
राजविराज, १८ फागुन । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिताको उपाधि कोइलाडीले उचालेको छ ।
आइतवार सम्पन्न फाईनलमा कोईलाडीले मन्सापुरलाई ८१ रनले पराजित गर्दै उपाधि हात पारेको हो । सप्तरी क्रिकेट संघ संघको सहकार्यमा कट्टि माध्यमिक विद्यालयको मैदानमा संचालित खेलमा टस जितेर व्याटिङ्ग गर्दै कोईलाडीले निर्धारित २० ओभरमा सम्पुर्ण बिकेट गुमाउँदै १ सय ३५ रनको योगफल तयार पारे ।
कोईलाडीकालागि जितेन्द्र पासवानले ३०, रोहित सिंहले २४ तथा नरेश मण्डल र रोबिन सिंहले क्रमशः १४ र १२ रनको योगदान दिए । बलिंगतर्फ मंसापुरका अजय मरिकले ४, सुबोध मण्डलले २ तथा धिरज मण्डल र महेश मण्डलले सामान १–१ बिकेट लिए ।
एक सय ३६ रनको लक्ष्यसाथ मैदानमा ओर्लेका मंसापुरले ४८ रनमै समेटियो । मंसापुरले १२ ओभर १ बल मात्र खेल्न सके । रोहित सिंहले घातक बलिङ्ग गर्दै ४ ओभरमा १ मेडनसहित ९ रन दिई महत्वपुर्ण ५ बिकेट लिए । उनलाई रोबिन सिंह २ तथा जुगनु मण्डल र नरेश मण्डलले सामान १ बिकेट लिएर साथ दिए । मंसापुरका लागि राजाराम मण्डलले १३ रन बाहेक अन्य कसैले दोहोरो अंक प्राप्त गर्न सकेन । फाईनल खेलको म्यान अफ द म्याच घातक बलिङ्ग गरेका कोईलाडीका रोहित सिंह भए ।
प्रतियोगितामा कोबरसाइनका दिपेश सरदारलाई म्यान अफ द सेरिजद्धारा सम्मानित गरियो । यसैगरी मन्सापुरका धिरज मण्डल तथा बेष्ट बलर कोईलाडीका मो. गुडडुलाई सम्मानित गरियो । तिलाठी कोईलाडी गाउँपालिकाका उपाध्यक्ष सुचिता यादवको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा सप्तरी क्रिकेट संघका उपाध्यक्ष धर्मेन्द्र चौधरी, संघकै सचिव चन्दन यादव, एम्पाएर संघका अध्यक्ष निरज कुमार सिंह लगायत गाउँपालिकाका वडा अध्यक्षहरुबाट बिजेता उपबिजेता खेलाडिहरुलाई ट्रफि, मेडल तथा प्रमाण पत्र बितरण गरिएको छ । कार्यक्रमको संचालन भने तिलाठी कोईलाडी गाउँपालिकाका अधिकृत राजेश झाले गरे ।