• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कोशी अस्पतालमा परिक्षण गरिएका सप्तरीका दुई जनामा देखियो कोरोना संक्रमण

गजेन्द्रनारायण सिंह अस्पतालको रिपोर्ट आजै आउने
कोशी अस्पतालमा परिक्षण गरिएका सप्तरीका दुई जनामा देखियो कोरोना संक्रमण

राजविराज, १५ साउन। सप्तरीमा विहिवार दुई जना कोरोना संक्रमित थपिएका छन् ।

विराटनगर स्थित कोशी अस्पताल प्रयोगशालामा गरिएको परिक्षणका क्रममा खडक नगरपालिका १० का ५६ वर्षिय पुरुष र २२ वर्षिय महिलाको रिपोर्ट पोजेटिभ आएको छ । कोशी अस्पतालको साउन १२ गतेको रिपोर्ट ढिलो गरी प्राप्त भएको हो । यो सँगै सप्तरीमा संक्रमितको संख्या ४६६ पुगेको छ ।

यस अघि नै संक्रमितको संख्या ४६६ पुगे पनि त्यस मध्ये पहिला नै गणना भएका २ जनालाई दोस्रो पटक कोरोना संक्रमण भएको पाईएपछि जम्मा संख्या ४६४ कायम गरिएको थियो । पछिल्लो पटक दुई जनाको रिपोर्ट पोजेटिभ आएपछि जम्मा संख्या ४६६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले वताए ।

यता, गजेन्द्रनारायण सिंह अस्पतालमा संचालनमा रहेको प्रयोगशालाको रिपोर्ट आउन वाँकी छ । गत मंगलवार दिउँसो सार्वजनिक भएपछि अर्को रिपोर्ट आएको छैन । मंगलवारको रिपोर्टमा शम्भुनाथ नगरपालिका ३ का ३६ वर्षिय पुरुष, वोदेवरसाईन नगरपालिका ५ का २४ वर्षिय पुरुष, वडा नं. ८ का १८ र २६ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीकुमार झाले आज साँझसम्ममा एक चरणको रिपोर्ट निकाल्ने गरी परिक्षण भईरहेको वताए । करिव साढे ३ सय ब्यक्तिको स्वाव एकै पटक परिक्षण भईरहेको जानकारी दिएका झाले सस्पेक्ट देखिएका केसलाई दोहोर्याएर परिक्षण गर्नु परेका कारण रिपोर्ट सार्वजनिक गर्न ढिलो भएको वताए ।

‘कामको रफ्तारमा कुनै कमी भएको होईन, रिपोर्ट आउन मात्रै विलम्व भए जस्तो भएको हो’ उनले भने–‘कतिपय केसलाई दोहोर्याएर परिक्षण गर्नु परेको छ । आज एक चरणको रिपोर्ट आउने गरी हामी काम गरिरहेका छौं ।’