• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

रङ्गशालामा हाटबजार, कायम भएन सामाजिक दूरी

अत्यधिक भीडभाडका कारण बढ्दो मानवीय जोखिम
रङ्गशालामा हाटबजार, कायम भएन सामाजिक दूरी

राजविराज, १६ चैत्र । लकडाउनको अवधीमा सर्वसाधारणको पीडालाई मध्यनजर गर्दै सप्तरीको राजविराज नगरपालिका कार्यालयले राज रङ्गशालामा तरकारी तथा फलफुलको हाटबजार सञ्चालन गरेको छ ।
रङ्गशालामा दैनिक विहान ६ बजेदेखि ९ बजेसम्मकालागि तीन घण्टा हाटबजार सञ्चालनमा ल्याएको हो । यसअघिको तरकारी हाट अत्यधिक भींडभाड हुने गरेकोले सहजताकालागि रङ्गशालामा सञ्चालन गरिएको हाटबजारले गर्दा सर्वसाधारणले राहतको अनुभूती गरेका छन् ।
नगरपालिकाको शुक्रबार बसेको बैठकले शनिबारदेखि प्रत्येक बिहान छ बजेदेखि नौ बजेसम्म खेल मैदानमा सामाजिक दुरी कायम गरी तरकारी हटिया सञ्चालन गर्ने निर्णय गरेको थियो । अत्यधिक भीडभाड हुन नदिन नगरपालिकाको १६ वटै वडामा फराकिलो स्थानमा तरकारी हटिया सञ्चालन गर्ने तयारी गरेको छ ।
कायम भएन सामाजिक दूरी
विश्वभरि नै कोरोना भाइरसको त्रास रहेको अवस्थामा नेपाल सरकारले लकडाउनको घोषणा गरी जनतालाई सुरक्षित राख्ने प्रयासमा जुटेको वास्तविकतालाई सबैले बुझिदिनुपर्ने सामाजिक अभियन्ता प्रमेश्वर झाले बताए । तरकारी किन्न आएका उनले ‘न्यूज टुडे’सँग कुराकानी गर्दै भने ‘हाट सञ्चालनमा आउनु राम्रो हो तर सामाजिक दूरी मेन्टन भएन भने सरकारले गरेका प्रयास तथा हामीले भोगिरहेको पीडाको सार्थकता नै रहँदैन, त्यसैले कोरोना भाइरसको सम्भाव्य संक्रमणबाट जोगिन बेलैमा ध्यान दिनु जरुरी छ ।’
बजार पूर्ण रुपमा ठप्प रहेकोले सर्वसाधारणलाई किनमेल गर्न समस्या भईरहेको अवस्थामा हाटबजार सञ्चालन गर्नु सकारात्मक भए पनि सामाजिक दूरी व्यवस्थापन नभएको भन्दै वुद्धिजिवीहरुले गुनासो गरेका छन् । पहिलेको ठाउँबाट तरकारी हाटलाई खुल्ला र फराकिलो ठाउँमा ल्याउनु सकारात्मक रहे पनि विहान एक्कासी भींड बढ्ने गरेको अवस्थामा सामाजिक दूरी कायम नभएको पत्रकार चन्दन यादवले बताए । नगरपालिका र सुरक्षाकर्मीले बेलैमा सजगता नअपनाए कोरोना भाइरसको संक्रमण हुनसक्ने सम्भावना रहेको बताउँदै उनले भने ‘कम्तिमा एक मिटरको पनि दूरी काय भएको छैन, एकअर्काको जीउमा छोएको अवस्था छ, त्यसैले सरोकारवाला निकायले अविलम्ब ध्यान पुर्याउनु जरुरी छ ।
लकडाउनको अवस्थामा सर्वसाधारणलाई सुविधा दिनकालागि हाटबजार सञ्चालन गरिए पनि अब्वयस्थित देखिएकोले अत्यन्तै जोखिम रहेको प्राध्यापक अशोक कुमार झाले बताए । ‘विहानको समय मात्र हाट खुल्ला रहने भएकोले एक्कासी भींड बढ्ने गरेको छ’ उनले थपे ‘यदी यसलाई पूर्ण रुपमा पालना गराईएन भने सरकारले आह्वान गरेको लकडाउनको धज्जी उडाए जस्तै हुनेछ, त्यसैले विहानै मात्र किन ? तरकारी तथा दैनिक उपभोग्य सामग्रीका पसलहरु दिनभरी खुल्ला रहनुपर्छ ताकी भींडभाड हुने सम्भावना रहँदैन, सर्वसाधारण पनि सुरक्षित रहन्छ ।’
