• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पुनः लथालिङ्ग राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल

मेसु विहीन, फिर्ता हुँदै राम्रा चिकित्सक, भिडियो एक्स–रे सेवा बन्द, थन्कियो सिटी स्क्यान र आइसियु मेसिन
पुनः लथालिङ्ग राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल

राजविराज, ३ चैत्र । सुविधासम्पन्न अस्पतालको रुपमा स्थापित हुँदै गएको सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पुनः लथालिङ्ग हुँदै गएको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टको डा. चुमनलाल दासको सरुवा भएसँगै अस्पतालको अवस्था पुनः लथालिङ्ग हुन लागेको हो । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उप–प्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै गजेन्द्रनारायण सिंह अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्नकालागि देशमै कुशल व्यवस्थापकको रुपमा चिनिएका डा. दासलाई राजविराज पठाएका थिए । देशका दुर्गम एवम् अति खस्किएको अस्पतालमा रहेर उदाहरणीय काम गरेका दासलाई तत्कालिन मन्त्री यादवले तत्कालै गाडी समेत दिएर पठाएका थिए । सप्तरीको संसदीय क्षेत्र नम्वर २ बाट सांसद समेत रहेका उनले पटक–पटक आफै समेत अस्पताल आएर निगरानी समेत गर्दै आएका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नयाँ मन्त्री भानुभक्त ढकाल आए लगत्तैदेखि डा. दासलाई ‘उपेन्द्र यादवको मान्छे हो’ भन्दै उनको सरुवा गरिएको जनमानसको बुझाइ छ । मन्त्री फेरिएको केही साता लगत्तै स्वास्थ्य मन्त्रालयले डा. दासको सरुवा बिराटनगर स्थित कोशी अञ्चल अस्पतालको मेसुमा तथा राजविराजमा बहालवाला डा. रणजित कुमार झालाई नै मेसुको जिम्मेवारी दिईएको भनी सूचना मन्त्रालयबाटै सार्वजनिक भएको थियो ।
द्रुत गतिमा प्रगतितर्फ उन्मुख हुँदै गएको अस्पतालको अवस्था यतिबेला पुनः खस्किदै गएको छ । सरुवा भएको विषय सार्वजनिक भएयता अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. दास प्रायः काठमाण्डौ केन्द्रित भएका छन् । यस्तै नयाँ मेसुको जिम्मेवारी पाउन लागेका डा. झा समेत मन्त्रालय तथा काम विशेषले काठमाण्डौमै छन् । मन्त्रालयले नयाँ मेसु समेत नपठाएका कारण अस्पतालको अवस्था झन अन्यौलग्रस्त बन्न पुगेको छ ।
यता अस्पतालको निमित्त मेसुको जिम्मेवारी भने डा. दिलिप कुमार साहले पाएका छन् । आफुलाई केही सिमित अधिकार मात्र रहेकोले अस्पतालमा चाहेर पनि केही गर्न सक्ने अवस्था नरहेको स्वीकार्छन् उनी । आफु विभिन्न विषयमा अनभिज्ञ रहेको बताउँदै उनी भन्छन् ‘अस्पतालमा अहिले डा. चुमनलाल दासको आवश्यकता छ, धेरै कुरा वहाँलाई नै थाहा छ, वहाँले अस्पतालकोलागि दिनरात खट्नुभएको छ ।’
गजेन्द्रनारायण सिंह अस्पतालमा मेसु परिवर्तनको विषय सार्वजनिक भएदेखि अस्पतालको सेवा–सुविधा समेत प्रभावित भएको छ । अस्पतालबाट विरामी रेफर गर्ने कार्य न्युनिकरण भएकोमा पुनः सामान्य वाहेक अन्य जटिल प्रकृतिका विरामीलाई रेफर गर्ने गरिएको अस्पतालका स्वास्थ्यकर्मीहरु नै स्वीकार्छन् । उनीहरुका अनुसार अस्पताल नै अभिभावक विहीन भएपछि सेवासुविधा समेत खस्किदै गएको छ । अर्कोतर्फ मेसु परिवर्तनको विषय सार्वजनिक भएसँगै अस्पतालभित्रै निजी एम्बुलेन्सवालाहरुको मोलमोलाई शुरु भएको छ । केही साता अघिसम्म एम्बुलेन्सहरु अस्पतालको हाता बाहिर राखिन्थ्यो भने अहिले त अस्पतालभित्रै एम्बुलेन्स स्टेन नै बन्न पुगेको छ । यतिमात्र होइन, एम्बुलेन्सवालाहरुले यहाँ राम्रो डाक्टर नै छैन, बाहिर नै ठिक हुन्छ भन्दै विरामी ओसार्ने धन्दामा लागेको अर्का स्वास्थ्यकर्मीले ‘न्यूज टुडे’लाई बताए । ‘अस्पतालमा विस्तारै विरामीहरुको चाप समेत कम हुँदै गएको छ’ उनले थपे ‘हामी भन्ने कसलाई अस्पताल मेसु विहिन भएपछि कसको के लाग्छ ?’
