• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नदिजन्य समस्यामा राष्ट्रिय सभा सदस्य सिंहको चासो

समस्या समाधानका लागि पहल गर्न स्थलगत अवलोकन
नदिजन्य समस्यामा राष्ट्रिय सभा सदस्य सिंहको चासो

राजविराज, २९ भदौ । सप्तरीको पश्चिमी भेगका दुई ठूला नदीहरुको कारण बर्सेनी हुँदै आएको क्षतिको अवस्था बुझी समस्या समाधानको लागि पहल गर्न राष्ट्रिय सभाका सदस्य शेखरकुमार सिंहले स्थलगत अवलोकन निरीक्षण गरेका छन्।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समन्वय समितिका सदस्य समेत रहनु भएका साँसद सिंहले सप्तरीको बोदे बर्साइन नगरपालिकाको पूर्वी सिमानामा रहेको खड्क नदी र पश्चिमी सिमानामा रहेको बिहुल नदीको स्थलगत अवलोकन निरीक्षण गरेका हुन्।

उक्त दुवै नदीको कारण बोदे बर्साइन नगरपालिकाको दुई सय विघाभन्दा बढी जमीनमा बालुवा थुपार्ने तथा कटान हुँदै आएको छ । वडा नं. २,५,७ र १० खड्क नदीबाट र वडा नं. १, ६ र ८ गरी सात वटा वडाहरु बर्सेनी प्रभावित बन्दै आएको बोदे बर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादवले समितिका सदस्य साँसद सिंहलाई जानकारी गराए।

दुई ठूला नदीको बीचमा पर्ने नगरपालिकाका जनताको बर्षायाममा जीवन कष्टप्रद बन्दै आएको बताउँदै मेयर सिंहले हरेक बर्ष बर्षायाममा दशदेखि पन्द्रह वटा गाउँहरु प्रभावित बन्दै आएको जानकारी दिए।

बिहुल नदीको बाढीको कारण कोशी पश्चिमी नहरसमेत भत्किएको छ । बिहुल नदीको पूर्वी र पश्चिमी भागमा नहर भत्किएको हो । सो क्रममा उनले खड्क नदीमा निर्माणाधिन पुलको समेत निरीक्षण गरे।

राष्ट्रिय सरोकार समन्वय समितिका सदस्य साँसद सिंहले नगरपालिकाका वडा अध्यक्षहरुसँग समेत नदीहरुको कारण उत्पन्न समस्याहरुको बारेमा छलफल गरे । सो क्रममा उनले आफ्नो समितिमार्फत नदीबाट उत्पन्न समस्याहरुको ठोस समाधानकालागि सरकारको ध्यानाकर्षण गराउने बताए।

सप्तरीस्थित विभिन्न नदीहरुको कारण जनताले भोग्दै आएको समस्याहरुको बारेमा बुझ्न स्थलगत अवलोकन निरीक्षण अभियानै सञ्चालन गर्नुभएका राष्ट्रिय सभा सदस्य सिंहले यसअघि सप्तकोशी नगरपालिका, तिरहुत गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकामा नदीले पार्दै आएको प्रभावको स्थलगत निरीक्षण गरेका थिए।

सो क्रममा उहाँले त्रियुगा, मयुरनी, बन्द्राहा, अमहा, गंगाजली, सप्तकोशी, महुली, जिता लगायतका दर्जनबढी नदीहरुको कारण बर्सेनी हुँदै आएको डुबान, कटान तथा बालुवा थुपार्ने समस्याको स्थलगत निरीक्षण गरेका थिए ।

राष्ट्रिय सभा सदस्य सांसद शेखरकुमार सिंहले कोशी क्षेत्रको जनताको पीडालाई आफूले संसदमा उठाउँदै आएको र अझ बलियो ढंगले प्रस्तुत गरी सम्बोधन गराउन स्थलगत अवलोकन निरीक्षण अभियान सञ्चालन गरिएको जानकारी दिए।

कोशी नदीको कारण पनि सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका प्रभावित बन्दै आएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिका महुली खोलाको कारण समेत पीडित बन्दै आएको छ ।

सो अवलोकन निरीक्षण टोलीमा पूर्व साँसद सूर्यनाथ प्रसाद यादव, जसपाका २ नम्बर प्रदेश सचिव दिनेशकुमार यादव, जिल्ला अध्यक्ष केदार यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह सहभागी थिए ।