Top_Header_Right_Add

प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र प्रसाद साहको सम्वोधन

प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र प्रसाद साहको सम्वोधन

आदरणीय दिदी तथा दाजुबैनी
एवम् सञ्चारकर्मी मित्रहरू,
अहिले हामी इतिहासको सर्वा्धिक गम्भीर र भयानक त्रासदीबाट गुज्रिरहेका छौं । मानव सभ्यता र जीवनशैलीलाई परिस्कृत एवम् सुरक्षित बनाउने हाम्रा वैज्ञानिक अनुसन्धान यत्तिबेला कोरोना कहरबाट थलिएको छ । हामी कोरोना भाइरस संक्रमणसँग लड्ने खोप, औषधि आदि तयार गर्न सकेका छैनौं । यस भाइरसको विचित्रताका बारेमा अध्ययन पर्याप्त र पूर्ण रूपमा हुन सकिरहेका छैनन् । नेपालमा पनि आयातीत संक्रमणबाट सुरु भएको कोभिड नाइन्टिन महामारी अब घरेलु संक्रमणको स्वरूप लिन थालेको छ । यस महामारीको सामुदायिक प्रसारण हुनबाट जोगाउने र यसलाई नियन्त्रित गर्दै जनजीवनलाई सामान्य बनाउने ठूलो चुनौतिबाट हामी लडिरहेका छौं ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका अहिले तीनै तहका सरकारहरूले एकीकृत एवं समन्वयात्मक प्रयास गरिरहेका छन् । प्रदेश सरकार कोभिड नाइन्टिन महामारीबाट नागरिकको ज्यान जोगाउन शंकास्पद संक्रमितको पहिचान, परीक्षण र उपचारमा जोड दिइरहेको छ । यसका लागि सबैखाले पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनको कार्यलाई तीव्रता दिइएको छ ।
अहिलेको अवस्था अत्यन्त असाधारण, असामान्य र अनपेक्षित हो । त्यसैले यो यथार्थ हो कि कोरोना भाइरससँग लड्ने हाम्रा प्रयासहरूलाई अझ विस्तारित, सघन र छिटो बनाउनुपर्ने हुन्छ । यस्तो वैश्विक संकटसँग सामना गर्नुपर्ला भनेर विश्वका सम्पन्न र विकसित देशहरूले समेत नसोचेका र उनीहरूसँग भएका साधनस्रोत समेत अपुग भएको वास्तविकताले गर्दा हामीले चित्त बुझाउने स्थिति छैन र हुनु पनि पर्दैन । तर, हाम्रा लागि कोभिड नाइनन्टिनको लडाइँ बढी नै चुनौतिले भरिएका छन् । यद्यपि हामीले अहिले उपलब्ध साधनस्रोतकै आधारमा स्वास्थ्य हेरचार र उपचारको आफ्नो दायरा बढाउँदै गइरहेका छौं ।
प्रदेशका विभिन्न ठाउँमा स्वास्थ्यसम्बन्धी मापदण्डका आधारमा क्वारानटाइन, आवश्यक उपकरणसहितको आइसोलेसन वार्ड लगायत कोभिड नाइन्टिन महामारीलाई परास्त गर्ने पूर्वाधार सञ्चालनमा ल्याइएका छन् । परीक्षणमा तीव्रता ल्याएर संक्रमितको पहिचान र उपचार व्यवस्थापन गर्ने काम त्वरित ढंगले गरिँदैछ । अर्थात् संक्रमणको सम्भावित भयावह प्रसार हुनबाट रोक्न प्रदेश सरकारले सम्पूर्ण ऊर्जाका साथ विभिन्न संयन्त्र परिचालन गरिरहेको छ । तर, यस महामारीलाई जित्न सरकारको प्रयासमात्र काफी हुँदैन ।
