• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीको क्वारेन्टाइनमा १ सय ५३ जना

राजविराज, १८ चैत्र । सप्तरीका स्थानीय तहहरुले सञ्चालन गरेको क्वारेन्टाइनमा मङ्गलवारसम्म दिउँसोसम्म भर्ना हुनेहरुको संख्या १ सय ५३ पुगेको छ ।
कोरोना भाइरसको सम्भाव्तालाई मध्यनजर गर्दै उनीहरुलाई नगरपालिका तथा गाउँपालिकाहरुले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएको हो । जसमा ११ महिला गरी १ सय ५३ पुरुष छन् । क्वारेन्टाइनमा भर्नाहरुमध्येबाट ६ जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार १८ वटै स्थानीय तहहरुले सञ्चालन गरेको क्वारेन्टाइनमा ४ सय ५१ बेड रहेको छ । सोही क्वारेन्टाइनहरुमा उनीहरुलाई निगरानीमा राखिएको कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन ।
विदेशबाट आएका व्यक्तिहरुमा रुघाखोकी र ज्वरो देखिएकाले उनीहरुमाथि निगरानी राख्न क्वारेन्टाइनमा राखिएको भन्दै उनले सवैको अवस्था समान्य रहेको बताए । उनले जिल्लामा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न र बचाउनकालागि उच्च सतर्कता अपनाइएको बताए । ‘भाइरसबाट बच्नकालागि सतर्कता अपनाउनुपर्ने अति जरुरी रहेकोले तपाईहरु अत्यावश्यक कामबाहेक घरभित्रै बस्नुस्’ उनले भने–‘सतर्कता अपनाएर मात्रै भाइरसको जोखिमबाट बच्न सकिन्छ ।’
यता, भाइरस संक्रमणको आशंका देखिने व्यक्तिहरुलाई उपचारकालागि ४ वटा अस्पतालमा ५६ शैय्याको आइसोलेसन तथा १३ वटा आइसीयू तयारी अवस्थामा रहेको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा.चुमनलाल दासले जानकारी दिएका छन् ।