लकडाउन घोषणा भएकै दिनदेखि सप्तरी जिल्लामा पूर्ण रुपमा पालना गराउन नेपाल, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालित गरिएको छ ।
कोरोना संक्रमणको जोखिम कम गर्न विश्व स्वास्थ्य संंगठन लगायतका निकायले सामाजिक दूरी कायम गर्न भनिरहेका छन्। यस्तो किन जरुरी छ त?
केहो सामाजिक दूरी ?
नेपाल समय डट्कममा उल्लेख भए अनुसार सामाजिक दूरी अर्थात् एकअर्कासँग टाढै रहनुपर्छ जसले गर्दा संंक्रमणको जोेखिम कम हुन्छ । कोरोना भाइरसबाट संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा उसका थुक र सिंगानका निकै मसिना कण हावामा फैलिन्छन्। ती कणमा कोेरोना भाइरस (कोेभिड– १९) का विषाणु हुन्छन् ।
संंक्रमित व्यक्तिको नजिक जाँदा यी विषाणुयुक्त कण तपाईंको शरीरमा प्रवेश गर्न सक्छन्। तपाईंले यी कणहरु खसेको सतहमा छुनुभयो र त्यही हात आफ्नो आँखा, नाक र मुखसम्म र्पुयाउनुभयो भने पनि रोगका विषाणु तपाईंको शरीरभित्र पुग्छन् । त्यसैले खोक्दा, हाछ्यूँ गर्दा कागजको रुमाल प्रयोग गर्नु, साबुन पानीले राम्रोसँग हात नधुँदै अनुहारलाई हातले नछुनुु र संक्रमित व्यक्तिको सम्पर्कमा जानबाट बच्नु यो भाइरसलाई फैलनबाट रोक्नका लागि निकै महत्त्वपूर्ण छ ।
त्यसैले कोरोनाबाट बच्न धेरै मानिस एकै ठाउँमा भेला नहुन र एकअर्कासँग कम्तीमा दुई मिटरको दुरी कायम गर्न भनिएको हो। यस्तो बेला हात मिलाउने, अंगालो हाल्ने, एकअर्कालाई छुने काम त झन् गर्नै हुँदैन । त्यसैले सरकारले धेरै मान्छे एकै ठाउँमा भेला नहुन, शैक्षिक संस्था, सिनेमा हल, स्विमिङ पुल, डान्स बार बन्द गर्न तथा धेरै मान्छे एकै ठाउँमा भेला हुनसक्ने सबै स्थान बन्द गर्न निर्देशन दिएको हो ।
संक्रमणकै जोखिम कम गर्नका लागि धेरै संस्थाले नियमित बैठकसमेत भिडियो कन्फ्रेन्सिङबाट गर्न थालेका छन् भने घरमै बसेर काम गर्न सम्भव हुने संंस्थाहरुले कार्यालय बन्द गर्न थालेका छन् । रेस्टुरेन्ट, सपिङ मलमा मानिसको भीडभाड हुने हुँदा त्यस्ता ठाउँमा दुई व्यक्तिबीच कम्तीमा एक मिटरको दुरी कायम गर्न, ह्यान्ड स्यानिटाइजर बारम्बार प्रयोग गर्न र धेरै मानिसले छुने सम्भावना भएका सतह नियमित सफाइ गर्न भनिएको छ ।
अत्यन्त जरुरी नभई यात्रा नगर्न, यात्रा गर्नै परे बस, ट्रेन र प्लेनमा अन्य व्यक्तिसँग दुरी कायम गर्नु जरुरी छ। त्यस्तै असुरक्षित सतहलाई छोएपछि हात राम्रोसँग साबुनपानीले धुन वा स्यानिटाइजर प्रयोग गर्नुपर्छ । पसल वा अन्य व्यावसायिक काम जसमा धेरै मानिससँग सम्पर्कमा जानैपर्ने हुन्छ त्यस्ता व्यक्तिले पनि कम्तीमा एक मिटर दूरी काम गर्नु जरुरी हुन्छ ।