यतिबेला अस्पतालको अवस्था तथा व्यवस्थापन पक्षबारे कार्यरत चिकित्सकहरु स्वयम् असन्तुष्टि व्यक्त गर्दैआएका छन् । अस्पतालमा काम गर्ने वातावरण नै नरहेको भन्दै कतिपय चिकित्सक जेनतेन सेवा दिँदैआएका छन् । विश्वभरी कोरोना भाइरस (कोभिड १९)बाट जागिन सुरक्षा एवम् सतर्कता अपनाईरहँदा अस्पतालका चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुले सुरक्षाकालागि मास्कसम्म पाउन सकेको छैन ।
आफुहरुलाई दैनिकजसो विरामीको स्वास्थ्य परीक्षणमा खटिनुपर्ने अवस्था रहेकोले अस्पताल प्रशासनलाई आफुहरुले मास्क माग गर्दै आए पनि हालसम्म नपाएको अस्पतालका डा. सरोज कुमार यादवको गुनासो छ । मास्क लगायतका अति आवश्यक सामग्री उपलब्ध नभए ज्यान जोखिममा राखेर काम गर्न नसकिने उनको भनाइ छ ।
अस्पतालबाट फिर्ता हुँदै चिकित्सक
तत्कालिन स्वास्थ्यमन्त्री उपेन्द्र यादवको प्राथमिकतामा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा तीन महिना अघिसम्म विशेषज्ञसहित चिकित्सक संख्या ३६ पुगेको थियो । मेसु दासकै भनाई अनुसार अस्पतालमा हाल २२–२३ जना चिकित्सक कार्यरत छन् । डा. दास अस्पतालमा मेसुको जिम्मेवारीमा आउनु अघि १४ जना चिकित्सक मात्र कार्यरत थिए ।
मेसु तथा कर्मचारी सरुवा सहितका विषयले प्राथमिक पाउँदै गएपछि डा. दासको काम गराई शैली समेत शिथिल हुँदै गएको कार्यरत स्वास्थ्यकर्मीहरुको बुझाइ छ । बाहिरबाट आएका चिकित्सकहरुको समुचित व्यवस्थापन एवम् अस्पतालमा उचित माहौल नहुँदा फिर्ता हुने क्रम बढेको छ ।
अस्पतालबाट फिर्ता हुने चिकित्सकहरुमा फिजिसियन डा. रविरञ्जन प्रधान, फिजिसियन डा. अबिन सर्राफ, बालरोग विशेषज्ञ डा. स्वेता गुप्ता, एनेस्थेटिक्स डा. जेपी ठाकुर, रेडियोलोजिष्ट डा. विकास साह फिर्ता भईसकेका छन् । रेडियोलोजिष्ट डा. साहले अस्पतालबाट उचित पारिश्रमिक नपाउँदा बाध्य भएर काम छाडेका छन् । उनले काम छाडे लगत्तै अस्पतालमा भिडियो एक्स–रे सेवा पूर्ण रुपमा दुई महिनादेखि बन्द भएको छ । अस्तालमा दैनिकजसो ३० जनाभन्दा बढीले पाँच सय रुपैयाँमा सेवा लिँदैआएका थिए । औषतमा दैनिक १५ हजार रुपैयाँ अस्पताललाई आम्दानी हुँदैआएकोमा सेवा बन्द भएपछि सर्वसाधारण मर्कामा परेका छन् नै अस्पताललाई समेत घाटा भएको छ ।
यस्तै करारमा सेवा पुर्याउँदै डा. सरोज कुमार यादव, डा कल्पना साह,
डा. विकास साह, डा. प्राणेश कुमार यादव र डा. नेहा दासको पुस महिनायता म्याद थप भएको छैन । म्याद नै नथपिएका कारण उनीहरुले माघ र फागुन महिनाको तलब पाएका छैन । यस्तै कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी एवम् कर्मचारीहरुले समेत माघ र फागुन महिनाको तलब पाएका छैनन् ।
यावत समस्याहरुका कारण देशमै राम्रा चिकित्सकको रुपमा गनिएका कतिपय चिकित्सकहरु गजेन्द्रनारायण सिंह अस्पतालबाट अन्यत्र सरुवा तथा काज फिर्ता गराउने प्रयासमा जुटेका छन् । पछिल्लो समय अस्पतालमा देखिएको समस्याहरुबारे मेसु डा. दासले आफु नेपाल सरकारको कर्मचारी भएको भन्दै मन्त्रालयले पठाएको ठाउँमा जानुपर्ने भएकोले सोही अनुसार आफु चल्ने बताए । आफुले भ्याएसम्म अस्पताललाई राम्रो बनाउने प्रयास मात्र गरेको बताउँदै यसमा सबै पक्षको सहयोग रहेको उनले बताए ।
करिब बीस महिना अघि उनी सरुवा भई गजेन्द्रनारायण सिंह अस्पताल आएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै भेरी प्रादेशिक अस्पतालको मेसुमा डा. प्रकाश थापालाइ जिम्मेवारी तोकिएको जनाईएको छ । सप्तरीको संसदिय क्षेत्र नम्वर २ का सांसद समेत रहेका तत्कालिन उप–प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको कार्यकालमा मे.सु. डा. दास राजविराज आएका थिए ।
