• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कोरोना महामारी र गजेन्द्रनारायण सिंह अस्पतालमा नमिलेको तालमेलः संक्रमणको दर उच्च, जनशक्ति न्युन

१ सय २४ वेडको अस्पतालमा आईसोलेसन थप
५० वेडको जनशक्ति, अधिकांश करार
कोरोना महामारी र गजेन्द्रनारायण सिंह अस्पतालमा नमिलेको तालमेलः संक्रमणको दर उच्च, जनशक्ति न्युन

राजविराज, १८ साउन । सप्तरीमा कोरोना संक्रमणको दर उच्च छ। पछिल्लो हरेक दिन कोरोना संक्रमित हुनेको संख्या वढ्दै गईरहेको छ। आईतवार साँझसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय २४ छ भने कोरोनाकै कारण मर्नेको संख्या एक छ।

जिल्लामा ९ नगरपालिका सहित १८ स्थानीय तह छन् । तिमध्ये दुई स्थानीय तहमा कोरोना संक्रमण समुदायमै फैलिएको छ । समुदायमा संक्रमण फैलिएको राजविराज नगरपालिकामा ८२ र तिलाठि कोईलाडि गाउँपालिकामा ७९ जना संक्रमित छन् ।

कोरोना संक्रमितको उपचार र रेखदेखका लागि सदरमुकाम राजविराजमा १ सय ७८ वेडको आईसोलेसन संचालनमा छ। गजेन्द्रनारायण सिंह अस्पताल अन्तर्गत संचालनमा रहेको आईसोलेसनमा यति वेला थामिनसक्नुको चाप छ । आईसोलेनसनमा हालसम्म ४६ महिलासहित ४७२ जना भर्ना भईसकेका छन् । ति मध्ये ३४० जना उपचार पछि डिस्चार्ज भएका छन् भने अहिले पनि १ सय ३१ जना संक्रमित आईसोलेसनमा छन् ।

मानिसको चाप वढ्दै जाँदा यदाकदा आईसोलेसनमा विवाद पनि हुने गरेको छ। खानाको गुणस्तर, वस्ने ठाउँको अवस्था र सरसफाईको दुरावस्थाका विषय आईसोलेसनमा सुरु देखि नै सुनिदै आएका विषय हुन । त्यसैसँग जोडिएर आउने गरेको अर्को विषय हो–‘विरामीको हेरचाह र औषधी उपचार।’ स्वास्थ्यकर्मीहरु नियमित चेकजाँचमा नआउने, पटक–पटक फोन गरेपछि आएका स्वास्थ्यकर्मीले पनि रुखो ब्यवहार गर्ने लगायतका गुनासो पछिल्लो समय संक्रमितहरुले गर्न थालेका छन् । औषधी नै नदिएको भन्दै गुनासो गर्नेको संख्या पनि छन् ।

यस विषयमा गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीतकुमार झाले भने अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुँदा हुँदै पनि आईसोलेसनका लागि एक सिफ्टमा डाक्टरसहित १६ जना स्वास्थ्यकर्मीको टोली परिचालन भईरहेको जनाएका छन् ।

आईसोलेसनको प्रत्येक सिफ्टमा २ जना डाक्टर, ३ जना नर्स, २ जना ल्याव स्टाफ, १ जना मेडिकल रेकर्डर, ४ जना अफिस हेल्पर, १ जना भान्से, १ जना विजुली मिस्त्री र १ जना ड्राईभरसहित १५ जना स्टाफ परिचालन भईरहेको उनको भनाई छ ।

विरामीले औषधी नदिएको गुनासोका विषमा भने उनले भने–‘संक्रमित भन्ने वित्तिकै औषधी दिने र सिरिन्ज खोपी हाल्ने भन्ने कुरा हुँदैन, अहिलेसम्म त्यस्तो अवस्था पनि आएको छैन। आवश्यक्ता पर्दा उनीहरुले पर्दैन भन्दा पनि स्वास्थ्यकर्मीले आफनो काम गर्छन ।’

१ सय ७८ वेडको आईसोलेसन र अस्पताल धान्न कति छ जनशक्ति ?
गजेन्द्रनारायण सिंह अस्पताल (तत्कालिन सगरमाथा अञ्चल अस्पताल) निकै अघिसम्म ५० वेडमा संचालन थियो । तर, तत्कालिन सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो स्वास्थ्यमन्त्री हुँदा अस्पतालाई १ सय वेडको वनाउने भन्दै प्रकृया सुरु भयो । यति मात्र होईन, महतो आफै आएर २०६८ साल चैत २५ गते ‘थप ५० वेड भवनको उद्घाटन’ पनि गरे।

पहिलादेखि नै सञ्चालनमा रहेको ५० र महतोले उद्घाटन गरेको ५० वेडसहित अस्पताल १ सय वेडमा सञ्चालन भयो । यति मात्र होईन, हाल गजेन्द्रनारायण सिंह अस्पतालको सेवा १२४ वेडमा संचालनमा छ। तर, सरकारले अहिले पनि ५० वेड वाहेकको अनुमति दिएको छ। जनशक्ति पनि सोहि अनुसार ब्यवस्थापन हुँद आएको निमित्त मेसु झा वताउँछन् । त्यस मध्येमा पनि दरवन्दि अनुसारको आधा जनशक्ति अभाव छ।

