• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सेभ द चिल्ड्रेनद्वारा साढे छ लाख रुपैयाँको स्वास्थ्य सामग्री सहयोग

सेभ द चिल्ड्रेनद्वारा साढे छ लाख रुपैयाँको स्वास्थ्य सामग्री सहयोग

राजविराज, २८ वैशाख । ‘सेभ द चिल्ड्रेन’ले आइतवार सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई साढे ६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ ।
६० थान पिपिई सेट, ६० थान एन–९५ मास्क, स्यानिटाइजरसहितका १८ प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । ‘सेभ द चिल्ड्रेन’सप्तरीका वरिष्ठ कार्यक्रम संयोजक अरुण महतोले सो स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरेका छन ।
उनले कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने सो सामग्रीहरु अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासलाई हस्तान्तरण गरेका हुन् । ‘कोरोना महामारीको बेला स्वास्थ्यकर्मीहरुलाई अति आवश्यक पर्ने भएकाले १८ प्रकारका यी सामग्रीहरु हामीले अस्पताललाई उपलब्ध गरायौ’ उनले भने–‘कोरोना परीक्षणमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सुरक्षित भएर कार्य गर्न सहज हुने हाम्रो विश्वास छ ।’


अस्पतालका मेसु डा.दासले कोभिड–१९बाट सुरक्षित भएर सेवा प्रदान गर्न आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु अभाव रहेको बेला सेभ द चिल्ड्रेनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । ‘हामीले सुरुदेखि नै यस्ता खालका सहयोगकोलागि अपिल गर्दै आएका छौं’ उनले भने–‘र अहिले अभाव पनि छ, सेभ द चिल्ड्रेनले गरेको कार्य ज्यादै नै सरहानीय छ ।’
मेसु डा.दासले यस्तो सामग्रीहरुको थप आवश्यक पर्ने भएकाले अन्य निकायलाई समेत सहयोग गर्न अपिल गरे । अस्पतालबाट हालसम्म १ सय ६५ जनाको आरडिटी परीक्षण गरिएको छ भने ७६ जनाको थ्रोट स्वाब गरि पठाइएको अस्पताल प्रशासनले जनाएको छ ।