• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीका कोरोना संक्रमितको साढे २१ घण्टा!

‘गाउँमा घुमफिरदेखि सयौं मानिस सहभागी रहेको हटियामा पुगेर सरसमान खरिद गरे संक्रमित’
सप्तरीका कोरोना संक्रमितको साढे २१ घण्टा!

राजविराज, २९ वैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरही हटैलका एक १८ वर्षीय युवकमा सोमवार कोरोना संक्रमित भएको पुष्टि भएसँगै स्थानीयहरुमा त्रास फैलिएको छ । संक्रमित युवक साढे २१ घण्टाभन्दा बढी समयसम्म गाउँमा घुमफिर गरेको खुलेपछि सो स्थानमा त्रास फैलिएको हो ।
वैशाख १० गते कान्तचन्द्र माध्यमिक विद्यालयस्थित क्वारेन्टाइनमा पठाइएको युवकको स्वास्थ्य कार्यालय सप्तरीबाट खटिएको टोलीले २६ गते थ्रोट स्वाब संकलन गरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो । उनलाई होम क्वारेन्टाइनमा बस्न प्रतिवद्धता गराएर आइतवार दिउँसो साढे ५ बजेतिर डिस्चार्ज गरेको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
कोरोना परीक्षणको रिपोर्ट आउनुअघि नै क्वारेन्टाइनबाट उनलाई फर्काएपछि ती युवक गाउँमा घुमफिर गरी विभिन्न व्यक्तिसँग सम्पर्कमा आएको तथा तरहीस्थित करिब १ सय भन्दाबढी व्यक्ति सहभागी रहेको हटियामा पुगेर सरसमान खरिद गरेको स्थानीयले बताए ।
साढे २१ घण्टा उनी घर परिवार र छरछिमेक तथा हटियामा सहभागी रहेको अधिकांश व्यक्तिको सम्पर्कमा आएकोले उनको परिवारका सदस्य र छरछिमेकका व्यक्तिहरुलाई तत्काल क्वारेन्टाइनमा राख्नुपर्ने स्थानीयहरुले जोड दिए । यसैगरी हटियामा संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान हुनुपर्ने आवश्यकता रहेको स्थानीयहरुको भनाई छ ।
उनमा कोरोना संक्रमण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिउँसो पौने २ बजेतिर पुष्टि गरेपछि संक्रमित युवकलाई सम्पर्कमा ल्याउन प्रहरी र स्वास्थ्य कार्यालयले सक्रियता बढाए । करिब ३ बजेतिर उनी सम्पर्कमा आएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको डाक्नेश्वरी नगरपालिका–३ का अध्यक्ष प्रदिपकुमार साहले बताए ।
उनको स्वास्थ्य अवस्थामा समान्य रहेको तथा हाल आइसोलेसनमा राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए ।
संक्रमितसँगै आएका १२ जना पनि क्वारेटाइनमा छैन्
चितवनमा मजदुरी गर्न गएका संक्रमित युवकसँग गत वैशाख ९ गते हिडेरै घर आउनेमा १ जना विष्णुपुर गाउँपालिकास्थित कट्टि निवासी र ११ जना तरहीकै गरी अन्य १२ जना पनि छन । तर, उनीहरुमध्ये ८ जनालाई यसअघि नै डिस्चार्ज गरिसकेका छन भने संक्रमितसहित ४ जनालाई आइतवारै डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ती सवै व्यक्ति गाउँमा घुमफिर गरिरहेको स्थानीयहरुको भनाई छ ।
उनीहरुलाई पनि १० गते नै क्वारेन्टाइनमा पुर्याइएको थियो । जसमा ५ जनाको र्यापिड डाइग्नोटिक टेष्ट (आरडिटी) गरिएको थियो । बाँकी संक्रमित युवकसहित अन्य ८ जनाको २६ गते स्वास्थ्य कार्यालय सप्तरीबाट खटिएको टोलीले स्वाब संकलन गरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो । जसमा ७ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमितको परिवारलाई क्वारेन्टाइन पठाइयो
युवकमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनको परिवारका तीन जना सदस्यलाई क्वारेन्टाइनमा पठाइएको छ । उनकी हजुरआमा, हजुरबुवा र आमालाई क्वारेन्टाइनमा पठाएर थ्रोट स्वाब संकलन गर्ने तयारी थालिएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिए ।
सोमवारै वा मंगलवार विहानसम्म उनीहरुको थ्रोट स्वाब संकलन गरि पठाइसक्ने उनले बताए । संक्रमितको सम्पर्कमा आएका अन्य व्यक्तिको पनि यकिन कार्य भइरहेको प्रमुख यादवले जानकारी दिए ।