अस्पताल प्रशासनका अनुसार कुल १ सय १ जनाको दरवन्दि मध्ये हाल ५१ जना मात्रै उपलब्ध छन् । ५० जना स्वास्थ्यकर्मी र कर्मचारीको अभाव अभाव छ । यहि अभाव पुरा गर्न सरकारले १६ चिकित्सक सहित ६७ जना स्वास्थ्यकर्मी/कर्मचारी करारमा नियुक्त गरेको छ । यसैगरी, स्थानीय तहको सहयोगमा ४ चिकित्सकसहित १२ र विकास समिति मार्फत १ चिकित्सक सहित ६५ जना स्वास्थ्यकर्मी र कर्मचारी नियुक्त गरिएको मेसु झाले वताए ।

हाल १५ विशेषज्ञ चिकित्सक र १५ मेडिकल अधिृतसहित विभिन्न निकायवाट करारमा नियुक्त गरिएका स्वास्थ्यकर्मी र कर्मचारीको भरमा सेवा संचालन गर्नु परिरहेको उनले वताए । ५० वेडको अस्पतालका लागि उपलब्ध जनशक्तिले १ सय २४ वेडको अस्पताल संचालन गर्न नै हम्मे–हम्मे परिरहेका वेला थप १ सय ७८ वेडको आईसोलेसन संचालन गर्नु पर्दा सिङ्गो टिम दवावमा काम गरिरहेको उनले वताए । ‘संख्यात्मक रुपमा हामी त्यसै पनि कम छौं, त्यसमाथि १ सय ७८ वेडको थप जिम्मेवारी पनि छ’ उनले भने–‘यस्तै अवस्था रहने हो भने अस्पताल र आईसोलेसन दुवै तर्फको सेवा प्रभावित हुन सक्छ ।’

असार मसान्तपछि करारमा रहेका स्वास्थ्यकर्मी र कर्मचारीको करार नविकरण नभएकाले ब्यक्तिगत रुपमा भरोसा दिलाएर उनीहरुलाई काममा पठाउने गरिएको झाले जानकारी दिए । ‘जसको जागिरकै ग्यारेन्टी छैन उसैलाई फकाएर काममा पठाउनु परिरहेको छ’ उनले भने–‘यस्तो अवस्थामा अस्पतालको नियमित सेवा र आईसेलनको जिम्मेवारी कसरी पुरा होला।’

भएका पनि ५ जना आईसोलेसन र १४ जना क्वारेन्टाईनमा
यसै विचमा ५ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई पनि कोरोना संक्रमण भएको छ । भएकै जनशक्ति पनि कोरोना कारण आईसोलेसनमा जाने क्रम वढिरहेकाले थप समस्या हुँदै गएको झाको भनाई छ । आईतवारसम्म ३ जना पारामेडिक्स, १ जना नर्सिङ्ग स्टाफ र १ जना स्विरलाई कोरोना संक्रमण पुष्टि भईसकेको उनले जानकारी दिए ।

यसैगरी, केहि दिनअघि इमर्जेन्सी वार्डमा उपचार गराईरहेका एक विरामीमा कोरोना पोजेटिभ देखिएपछि १४ जना स्वास्थ्यकर्मी क्वारेन्टाईनमा छन् । उनीहरु अहिले पनि क्वारेन्टाईनमै रहेकाले अन्य वार्डवाट स्वास्थ्यकर्मी ब्यवस्थापन गरी सेवा प्रवाह गर्नु परेको उनले सुनाए ।

सरकारसँग जनशक्ति माँग
अस्पताले आफनो नियमित सेवा र आईसोलेसन संचालनका लागि थप जनशक्ति उपलब्ध गराउन संघ र प्रदेश सरकार समक्ष माग गर्दै आएको छ । तर, त्यो विषय हालसम्म पनि सुनुवाई नभएको मेसु झा वताउँछन् ।

कोरोना संक्रमणको असर, वाढि पहिरोको जोखिम तथा त्यसको रोकथाम र नियन्त्रणका विषयमा जानकारी लिन गत साउन १२ गते राजविराज आएका प्रदेश २ का मुख्यमन्त्री लालवावु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साह समक्ष पनि उनले यो समस्या सुनाएका थिए ।

‘अहिले रहेको जनशक्तिका भरमा अस्पतालको सेवा र १ सय ७८ वेडको आईसोलेसन संचालन गर्न समस्या भयो’ उनले भनेका थिए–‘‘महिनौदेखि पैसा नआएर तलव समेत दिन सकेको छैन, तलवको ग्यारेन्टि नै नभएका करारका कर्मचारीलाई अस्पताल र आईसोलेसन जा भनेर पठाउनु पर्दा गाह्रो भएको छ।’

सधैं जनशक्तिको अभाव भोग्दै आएको अस्पतालमा सेवाको चाप वढ्दै गएपछि जसोतसो सेवा संचालन गर्नु परिरहेको उनले वताए ।