• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीको राजविराजमा ४ जनामा कोरोना पोजेटिभ, संक्रमित संख्या ३३ पुग्यो

सप्तरीको राजविराजमा ४ जनामा कोरोना पोजेटिभ, संक्रमित संख्या ३३ पुग्यो

राजविराज, १५ जेठ । सप्तरी जिल्लामा विहीबार साँझसम्मको प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ३३ पुगेको छ ।
राजविराज नगरपालिकाका ४ जना युवामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ३३ पुगेको हो । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार संक्रमितहरुको उमेर २० देखि २६ वर्ष रहेको छ । उनीहरु दश दिन अघि खुल्ला सिमाना भएर भारतबाट आएका थिए । यस अघि विहीबारै बोदेवर्साइन नगरपालिकामा एकै दिन १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बोदेवर्साइन नगरपालिकामा मात्रै संक्रमितको संख्या २१ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । स्थानीय चन्द्रा शत्रुध्न माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दैआएका १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरुको उमेर ४० वर्ष मुनि रहेको छ ।
स्वास्थ्य कार्यालय सप्तरीबाट खटिएको टोलीले ९ दिन अघि उक्त क्वारेन्टाइनमा बस्दैआएका २४ जनाको स्वाब संकलन गरी परीक्षणकालागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो । उनका अनुसार संक्रमितहरुको पहिचान भईसकेकाहरुलाई आइसोलेसनमा राख्नकालागि राजविराज ल्याउने तयारी भईरहेको छ । संक्रमितहरुमध्ये एक सुरक्षाकर्मी समेत रहेका छन् । उनी सोही क्वारेन्टाइनमा डियुटी गर्दैआएका थिए । अन्य ११ जना करिब दुई साता अघि खुल्ला सिमाना भएर भारतबाट आएका थिए ।
स्वास्थ्य कार्यालयबाट खटिएको टोलीद्वारा विभिन्न स्थानबाट संकलन गरिएका ३ सय ६६ जनाको स्वाब परीक्षण रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिएका छन् । उनका अनुसार जेठ २ देखि स्थानीय तहहरुमा रहेका क्वारेन्टाइनहरुबाट संकलन गरि परीक्षणकालागि धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ ।
यसैगरी जिल्लाको बलान विहुल गाउँपालिकामा ३, डाक्नेश्वरी नगरपालिका ३, विष्णुपुर गाउँपालिका १, सुरुङ्गा नगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेको छ । उनीहरुलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा राखेर उपचार भईरहेको मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।