यस्तो थियो अस्पताल
रेफरल अस्पतालको उपमा पाएको ५० शैय्याको गजेन्द्रनारायण सिंह अस्पतालमा डा. दास २०७५ जेठ २१ गते मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी पाएका थिए । उनी हाजिर हुँदा अस्पतालको अवस्था एकदमै जर्जर थियो । कुल १४ जना चिकित्सक कार्यरत रहेको थियो । सेवा सुविधाहरु भरपर्दो थिएन । स्थानीय इन्स्टिच्युटका विद्यार्थीहरुको भरमा अस्पताल सञ्चालन हुँदैआएको थियो । सेवा सुविधाको नाममा ओपिडी तथा गाइनोकोलोजीतर्फ सर्जरी सेवा सञ्चालनमा रहेको थियो ।
यस्तो छ अहिलेको अवस्था
समस्यै समस्याको चाङ्गका बिच मेसुको जिम्मेवारी सम्हालेयता अस्पतालमा व्यापक परिवर्तन भएको छ । अस्पतालको मास्टर प्लान तयारी गराई उनले अस्पताल सुधारको प्रक्रिया अगाडि बढाएका थिए । गाइनेतर्फ सर्जरी सेवा मात्र रहेको अस्पतालमा हाल हाडजोर्नीको अप्रेसन, पोष्ट अपरेटिभ वाड, नाक, कान र घाँटीको अप्रेसन, जेनरल सर्जरी, मेडिसिन, डायलायसिस, पेडियाट्रिक एनआइसियु सेवा, अत्याधुनिक डिआर मेसिनबाट एक्स–रे सेवा, सुविधा सम्पन्न प्रयोगशाला सञ्चालन गरी थाइराइड, डायबिटिज जाँच लगायतका सेवाहरु सञ्चालन हुँदैआएको छ ।
यसका साथै इमरजेन्सी (आकस्मिक) सेवातर्फ पुरानै संरचनामै इमरेन्सीमा २४ घण्टै मेडिकल अफिसर राखेर सेवा सञ्चालन, एकद्वार संकट व्यवस्थापनका चिकित्सकहरुलाई तालिम दिएर दक्ष बनाईएको छ । फोहोरमैलाका कारण दुर्गन्धित अस्पतालमा डब्लुएचओको मापदण्ड अनुसारको फोहोर व्यवस्थापन केन्द्र स्थापना गरी अटोकलेव मेसिनद्वारा निर्मलीकरण तथा शुद्ध खानेपानीको व्यवस्था, गरिब एवम् विपन्न विरामीहरुलाई सेवा पुर्याउने उद्देश्यकासाथ सामाजिक सेवा ईकाई सञ्चालन, ओपिडी सेवाको व्यवस्थापन, एम्बुलेन्स सेवा, फार्मेसी लगायतका सेवाहरु उनकै नेतृत्वमा सञ्चालनमा रहेको छ ।
अस्पताल परिसरमा विगत १२ वर्षदेखि निर्माण कार्य अलपत्र रहेको प्रसुती गृह निर्माण कार्य आवश्यक प्रक्रिया पुरा गरी अगाडी बढाईएको छ । उक्त कार्य हाल अन्तिम चरणमा पुगेको छ । ४५ करोडको लागतमा ओपिडी भवन निर्माण कार्य सञ्चालन, ईमरजेन्सी भवनको माथिल्लो तल्ला आइसियु सेवाकालागि पूर्वाधार निर्माण कार्य, स्टोर सुधार, आर्थिक कारोबारमा पारदर्शिता, कार्डिया सेन्टरकोलागि भवनको टेन्डर भईसकेको छ । सिटी स्क्यान र आइसियु सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेकोमा मेसु डा. दासको सरुवाबारे सार्वजनिक भएयता उक्त कार्य अवरुद्ध भएको छ । उक्त सेवाकालागि आएका उपकरणहरु अस्पतालमा त्यसै थन्किन पुगेको छ ।
उनकै नेतृत्वमा रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानकालागि पाँच तल्लाको ओसपडी भवन निर्माणको टेण्डर अन्तिम चरणमा, चिकित्सकको आवास कक्षसहितको ४५ करोडको लागतमा इण्डोर ब्लक निर्माण सञ्चालन, नर्सिङ्ग कलेजको भवन निर्माण कार्य, पोष्टमार्टम कक्ष निर्माण लगायतका कार्यहरु भईरहेको छ । यसअतिरिक्त अनेकौं कार्यहरु डा. दासले आफ्नै नेतृत्वमा गर्न सफल भएका छन् ।
डा. दास देशमै उत्कृष्ट मेडिकल सुपरिन्टेन्डेन्टको रुपमा चर्चित छन् । वेथिती रहेको अस्पतालमा सुधारकालागि नै उनलाई पठाईने गरिएको छ । उत्कृष्ट कार्य सम्पादन गरेका उनी पटक–पटक राष्ट्रिय सम्मानबाट सम्मानित भइसकेका छन् ।