राजविराज, १६ चैत्र । विदेशबाट आएका तथा रुघाखोकी र ज्वरो देखिएका थप १४ जनालाई सोमवार सप्तरीस्थित स्थानीय तहहरुले सञ्चालन गरेको क्वारेन्टाइनमा ल्याइएको छ ।
आइतवारसम्म १ सय १४ पुरुष र ८ जना महिला गरी कुल १ सय २२ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । सोमवार भने क्वारेन्टाइनमा राखिएको संख्या १ सय २७ पुरुष र ९ महिला गरी १ सय ३६ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
क्वारेन्टाइनमा ल्याइएका व्यक्तिहरुमा रुघाखोकी तथा केही व्यक्तिमा उच्च ज्वरो देखिएको कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिनु भएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट बच्न तथा बचाउनकालागि उच्च सतर्कता अपनाएर स्थानीय तहहरुले सञ्चालन गरेको क्वारेन्टाइनबाट केही व्यक्तिहरुलाई डिस्चार्ज गरिएको जनाएको छ ।
सप्तरीमा १८ वटै स्थानीय तहले आफ्ना पालिकामा विदेशबाट आएका व्यक्तिहरूमाथि निगरानी गर्न ४ सय ४४ शैय्याको क्वारेन्टाइन कक्ष सञ्चालनमा ल्याएको छ । भाइरस संक्रमणको आशंका देखिने व्यक्तिहरुलाई उपचारकालागि ४ वटा अस्पतालमा ५६ शैय्याको आइसोलेसन तथा १३ वटा आइसीयू कक्ष तयारी अवस्थामा रहेको जनाएको छ ।