राजविराज, १६ गते। संघीय सरकारले साउन ७ गतेदेखि लागु हुनेगरी लकडाउन खुल्ला गर्ने निर्णय गरेपछि सप्तरीमा भने स्थानीय तहले आफै निर्णय गरेर नगर/गाउँपालिकावाट प्रवाह हुने सार्वजनिक काम वन्द गर्न थालेका छन् ।
जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै गएपछि थप जोखिम आउन नदिन स्थानीय तह स्वयम् अग्रसर भएका हुन् । यसैक्रममा कञ्चनरुप नगरपालिकाले शुक्रवार सुचना प्रकाशन गरी सार्वजनिक सेवा वन्द गरेको छ । निमित्त प्रमुख प्रशासकिय अधिकृतले जारी गरेको सुचनामा साउन १८ गतेदेखि लागु हुने गरी अनिश्चित कालका लागि सेवा वन्द रहने जनाईएको छ ।
विश्वब्यापी रुपमा फैलिरहेको कोरोना संक्रमण समुदायमा फैलिने सम्भावनालाई मध्य नजर गर्दै उच्च जोखिम न्यूनिकरणका लागि नगरपालिका र वडा कार्यालयहरु समेतवाट प्रवाह हुने सार्वजनिक सेवा वन्द गरिएको जनाईएको छ ।
यसैगरी, शनिवार देखि नै लागु हुनेगरी नगर क्षेत्रभित्रका हटिया, गुद्री र वजार वन्द गरिएको छ ।
कञ्चनरुप, वरमझिया, पोटरी, वलुवा, रुपनगर, वरहठ्ठा, सिमरा, वक्साह, वेङरी र महादेवपट्टी लगायतका स्थानमा लाग्ने हटिया, वजार र गद्री वन्द गरिएको नगरपालिकाले जनाएको छ । अर्को सुचना नभएसम्मका लागि वजार वन्द गरिएको हो ।
नगरपालिकाले अत्यावश्यक काम वाहेक घरवाट वाहिर ननिस्किन र निस्किनै परेर अनिवार्य रुपमा मास्क लगाउन, सावुन पानीले हात धुन पनि नागरिकलाई आग्रह गरेको छ । कञ्चनरुप नगरपालिकामा हालसम्म ५ जनालाई कोरोना संक्रमण भएको छ भने २ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
विभिन्न स्थानमा गरी करिव २० जना अहिले पनि क्वारेन्टाईनमा रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
यसैगरी, राजगढ र अग्नीसाइर कृष्णसवरण गाउँपालिकाले मंगलवारदेखि नै अनिश्चितकालका लागि सार्वजनिक सेवाहरु बन्द गरेका छन् ।
राजगढ गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले सुचना जारी गरी अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेको जनाएका छन् । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमण समुदायमा फैलिने सम्भावनालाई मध्यनजर गर्दै उच्च जोखिम न्यूनिकरणका लागि गाउँपालिका र वडा कार्यालय समेतबाट प्रवाह हुने सार्वजनिक सेवा बन्द गरिएको सूचनामा उल्लेख छ ।
अग्नीसाइर कृष्णसवरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादवले समुदाय स्तरमा कोरोना संक्रमण फैलिन सक्ने भएकाले गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको जनाए ।
गाउँपालिकाले बजार÷पसल वन्द गर्न र भीडभाड नगर्न अनुरोध गरेको छ ।
राजविविराज नगरपालिकाले ६ गतेदेखि नै पुर्ण लकडाउनको घोषण गरेको छ भने जिल्ला सुरक्षा समितिले साउन ८ गतेखि नै राजविराज नगर क्षेत्रमा अनिश्चितकालिन निशेधाज्ञा जारी गरेको छ ।
सप्तरीमा हालसम्म कोरोना संक्रमितको संख्या ४ सय ७१ पुगेको छ । विहिवार साँझ आएको रिपोर्टमा ५ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि यो संख्या ४ सय ७१ पुगेको हो । विहिवारको रिपोर्ट अनुसार प्रदेश प्रहरी तालिम केन्द्र राजविराजका ३० वर्षीय प्रहरी हबल्दार, राजविराज–६ का ४५ वर्षकी महिला, उमेर नखुलेका एक पुरुष र वडा नं. नखुलेका २७ र २८ वर्षका पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।