• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेशीलाई अपमानित गरेको भन्दै संलग्नलाई कार्वाही गर्न माग

मधेशीलाई अपमानित गरेको भन्दै संलग्नलाई कार्वाही गर्न माग

राजविराज, ७ जेठ । कृषि टिभी नामक टेलिभिजनमा ‘कोरोना बिसाउने गफगाफ’ कार्यक्रममा मधेशी जनताको अपमानित गरेको भन्दै संलग्नलाई कार्वाही गर्न प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग माग गरेका छन् ।
गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, मधेशी आयोग, महान्यायाधिवक्ताको कार्यालय, प्रेस काउन्सिल नेपाल, चलचित्र विकास बोर्ड समेतलाई बोधार्थ दिँदै उनले आवश्यक कार्यवाहीको माग गरेका हुन् । कार्यक्रममा प्रशारण भएको शब्द तथा सांकेतिक हाउभाउले मधेशी समुदायलाई अपमानित गरेको उनले मुलुकी फौज्दारी संहिता २०७४ को राज्य विरुद्धको कसूर अन्तर्गत दफा ४९ (४) तथा ऐनको शान्ति विरुद्धको कसूर अन्तर्गत दफा ६५ (१) मा रहेको व्यवस्था बमोजिम कार्वाही गर्न मुख्य न्यायाधिवक्ता झाले माग गरेका छन् ।
संविधान र कानूनको उल्लंघन गरी कतिपय टेलिभिजन कार्यक्रम तथा चलचित्रहरुमा सिमित व्यक्तिहरुको मनोरञ्जनकालागि कुनै खास वर्ग, समुदाय (मधेशी)लाई विभिन्न तरिकाबाट होच्याउने, अपमानित गर्ने, तल देखाउने जस्ता कार्य अभिनयको माध्यमले भईरहेको पाईएको झाद्वारा प्रेषित पत्रमा उल्लेख छ । यस्ता कार्यले राष्ट्रिय एकता तथा सामाजिक सद्भावमा समेत खलल पुर्याउनसक्ने भन्दै मुख्य न्यायाधिवक्ता झाले जनताको संवैधानिक तथा कानूनी हकको संरक्षण गर्न यस्ता विभेदकारी कार्यक्रम निर्माण तथा प्रशारणमा रोक लगाउन समेत अनुरोध गरेको छ ।
यसैगरी पत्रकार वि.पी. साहले उक्त कार्यक्रमका प्रस्तोता समेतलाई कार्वाही गर्न प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन् । तीन दिन अघि उनले दिएको उजुरी बुधबार औपचारिक रुपमा दर्ता भएको छ ।