• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जनता आवासः ६ सय ६६ मध्ये २ सय ७१ घरको निर्माण प्रक्रिया शुरु

स्थानीय सरकारको असहयोगले अन्य अवास निर्माण प्रक्रिया प्रभावित
जनता आवासः ६ सय ६६ मध्ये २ सय ७१ घरको निर्माण प्रक्रिया शुरु

विद्यानन्द राम
राजविराज, १५ फागुन । अति विपन्न दलित परिवारकालागि आवास निर्माण गर्न सञ्चालित जनता आवास कार्यक्रम अन्तर्गत सप्तरीमा यस वर्ष ६ सय ६६ वटा पक्की आवास निर्माण हुने भएको छ । कार्यक्रम अन्तर्गत पहिलो चरणमा २ सय ७१ वटा पक्की आवास निर्माण गर्न प्रक्रिया थालिएको हो ।
जनता आवास कार्यक्रमका सप्तरी संयोजक समेत रहेका प्रदेशसभा सदस्य विदेश्वरप्रसाद यादव ‘विक्की’ले पहिलो चरणमा नीजि तथा गाउँब्लकको जग्गामा बसोवास गरिरहेका २ सय ७१ परिवार अति विपन्न मरिक (डोम) र मेहतर समूदायकोलागि आवास निर्माण गर्न प्रक्रिया थालिएको बताए ।विदेश्वरप्रसाद यादव‘विक्की’, जनता आवास कार्यक्रम सप्तरी संयोजक एवं प्रदेशसभा सदस्य ‘जनता आवास कार्यक्रम अन्तर्गत आर्थिक २०७६–०७७मा सप्तरीभरि कुल ६ सय ६६ वटा पक्की आवास निर्माण हुन्छ’ उनले भने–‘जसमध्ये पहिलो चरणमा नीजि तथा गाउँब्लकको जग्गामा बसोवास गरिरहेका अति विपन्न मरिक र मेहतर समूदायकालागि पक्की आवास निर्माण प्रक्रिया सुरु भयो ।’
अन्य आवास निर्माण प्रक्रियाकालागि भने स्थानीय सरकारसँग समन्वय गर्ने कार्य भईरहेको उनले न्यूज टुडेलाई जानकारी दिएका छन । ‘ऐलानी र अन्य जग्गामा बसोवास गरिरहेका विपन्न समूदायको आवास निर्माण गर्न स्थानीय सरकारले गर्ने सिफारिशको आधारमा आवास निर्माण गर्नुपर्ने हुन्छ’ उनले भने–‘तर, स्थानीय सरकारले पटक पटक ताकेदा गर्न पनि अझैसम्म अधिकांश स्थानीय सरकारले सिफारिश पठाएको छैन ।’  सिफारिश प्राप्त भएसँगै अन्य आवास निर्माण प्रक्रिया पनि तत्काल अघि बढाउने तयारी रहेको उनले बताए । ‘आवाससँग जोडिएको विषय रहेकोले आफुहरु  गम्भिरतापूर्वक आवास निर्माण कार्यमा लागेका छौं’ उनले भने–‘स्थानीय सरकारले सिफारिश पठाएसँगै अन्य आवास निर्माण पनि तत्कालै थालिने तथा यसै वर्षभित्रै सम्पूर्ण पक्की आवास निर्माण गरेर हस्तान्तरण गरिसक्ने हाम्रो तयारी छ ।’