सामाजिक दूरी बनाउने र सतर्कताका अन्य कार्यलाई दैनिक जीवनको नियमित अभ्यास बनाइए मात्र आगामी दिनमा हामी अपराजेय योद्धाका रूपमा अगाडि बढ्न सक्छौं ।
कोरोना संक्रमण नियन्त्रण गर्ने क्रममा सरकारले लकडाउन घोषणा गरेको छ । अहिलेको अवस्थामा लकडाउन खुकुलो पार्ने स्थिति पनि देखिँदैन । तत्काल आउँदा दिनमा यस स्थितिमा तात्विक परिवर्तन आउन नसके पनि केही हदसम्म लचकता अपनाउने विषयमा विश्वसमुदाय नै सहमत हुनुपर्ने देखिन्छ ।
हामी हाम्रा परम्परागत संस्कार र व्यवहारका कारण लकडाउनको पूर्ण पालना गरेका छैैनौं । जसका दुष्प्रभावहरू देखिँदैछन् । केही नीतिगत समस्याका कारण पनि कोभिड नाइन्टिनसँग लड्ने हाम्रा करबल फितलो साबित भएका छन् । तर, लकडाउनले कोरोना भाइरस संक्रमणको सामुदायिक प्रसारणलाई धेरै हदसम्म रोकेको छ । समुदायभित्र सुरक्षा सतर्कता अपनाउनुपर्ने मनोविज्ञान सिर्जना भएकोमा दुई मत छैन । तपाईंहरूका सहयोग र साथले मात्र प्रदेश सरकार सकाराँत्मक प्रभाव र परिणाम प्राप्त गर्न सक्नेछ ।
कोरोना संकटले स्वास्थ्यसम्बन्धी समस्या मात्र निम्तिएका छैनन् अपितु यसले सारा संसारलाई नै ठूलो आर्थिक संकटतर्फ धकेलिरहेको छ । यसले गर्दा विश्वमै चर्को आर्थिक मन्दी आउने निश्चित छ । हामीजस्तो विकासोन्मुख देशलले यस्तो आर्थिक संकटलाई लामो समय सम्म झेल्नुपर्ने हुन्छ । अहिलेको अवस्थामा घरगुजारा गर्न गरीब र असहाय मजदुर तथा किसानलाई प्रदेश सरकार लगायतले तत्काल राहत दिएका छन् । राहत कार्यलाई अझ निरन्तरता दिइनेछ । तर, लकडाउनका कारण विभिन्न गतिविधि ठप्प हुँदा आर्थिक र श्रम संकट उत्पन्न हुने निश्चित छ । कोरोना भाइरस संक्रमणविरुद्धको लडाइको एउटा अनिवार्य हिस्साका रूपमा अब हामीले श्रम तथा रोजगार व्यवस्थापनमार्फत आर्थिक क्रियाकलापमा बढोत्तरी गनुपर्ने हुन्छ । यसको विकल्प छैन । यसका लागि सबैभन्दा उत्तम विकल्प कृषिक्षेत्रमा उत्पादकत्व र उत्पादन वृद्धिसँगै बजार सुनिश्चित गर्नु हो । अन्तर्रा्ष्ट्रिय श्रमबजारबाट फर्केका जनशक्तिलाई तत्काल व्यवस्थापन गर्न सकिने क्षेत्र पनि यही नै हो ।
अहिलेको अप्ठ्यारा समयमा समेत प्रदेश सरकार कृषिक्षेत्रलाई प्रतिकूलताबाट जोगाउन अत्यन्त क्रियाशीलताका साथ काम गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनका बेला एकातर्फ कृषिजन्य उत्पादन किसानको खेतखलिहानमा थान्किने अर्कोतर्फ आम उपभोक्ताले चर्को मूल्य व्योहोर्नुपर्ने अवस्थालाई अन्त्य गर्न आरम्भमै सहकारीलगायत विभिन्न माध्यमबाट कृषि उत्पादनको ढुवानी तथा बजार व्यवस्थापन गर्न सहजीकरण गरेको र यसलाई अझै व्यवस्थित तथा प्रभावकारी बनाउन लागिपरेको यहाँहरूलाई निवेदन गर्न चाहन्छु ।
