• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कोरोना संक्रमित मृतकको दुधैला खोलामा गरियो शव ब्यवस्थापन

कोरोना संक्रमित मृतकको दुधैला खोलामा गरियो शव ब्यवस्थापन

वृजमान तामाङ्ग
विरेन्द्र वजार, २८ साउन । कोरोना संक्रमणका कारण मंगलवार साँझ मृत्यु भएका डाकनेश्वरी नगरपालिका ८ का ७९ वर्षिय वृद्धको वुधवार शव ब्यवस्थापन गरिएको छ । उनी राजविराज नगरपालिका–६ सिरहा रोडमा वसोवास गर्दै आएका थिए ।

वुधवार रुपनी गाउँपालिका ६ स्थित दुधैला खोलामा उनको शव ब्यवस्थापन गरिएको हो । शव ब्यवस्थापनका क्रममा स्थानीयले विरोध गरेका थिए । तर, कडा सुरक्षा घेरामा वृद्धको शव ब्यवस्थापन गरिएको रुपनी–६ का वडाध्यक्ष गोबिन्द सिंह थापा मगरले बताए । ‘हामीले शव फिर्ता लैजान आग्रह गर्यौ तर सुनुवाई भएन’ अध्यक्ष मगरले भने–‘माथिको आदेश छ भन्दै उनीहरुले आफ्नै तरिकाले काम गरे ।’

स्थानीयले विरोध गर्न थालेपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको घेरा वनाएर वाटो अवरोध गरिएको थियो । मानिसको आवत जावत वन्द गराएर चर्चित शनि मन्दिर जाने बाटोमा शव ब्यवस्थापन गरिएको स्थानीयले जानकारी दिए ।

रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले पनि प्रशासनले कुनै जानकारी नै नदिई आफनो गाउँपालिका क्षेत्रमा संक्रमित ब्यक्तिको शव ब्यवस्थापन गरेको भन्दै विरोध जनाए । जुन ठाउँको बासिन्दा हो सोहि पालिकामा शव ब्यवस्थापन गर्नु पर्नेमा स्थानीय सरकारसँग समन्वय नै नगरी जथाभावी गर्नु दुःखद भएको उनले बताए ।

शव ब्यवस्थापनका क्रममा संचारकर्मीहरुलाई फोटो खिच्न समेत रोक लगाईएको थियो ।