• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराज, जनकपुर र विरगञ्जमा कोरोना जाँच ल्याब स्थापना गर्ने

राजविराज, जनकपुर र विरगञ्जमा कोरोना जाँच ल्याब स्थापना गर्ने

जनकपुरधाम, चैत १३ । प्रदेश नम्वर २ सरकारको मन्त्री परिषदले प्रादेशिक अस्पताल जनकपुर, विरगंज र राजविराजमा कोरोना सम्बन्धि जाँच गर्ने ल्याबको स्थापना गर्ने निर्णय समेत गरेको छ ।
मन्त्री परिषदको विहीबार मधेश भवनमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । कोराना भाइरस (कोभिड १९)को नियन्त्रण तथा यसबाट प्रभावित भएकाहरुलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले २५ करोडको राहत कोषको स्थापना समेत गरेको छ । सरकारको तर्फबाट २५ करोडको राहतकोषको स्थापना गर्ने र सो कोषमा सम्पूर्ण मन्त्रीहरुको एक महिनाको तलब उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिएका छन् ।
राहत कोषमा सहयोग गर्न सामाजिक संघ संस्था, प्रदेशका व्यापारिक घराना एवम् इच्छुक व्यक्तिहरुलाई आह्वान गरेका छन् । मन्त्री परिषदको बैठकले महामारी नियन्त्रणकालागि मुख्यमन्त्रीको संयोजकत्वमा सबै मन्त्री रहने गरि उच्च स्तरीय निर्देशन समिति गठन गरेको छ । महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न निमित्त प्रमुख सचिव नारायण दवाडीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरि विशेष कार्यकारी समिति समेत गठन गरिएको छ ।
कार्यकारी समितिलाई मन्त्री परिषद बैठकले विशेष परिस्थितिमा महामारी नियन्त्रणकोलागि आवश्यक व्यवस्थापन गर्न निर्देशन समेत दिएको छ । कार्यकारी समितिले महामारी नियन्त्रणकोलागि चाहिने आवश्यक सामग्रीहरुको खरिद विशेष परिस्थितिकोलागि व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्न पाउने छन् ।
मन्त्री परिषदको बैठकले लकडाउनका कारण समस्यामा परेका गरिवहरुकालागि आवश्यक राहतको व्यवस्था गर्न स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने निर्णय गरेको छ ।