विभिन्न सरकारी, सार्वजनिक र निजि प्रष्ठिानहरू बन्द हुँदा र सवारीसाधनको आवागमन, भेलाजम्मा हुने, हिँड्डुल गर्ने लगायतका क्रियाकलाप निषेधित भएपछि अन्य क्षेत्रसँगै कृषिक्षेत्र समेत प्रभावित भएको छ । यस्ता प्रभाव न्यूनीकरण गर्ने क्रममा गहुँबालीको कटानी र भण्डारणको समस्या समाधान गर्न मन्त्रालयले सामाजिक दूरीसहित बढीभन्दा बढी उपकरण प्रयोग गरी काम गर्न दिएको सल्लाह अनुसार गहुँ, मसुरोलगायतको कटानी र भण्डारमा स्थानीय सरकारहरूले महत्वपपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउन चाहन्छु । प्रदेश सरकारले सोही विधिअनुसार चैते धानको रोपाइँलाई समेत अघि बढाउन सहजीकरण गरेको थियो । यता पशुलाई दाना व्यवस्थापन र पशु स्वास्थ्यको रेखदेखका लागि समेत मन्त्रालयले सहजीकरण गरेको छ ।
लकडाउन अवधिमा बजारसम्म पुग्न नसक्दा र उत्पादन प्रक्रियाका अवरोधले गर्दा नाशवान् तरकारी, कुखुरा, हाँस दुध, मासुमाछा आदिमा क्षति पुगेका छन् । जसको मारमा साना किसानहरू परेका छन् । किसानहरूको पीडा र दुखमा मलम लगाउन र भविष्यमा रोजगार पुनरसर्थापना गर्न उत्प्रेरित हुने गरी सरकारले राहत तथा पुनसर््थापनाको कार्य अघि बढाएको छ । यसका लागि हामीले पहिलो चरणमा ३६ करोड रुपैयाँ विनियोजन गरेका छौं । अहिले आएर मुख्यबाली लगायतको रोपाइँको बेला भएको छ । यस्तोमा किसानहरूलाई उन्नत बिउबिजन, गुणस्तरीय मलखाद्य, उचित संख्यामा कृषि उपकरण र पर्याप्त सिँचाइ आदिको व्यवस्थापन आवश्यक छ । यसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्न्त्रालय निकै गम्भीर छ । हामीले यी जम्मै कामका लागि वार्षिक कार्ययोजना र आकस्मिक कामहरूलाई तत्काल अगाडि बढाएका छौं ।
कृषि उत्पादनको दृष्टिले प्रदेश २ उर्वर भूमि हो । यहाँ बहुआयामिक कृषिकार्यको सम्भावना छ । यस्तो सम्भावनालाई समग्र रूपमा उपयोग गर्न सकिए कृषिजन्य उत्पादनमा देशलाई नै कृषिजन्य सामग्रीमा आत्मनिर्भर बनाउन सकिन्छ । प्रदेश सरकारका कार्यक्रम पनि यसमै केन्द्रित रहँदै आएको छ । तर, अहिलेको असहज अवस्थामा अब ती कार्यक्रमलाई द्रुत गतिले कार्यान्वयन गर्नुपर्नेछ ।
कोरोना चुनौति हो नै तर यसले जीवनप्रणालीलाई व्यवस्थित, अनुशासित र उन्नत बनाउने अवसरसमेत प्रदान समेत गरेको छ । कृषि जीवनतन्त्रकै महत्वपूर्ण र निर्णायक हिस्सा भएकाले अब यो पद्धतिमा समेत रूपान्तरण जरुरी छ । प्रदेश सरकार कृषिसम्बन्धी नीति तथा कार्यक्रमलाई वैज्ञानिक, व्यवहारिक र जनहितकारी बनाउनुपर्ने दिशामा अघि बढेको छ ।
