महिला शिक्षकलाई जनता मावी कनकट्टाका प्रअले जमानतमा छुटाएका छन् ।

कुटपिटमा संलग्न अध्यक्ष र सदस्यलाई भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको इन्स्पेक्टर रामसागर सिंहले वताए ।