• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

उप–सभामुख देवको विकासीय योजनाहरुको अनुगमन

उप–सभामुख देवको विकासीय योजनाहरुको अनुगमन

राजविराज, २२ असार । प्रदेश नम्वर–२ का उप–सभामुख उपमा देवको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सप्तरी क्षेत्र नम्बर २ मा सञ्चालित योजनाहरुको एक टोलीले अनुगमन गरेको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा सञ्चालनमा रहेका योजनाहरुको सोमवार सञ्चारकर्मीसहितको टोलीद्वारा अनुगमन गरिएको हो । क्षेत्र नम्बर २ को ९ वटा स्थानमा ती योजनाहरु सञ्चालित रहेको पाइएको छ । जसअनुसार राजविराज नगरपालिका वडा नम्बर ९ स्थित मलेठ–बिहारपुर–नटियाहा बाँसदेखि पहडिया टोलसम्मको बाटोमा कल्भर्ट तथा माटो कार्य, तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ६ बभनगामास्थित नयाँ पोखरीको महिला स्नान घर तथा घाट निर्माण, राजविराज नगरपालिका वडा नम्बर १० मुसहरीटोलस्थित अधुरो सामुदायिक भवनको मर्मत सम्भार कार्य सञ्चालित छन् ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमका प्रतिनीधि रामनारायण देवले दिएको जानकारी अनुसार राजविराज नगरपालिका वडा नम्बर १५ मुसहरनियाँ टोलस्थित अधुरो शिव मन्दिर निर्माण कार्य, राजविराज नगरपालिका वडा नम्बर १ शिवथानटोल स्थित लक्ष्मण यादवको घरदेखि मिश्रीलाल यादवको घरसम्मको बाटोमा माटो तथा ग्राभेल कार्य सञ्चालित छन् । छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ खुदिबखारीस्थित ब्रह्मबाबा मन्दिरको प्रांगणमा रामजानकी मन्दिर निर्माण कार्य, राजविराज नगरपालिका वडा नम्बर ८ र ९ रुपनी रोडस्थित राधाकृष्ण मन्दिरमा रंगरोगण तथा नाला निर्माण कार्य सञ्चालित रहेको छ भने निर्वाचन क्षेत्र नम्बर २ भित्र खानेपानीका लागि ट्युवेल जडान गरिएको छ ।
प्रदेश २ का उप–सभामुख उपमा देवको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत ती योजनाहरुमध्ये अधिकांशको कार्य अन्तिम चरणमा रहेको अनुगमनका क्रममा पाईएको छ ।