राजविराज, १६ फागुन । सप्तरीको महादेवा गाउँपालिका १ स्थित नर बहादुर थापा जनता उच्च माध्यमिक विद्यालय पकरी गोठ सोनरामा लाखौं रुपैयाँको कम्प्युटर कम्प्युटर प्रयोग बिहिन बन्न पुगेको छ ।
विद्यालयमा अनुदानमा पाएको २८ थान कम्प्युटर, २ थान फोटोकपी मेसिन, १ थान प्रोजेक्टर, र ल्यापटप लगायतका साधन प्रयोग विहिन भएको हो । कम्प्युटर शिक्षकको व्यवस्था हुन नसकेका कारण कम्प्युटर लगायतका उपकरणहरु प्रयोग विहिन अवस्थामा राखिएको छ । विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्र मनिष कुमार यादवका अनुसार हालसम्म कम्प्युटर प्रयोगशालामा विद्यार्थीलाई हेर्न पनि दिईएको छैन ।
विद्यालयमा कम्प्युटर रहे पनि विद्यार्थीहरुकालागि ‘आकाशको फल आँखा तरी मर’ भने उखान झैं भएको छ । कम्प्युटर सम्बन्धी विद्यार्थीहरुको जिज्ञासा रहे पनि कम्प्युटरहरु प्रयोगविहिन बनेको उनले बताए । विद्यार्थीहरुकालागि आएको कम्प्युटहरु प्रयोगैमा नआई त्यसै एउटा कोटामा थन्किन पुगेको स्थानीय अभिभावक सन्तोष कुमार यादवले गुनासो गरे ।
विद्यार्थीहरुकालागि उपलब्ध कम्प्युटर लगायतका सामग्री प्रयोगमा ल्याउनकालागि प्रधानाध्यापक प्रदिप कुमार चौधरी र विद्यालय व्यवस्थापन समितिको पदाधिकारीहरुले समेत ध्यान नदिएको अभिभावकहरुको आरोप छ । कम्प्युटर प्रयोगशाला सञ्चालनकालागि अविलम्व ध्यान पुर्याउन उनीहरुको आग्रह छ ।