स्थानीय सरकारको असहयोग
आवास विहिन अति विपन्न दलित समूदायकालागि पक्की आवास निर्माण गर्न सरकारले थालिएको कार्यक्रम हो, ‘जनता आवास’ । २०६६–०६७ सालदेखि सुरु भएको जनता आवास कार्यक्रम अन्तर्गत सप्तरीका हजारौं अति विपन्न दलित समूदायलाई पक्की आवासमा बसोवास गर्ने सपना साकार पारेको हो । तथापी, कतिपय स्थानमा लाभग्राहीमध्येबाटै गठित उपभोक्ता समितिका पदाधिकारीको गैरजिम्मेवारीले केही परिवारले पक्की आवास पाउने आसमा ओत लाग्ने ठेगाना समेत भत्काइँदा घर विहिन भएर महिनौ खुल्ला आकासमुनि बस्नुपर्ने बाध्यता खेप्नु परेको गुनासो पनि छ ।
पछिल्लो पटक समयमा भने जनता आवास कार्यक्रममा स्थानीय सरकारले नै असहयोग गरिरहेको पाइएको छ । सो कार्यक्रम अन्तर्गत यस वर्ष सप्तरीमा ६ सय ६६ वटा आवास निर्माण हुने निश्चित भएपछि शहरी विकास तथा भवन कार्यालय सप्तरी राजविराजले १८ वटै स्थानीय सरकारलाई सिफारिश पठाईदिन आग्रहसहितको पत्राचार गरे ।
गत पुस ८ गते सम्पूर्ण स्थानीय तहमा सिफारिश पठाईदिनकालागि पत्राचार गरिएपनि अधिकांश स्थानीय तहले सिफारिश नपाएको शहरी विकास तथा भवन कार्यालय सप्तरी, राजविराजका प्रमुख कृष्णदेव झाले बताए । ‘स्थानीय सरकारले पहिलो पटक पठाएको पत्रतर्फ ध्यान नदिएपछि पुनः गत माघ ६ गते पत्राचार गरें’ उनले भने–‘त्यसपछि केहीले सिफारिश पठाएपनि अन्यले भने अझैसम्म सिफारिश पठाएको छैन ।’
उनले त्यसबाहेक पनि टेलिफोन गरेर ध्यानाकर्षण गराएउँदा समेत अझैसम्म ८ वटा स्थानीय तहले मात्रै सिफारिश पठाएको जानकारी दिएका छन । ‘स्थानीय सरकारले समयमा सिफारिश नपठाउँदा आवास निर्माण प्रक्रिया अघि बढाउन केही समस्या भएकै हो’ उनले भने–‘विपन्न समूदायको बास स्थानसँग जोडिएको विषय रहेकोले उहाँहरुलाई यी विषयमा गम्भिर हुनुपर्ने थियो, तर त्यसो देखिएन ।’
संयोजक यादवले समेत आफुहरुले गरेको अपेक्षाअनुकुल स्थानीय सरकारसँग साथ र सहयोग पाउन नसकेको बताए । ‘स्थानीय सरकारले यस विषयमा बढी चासो देखाउनुपर्ने हो’ उनले भने–‘तर, खै किन उहाँहरुको ध्यान नपुगेको हो?’ उनले विपन्न दलितसँग जोडिएको जनता आवास कार्यक्रममा सहयोग र साथ दिन स्थानीय सरकारसँग आग्रह समेत गरे ।
कार्यालयले पटक पटक गरेको ताकेदापछि डाक्नेश्वरी, खडक र कञ्चनरुप (वडा नम्वर ३) नगरपालिका तथा अग्निसाईर कृष्णासवरण (वडा नम्वर १, ४ र ५), राजगढ (वडा नम्वर ५), छिन्नमस्ता (वडा नम्वर ६), बलान विहुल र महादेवा (वडा नम्वर १) गाउँपालिकाले मात्रै हालसम्म सिफारिश पठाएको कार्यालयले जनाएको छ ।
कहाँ कहाँ बन्दैछ पक्की आवास ?
संघीय सरकारबाट प्राप्त भएको बजेटले प्रदेश नं. २ को ‘भौतिक पूर्वाधार विकास मन्त्रालय’ मातहत रहेको शहरी विकास तथा भवन कार्यालय सप्तरी, राजविराजले हेर्दै आएको जनता आवास कार्यक्रम । कार्यक्रम अन्तर्गत दुई कोठे पक्की आवास निर्माण हुनेछ । जसकालागि सरकारले प्रति आवास ३ लाख ३२ हजार ५ सय रुपैयाँका दरले बजेट छुट्याएकोे छ । यसकासाथै घरसँगै शौचालय निर्माणकालागि थप १० हजार रुपैयाँ उपलब्ध गराईने कार्यालय प्रमुख झाले जानकारी दिएका छन् ।
प्रमुख झाका अनुसार कञ्चनरुप नगरपािलकामा ३७, सप्तकोशी नगरपािलकामा ९, हनुमाननगर कंकालिनी नगरपािलकामा ७०, राजविराज नगरपालिकामा ६७, शम्भुनाथ नगरपािलकामा ४३, डाक्नेश्वरी नगरपािलकामा ४१, खडक नगरपािलकामा २०, सुरुङ्गा नगरपािलकामा २२ र बोदे बरसाईन नगरपालिकामा ४२ वटा आवास निर्माण हुनेछन् ।
यसैगरी गाउँपालिकातर्फ अग्निसाईर कृष्णासवरणमा २८, तिरहुतमा १७, छिन्नमस्तामा ५७, महादेवामा १८, तिलाठी कोइलाडीमा २७, विष्णुपुरमा २३, रुपनीमा २७, राजगढमा ३१ र बलान विहुलमा १८ वटा आवास निर्माण हुने कार्यालयले जनाएको छ ।