देशसँगै प्रदेशमा खाद्य सुरक्षा संकट आउन नदिन र अन्तर्रा्ष्ट्रिय श्रम बजार तथा घरेलु श्रमिकहरूको रोजगार व्यवस्थापनका लागि प्रदेश सरकार आधुनिक कृषि प्रणालीका आधारमा खेतीकिसानी गर्ने कार्यलाई प्राथमिकता दिएको छ । खाद्य सुरक्षालाई सम्बोधन गर्ने धेरै आवश्यक कामहरू छन् । जसलाई पूरा गर्ने मन्त्रालय अघि बढेको छ । आधुनिक र उत्पादनमूलक खेतीकिसानीका लागि कृषिकार्यमा संलग्न भएकाहरूलाई आवश्यक र पर्याप्त ज्ञान तथा सीप दिनुपर्नेछ भने कृषिसम्बन्धी औपचारिक शिक्षा, अनुभव तथा अभ्यास आदानप्रदान र अनुसन्धान कार्यलाई अघि बढाउनुपर्नेछ ।
हामीले कम लगानीमा प्रशस्त हुने अपेक्षाका साथ माटो परीक्षण, रोगकीरा नियन्त्रणलगायत कार्यमा जोड दिएका छौं । उत्पादनको बजारीकरणका लागि कृषिसडक, सिँचाइ, विद्युतीकरण, कोल्डस्टोर, संकलन केन्द्र, बजार, अक्सन सेन्टर आदिको व्यवस्थापनमा काम गरिरहेका छौं । सामूहिक ÷सहकारी कृषि प्रणालीलाई प्रेरित गर्दै उत्पादनको स्वरूप परिवर्तन गरी सञ्चित गर्ने प्रणाली विकसित गरी उत्पादन नष्ट हुने समस्या समाधान गर्न ध्यान केन्द्रित गरेका छौं । पकेट क्षेत्रका आधारमा उत्पादनलाई प्राथमिकीकरण गरेर प्रवद्र्धन गर्ने र उत्पादित सामग्रीको मूल्यमा एकरूपता कायम गरेर अघि बढ्ने योजनामा काम गरिरहेका छौं ।
अहिलेको साना किसानका लागि राहत तथा पुनसर््थापना कार्यक्रमबाटै सरकारद्वारा दिइने नियमित वा विशेष अनुदानमा सही किसानको पहुँच स्थापित गर्नका लागि कार्य्विधि वा मापदण्डका जटिलताहरूलाई हटाएर सरलीकृत गरेका छौं । कृषि प्रयोजनका लागि विकास, वाणिज्य, लघुवित्त संस्था तथा विभिन्न समूहहरूबाट लिइने ऋणलाई सरलीकृत र कम ब्याजमा प्रवाह गराउन पहलगर्ने, कृषि उत्पादनको खपतका लागि साना तथा घरेलु उद्योगहरूको स्थापना तथा प्रवद्र्धनसँगै जीर्ण उद्योगहरूको पुनर्उत्थानमा जोड दिने भएका छौं ।
कान्जीहाउस निर्माण, पशुपालनतर्फ नश्ल सुधार, भैंसी पालन तथा पाडो हुर्काउने व्यावसायिक फारमका लागि घाँस, पशुखोप आदिको व्यवस्थापन, कृषकका लागि दुधका क्यान र सहकारीका लागि डिप फ्रिज, भयाट, समूहमा बाख्रा तथा कुखुरा पालनजस्ता कामलाई प्रोत्साहित गर्नुपर्नेछ । कृषिकार्यलाई डिजिटल प्लेटफर्मसँग जोडेर सूचना प्रणालीलाई दुरुस्त बनाउनुपर्नेछ । यी र यावत धेरै कामहरू छन्, जसलाई गर्न अब ढिला गर्नु हुँदैन । यी कामलाई छिटो गर्न हामी प्रतिबद्ध छौं ।अन्त्यमा कोरोना कहरबाट नागरिकलाई जोगाउने ऐतिहासिक दायित्वप्रति प्रदेश सरकार निकै गम्भीर र संवेदनशील भएको निवेदन गर्दै अहिलेको महायुद्ध जित्न तपाईंहरूको साथ र सहयोगका लागि आग्रह गर्दछु ।                                                                                                                                             

शैलेन्द्र प्रसाद साह
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री
प्रदेश नम्वर २
मितिः २०७७ जेठ ७ गते ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer