• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

यस्तो छ रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको राम कहानी

आएको बजेट पनि फिर्ता हुँदै, परेन नीति तथा कार्यक्रममा, निर्देशकले दिए राजिनामा
यस्तो छ रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको राम कहानी

श्यामसुन्दर यादव
राजविराज, ७ जेठ । सप्तरीको राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन हुने विषय अन्योलग्रस्त बन्न पुगेको छ ।
दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा प्रतिष्ठानलाई समावेश नगरेपछि प्रतिष्ठान सञ्चालन हुने विषय अन्यौलग्रस्त बन्न पुगेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ को प्रदेशसभालाई २०७५ भदौ १ गते सम्बोधनका क्रममा समेत राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने घोषणा गरेका थिए । प्रधानमन्त्री ओलीको घोषणासँगै तत्कालिन उप–प्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवको पहलमा २०७६ पुस १७ गतेको बैठकले प्रतिष्ठान’ स्थापना गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार प्रतिष्ठानकालागि उपयुक्त जग्गा खोजी कार्य थालिएको थियो । राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले शुरुमा बिरौल, मलेठ र कोशी कोलोनीको जग्गाको प्रस्ताव सुझाएका थिए । यद्यपी सम्भाव्यता अध्ययन टोलीले राजविराज वडा नम्वर–१० बिरौल स्थितको ६१ बिगहा क्षेत्रफलको जग्गा चयन गरेको थियो ।
नेपाल सरकारले गठन गरेको ७ सदस्यीय सम्भाव्यता अध्ययन समितिले २०७६ वैशाख ६ गते स्थलगत भ्रमण गरी उक्त विषयमा प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । शैक्षिक, प्रशासनिक, आवास, कवर्ड हल बगैँचा स्वीमिङ्ग पुल लगायतका संरचनाहरू निर्माण हुने अध्ययन समितिका संयोजक समेत रहेका चिकित्सा विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सुबोध अधिकारीले सञ्चारकर्मीहरुलाई जानकारी दिएका थिए । तत्कालिन उप–प्रधानमन्त्री तथा स्वास्थ्य एवम् जनसङ्ख्या मन्त्री यादवले समेत स्थलगत रुपमै सम्भावित निर्माणस्थलको अवलोकन गरेका थिए ।
स्वास्थ्य मन्त्रालयले काठमाण्डौ स्थित वीर अस्पतालका वरिष्ठ जेनरल फिजिसियन एवम् डाइबिटोलोजिष्ट प्रा. डा. सञ्जय कुमार ठाकुरलाई २५ महिनाको कार्य अवधी दिई जेठको पहिलो साता कार्यकारी निर्देशकको जिम्मेवारी तोकेर राजविराज पठाएको थियो । गत असार १८ गते उनले गजेन्द्रनारायण सिंह अस्पताल परिसरमा प्रतिष्ठानको पूर्वाधार तयारी तथा विकास समितिको कार्यालय समेत उद्घाटन गरेका थिए ।
प्रतिष्ठान अन्तर्गत नै नर्सिङ्ग कलेज सञ्चालनकालागि सप्तरी क्षेत्र नम्वर २ का प्रतिनिधी सभा सदस्य समेत रहेका यादवको विशेष पहलमा सांसद एवम् सरोकारवालाहरु समेतको सहमतिमा संसदीय विकास कोषतर्फको सम्पूर्ण रकम चार करोड रुपैयाँ दिने निर्णय गरिएको थियो । सोही अनुरुप सांसद यादवले नर्सिङ्ग कलेज भवनको गत मंसिर १२ गते शिलान्यास गरेका थिए । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासका अनुसार उक्त भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अर्थ मन्त्रालयले प्रतिष्ठानको कार्यालय तथा भौतिक पूर्वाधार निर्माणको रकम ४० करोड रुपैयाँ विनियोजन गरि रकम समेत प्रतिष्ठानलाई पठाएको थियो ।
राजविराज नगरपालिका वडा नम्वर–१० बिरौल स्थितको ६१ बिघा जग्गा प्रतिष्ठानको नाममा दिने भनी निर्णय गरी कार्यान्वयनकालागि जग्गाको फाइल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाईएको थियो । विभिन्न बहानामा हालसम्म जग्गाको फाइल अझैं अगाडि बढ्न सकेको छैन ।
वुद्धिजिवीहरुलाई अलमलमा पारे मेयरले
प्रतिष्ठानको कामकाज एवम् प्रक्रिया अगाडि नबढेपछि अन्य क्रियाकलापहरु समेत अवरुद्ध रहेकोप्रति जिल्लाका वुद्धिजिवी एवम् नागरिक अगुवाहरुले चासो देखाएका थिए । जिल्ला स्थित वुद्धिजिवीहरुले गत कार्तिक २० गते जिल्ला समन्वय समितिमा भेला भई बृहत छलफल गरेका थिए । स्थानीय सञ्चार उद्यमी एवम् समाजसेवी शिवनारायण साह ‘सुरज’को अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको विशेष उपस्थितिमा आयोजित छलफलमा सहभागी वुद्धिजिवीहरुले सप्तरीवासीको आग्रहलाई गम्भीरतापूर्वक लिई प्रतिष्ठानको काम अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय समेतलाई दवाब दिन ज्ञापन–पत्र बुझाउनुपर्नेमा जोड दिएका थिए ।
