• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

क्वारेन्टाइनमा रहेका १९ भारतीय नागरिक गायब

क्वारेन्टाइनमा रहेका १९ भारतीय नागरिक गायब

राजविराज, २६ वैशाख । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ कोशी ब्यारेजस्थित क्वारेन्टाइनमा रहेका १९ जना भारतीय नागरिक गायब भएका छन ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको कडा निगरानी रहँदा पनि निम्न माध्यमिक विद्यालयमा सञ्चालित क्वारेन्टाइनबाट उनीहरु गायब भएका हुन् । दुई साताअघि नेपालको विभिन्न भागबाट भारतको पश्चिम बंगालसहित बिहार राज्यस्थित घर फर्किदै गर्दा प्रदेश नम्वर १ सरकारले प्रवेश नदिएपछि उनीहरुलाई सो स्थानमा क्वारेन्टाइनमा राखिएको थियो ।
बुधबार राति एउटा कोठामा रहेका १९ जना गायब भएको सूचना क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिले बिहीबार बिहान मात्र थाहा पाएका थिए । गायब भएका व्यक्तिहरुको जुत्ता, चप्पल र ब्यागसहितका सरसमान सवै कोठामै रहेको छ ।
कोशी ब्यारेज प्रदेश नम्बर १ र २ को सिमाना हो । गायब भएकाहरु ती भारतीय सुनसरी पनि प्रवेश गरेका छैनन् । कोशीमा रहेका सबै डुङ्गा स्थानीय तह र प्रशासनले नियन्त्रणमा राखेकाले उक्त विकल्प प्रयोग जान सक्ने अवस्था पनि नरहेकाले घटना शंकास्पद रहेको स्थानीय बासिन्दाले बताए । उनीहरु नेपालकै कुनै बस्तीमा गएर लुकेको हुन सक्ने पनि स्थानीयको आशंका पनि छ ।
उता, सप्तरीका प्रहरी प्रवक्ता डिएसपी तिलक भारतीले बिहीबार बिहान मात्रै उनीहरु क्वारेन्टाइनमा नरहेको थाहा पाएको बताए । उनले यस विषयमा ईलाका प्रहरी कार्यालय भारदहका सई सागिर राइनसित ५ प्रहरीलाई जिल्ला बोलाएको तथा उनीहरुको खोजतलाश भईरहेको बताए ।