• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

‘लकडाउन’मा पनि सप्तरीको तीन वटा कार्यालयमा चोरी

वडा कार्यालय, स्वास्थ्य चौकी र अतिरिक्त हुलाकबाट लाखौं रुपैयाँको सामान लगे
‘लकडाउन’मा पनि सप्तरीको तीन वटा कार्यालयमा चोरी

राजविराज, १३ चैत्र । सप्तरीको बोदे बरसाईन नगरपालिकाको वडा कार्यालय, स्वास्थ्य चौकी सारस्वर र अतिरिक्त हुलाक कार्यालयमा बुधवारमध्ये राति लाखौं रुपैयाँ बराबरको सरसमान चोरी भएको छ ।
कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आह्वान गरेको ‘लकडाउन’ कार्यान्वय गराउन सर्वसाधारणहरु घरभित्रै रहँदै आएको मौका छोपेर केही व्यक्तिले वडा नम्वर ३ को कार्यालय तथा कार्यालयसँगै जोडिएको स्वास्थ्य चौकी र अतिरिक्त हुलाक कार्यालयमा ताल्चा फुटाएर चोरी गरेको हो ।
वडा कार्यालयबाट राजस्वतर्फ उठाइएको १८ हजार रुपैयाँ, १–१ थान कम्प्युटर र पंखा तथा एक थान इन्टरनेट चलाउने रोटर चोरी भएको वडा अध्यक्ष अनोजकुमार यादवले जानकारी दिएका छन । ‘लकडाउनको बेला पनि प्रहरीले गस्ती नगर्दा यस्ता घटना भएको हो’ उनले भने–‘सरकारले आह्वान गरेको लकडाउनलाई कार्यान्वय गराउन पनि प्रहरीले गस्ती गर्नेतर्फ ध्यान पुर्याउन आवश्यक छ ।’


वडा सदस्य मो.सकिल अहमदले अन्य समयमा पनि प्रहरीले गस्ती नगर्ने गरेको गुनासो गरे । ‘यस क्षेत्रमा कुनै पनि समयमा प्रहरीले गस्ती गर्ने गरेको देखिदैन्’ उनले भने–‘यस्तै अवस्था रह्यो भने यहाँका सर्वसाधारणहरुले सुरक्षाको अनुभुति कसरी गर्छन् ।’
उनले आफुहरुकासाथै सर्वसाधारणहरुलाई सुरक्षाको प्रत्याभुति गर्न प्रहरीलाई गस्ती गर्ने–गराउनेतर्फ ध्यान पुर्याउन सवैमा आग्रह पनि गरे ।
यसैगरी स्वास्थ्य चौकी सारस्वरका इन्चार्ज बद्रीनारायण ठाकुरले पंखा, वीपी इन्टुमेन्ट, वेट मेसिन (गर्भवति महिलाको तौल नाप्ने यन्त्र) र ओटो कलेव मेसिन चोरी भएको बताए । ‘आफु विहान आएपछि मात्रै कार्यालयमा चोरी भएको विषयमा जानकारी भयो’ उनले भने–‘एक त यतिवेला महामारीको समयमा स्वास्थ्य क्षेत्रमा अभाव नै अभाव छ, त्यसमाथि भएको सामान पनि चोरी भयो ।’
इन्चार्ज ठाकुरका अनुसार स्वास्थ्य चौकी भवनभित्रै रहेको अतिरिक्त हुलाक कार्यालयबाट पनि केही कागज पत्रहरु चोरी भएका छन । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।