सोही बैठकमा आमन्त्रित राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा जग्गाको विषयमा प्रक्रियागत समस्या रहेको स्वीकार गर्दै त्यसलाई समाधान गर्न आफु प्रयासरत रहेको बताएका थिए । उक्त समयस्या समाधान भई प्रतिष्ठानको प्रक्रियामा अविलम्ब अगाडि बढ्ने बताउँदै उनले भनेका थिए ‘प्रतिष्ठानकोलागि नगरपालिकाले ६१ बिघा जग्गा ३० वर्षकालागि लिजमा दिएको छ, निर्माण एवम् सञ्चालन कार्य समेत चाँडै अगाडि बढ्छ, त्यसैले तपाईहरु अहिले केही नगरिदिनुहोस् ।’
को–को थिए छलफलमा ?
प्रतिष्ठानको विषयमा आयोजित छलफलमा निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त डा. अयोधी प्रसाद यादव, इतिहासविद् प्रा. डा. पिताम्बरलाल यादव, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, कान्तिपुर राष्ट्रिय दैनिकका वरिष्ठ उप–सम्पादक अतुल कुमार मिश्र, उच्च मा.वि. शिक्षा परिषद्का पूर्व उपाध्यक्ष प्रा.डा. हेम कुमार मिश्रा, प्राध्यापक गजेन्द्र कुृमार सिंह, पूर्व प्राचार्य विजयानन्द झा, नापी विभागका पूर्व महानिर्देशक राम नरेश सिंह, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष व्यासशंकर उपाध्याय, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधान, निर्माण व्यवसायी संघका अध्यक्ष एनेश्वर दास, नागरिक समाजका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली, शिक्षक मञ्जु श्रेष्ठ, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पत्रकार महेश्वर भारती, विद्यानन्द राम लगायतको उपस्थिति थियो । प्रतिष्ठानको काम अगाडि बढेपछि दोस्रो समेत छलफल भएको थियो । बैठकमा दवाब दिनकालागि सप्तरीबाट बुद्धिजिवीहरुको टोली प्रधानमन्त्री लगायतका सरोकारवाला निकायमा ज्ञापन–पत्र बुझाउन जाने सहमती भएको थियो । उक्त कार्यको संयोजन सप्तरी उद्योग वाणिज्य संघले गर्ने तय भएको थियो । यद्यपी मेयर यादवले आफु प्रयासरत रहेकोले चाँडै प्रक्रिया अगाडि बढ्ने भनी आश्वासन दिँदैआएका थिए ।
तत्पश्चात प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको निमित्त अध्यक्षमा डा. रोहित पोखरेललाई जिम्मेवारी तोकिए पछि उनी मंसिर १ गते प्रतिष्ठानको कार्यालयमा हाजिर भए । प्रतिष्ठान पूर्वाधार विकास समितिको सदस्यहरुमा प्रा.डा. भगवान कोइराला र डा. मिथिलेश सिंह समेतलाई जिम्मेवारी दिईएको थियो । पदेन सदस्यहरुमा अर्थ मन्त्रलायका सह–सचिव थानेश्वर गौत्तम, शिक्षा मन्त्रालयका सह–सचिव हरि लम्साल, स्वास्थ्य मन्त्रालयका सह–सचिव डा.विकास देवकोटा, प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव रहेका छन् । प्रतिष्ठानको निर्माण कार्य सम्पन्न गर्न करिब ९ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको गरिएको छ ।
प्रतिष्ठानको कार्यकारी निर्देशक एवम् सदस्य सचिवमा जिम्मेवारी पाएका डा. सञ्जय ठाकुर राजविराजमा हाजिर भई कार्यालय व्यवस्थापन गरी एवम् उद्घाटन गराउन सफल भए । प्रतिष्ठानको काम अगाडि बढाउन प्रयासरत रहे पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा थन्किएको प्रतिष्ठानको जग्गाको फायल पास नै नभएपछि डिपिआर लगायतका कार्यहरु अवरुद्ध रहन पुगेको छ । जग्गा पास नभएको तथा सरकारको समेत उदासिनता देखिएपछि कार्यकारी निर्देशक डा. ठाकुरले व्यक्तिगत तथा अन्य कारण देखाउँदै तीन महिना अघि राजिनामा समेत दिईसकेको श्रोतले जनाएको छ ।
प्रतिष्ठानलाई प्राप्त बजेट समेत खर्च नहुने लगभग निश्चित नै भईसकेको छ । यता निमित अध्यक्ष डा. पोखरेल गत मंसिर १ गते हाजिर भएपछि फर्केर नआएको बुझिएको छ । यता तत्कालिन उप–प्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री यादवले मन्त्रालबाटै प्रतिष्ठानकालागि गाडी समेत पठाएका थिए । उक्त गाडी समेत विगत चार महिनादेखि बिग्रेर थन्किएको छ । श्रोतका अनुसार उक्त गाडी मरम्मत गराउन धेरै खर्च लाग्ने भन्दै गजेन्द्रनारायण सिंह अस्पताल परिसरमा थन्किएको छ ।
प्रतिष्ठानको विषयमा नगरपालिकाका मेयर यादवले प्रतिष्ठानको काम हालसम्म अगाडि नबढ्नु र सरकारको नीति तथा कार्यक्रममा समेत नपर्नुले सप्तरीवासीलाई ठूलो चोट पुगेको बताए । आफुले नेकपाका नेताहरुकासाथै वर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल समक्ष पटक–पटक प्रत्यक्षै भेटेर कुरा गर्दा सकारात्मक प्रतिक्रिया पाएको बताउँदै उनले भने ‘प्रतिष्ठानकालागि मैले धेरै प्रयास गरेको छु, अझैं प्रयास जारी छ, कोरोना भाइरसका कारण जारी लकडाउन अन्त्य भएपछि वुद्धिजिवीहरुका साथै सर्वपक्षीय सहयोग लिएर संघर्ष अगाडि बढाउनेछु ।’